• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फेल, गुलावजंगलाई राख्नु भन्दै प्रधानमन्त्रीले दिए यस्तो निर्देशन


कार्तिक ७, सुर्खेत ।
प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन असोज २५ गते परेको अविश्वासको प्रस्ताव फेल भएको छ ।

कर्णाली काण्डको रुपमा चर्चित उक्त प्रस्तावमाथि शुक्रबार संसदीय दलको कार्यालय वीरेन्द्रनगरमा बसेको बैठकले प्रस्ताव फेल गरेको हो । ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका १० जना संसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराएकी थिईन ।

ध्वनीमतको आधारमा ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको हो । दलको विधानको दफा २४ को उपदफा एक बमोजिम उक्त निर्णय भएको प्रमुख सचेतक सीता नेपालीले बताइन् ।

दुई मन्त्री अनुपस्थित बैठकमा सरकारका दुई मन्त्री र उपसभामुख अनुपस्थित रहेका छन् । सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिह बुढा र उपसभामुख पुष्पा घर्ती मगर अनुपस्थित रहेका हुन् ।

यसैबीच नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभा संसदिय दलको प्रमुख सचेतकको जिम्मेवारीमा पुर्व प्रमुख सचेतक गुलाबजंग शाहलाई नै पुनः स्थापित गर्न मुख्यमन्त्री शाहीलाई निर्देशन दिएका छन् ।

कार्तिक ५ गते मुख्यमन्त्री शाहीलाई पत्र लेख्दै प्रधानमन्त्री ओलीले अनुशासित तवरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका र अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत जनाएका शाहलाई गरिएको कारबाही फिर्ता लिन र सोही जिम्मेवारीमा पुन: स्थापित गर्न निर्देशन दिएका छन् ।

तर प्रधानमन्त्रीको निर्देशनका बाबजुद पनि आज पुर्व प्रमुख सचेतक शाहको कारबाही पछि नियुक्त गरिएकी प्रमुख सचेतक सीता नेपालीको अग्रसरतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाह विरुद्धको अविस्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार