• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

ओलीलाई भेट्न ११ दिनपछि बालुवाटार पुगे प्रचण्ड, राखे यस्ताे प्रस्ताव


कार्तिक १५, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि ११ दिनपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो।

भेटवार्तामा प्रचण्डले ओलीलाई सचिवालय बैठक बोलाउनुपर्ने प्रस्ताव गरेका  छन् । ‘पार्टीभित्रको विवादलाई हामीहरुले मात्रै छलफल गरेर परिणाम निस्किएन। अब सचिवालय बैठक बोलाएर त्यही छलफल गरेर समस्या समाधान गरौँ’,’ अध्यक्ष दाहालको भनाईलाई उदृत गर्दै स्रोतले भन्यो।

सचिवालय बैठक राख्ने बिषयमा प्रधानमन्त्री ओली पनि सकारात्मक रहेको स्रोतले बतायो। अध्यक्ष दाहालको प्रस्तावपछि सचिवालय राख्नका लागि ओली पनि सकारात्मक देखिएका बताइएको छ। तर, दुई अध्यक्ष छलफलका बिषयमा निष्कर्षमा अझै पुग्न सकेका छैनन्।

यसअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कर्णाली प्रदेशमा देखिएको विवादपछि भेटवार्ता रोकिएको थियो । राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना र भारतीय जासुस संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्ता लगायतका विषयमा ओली दाहालबीच बिमति देखिएको थियो।

शनिबार ११ दिनपछि भएको भेटवार्ताको क्रममा यी सबै समसामयिक बिषयमा छलफल भएको स्रोतले जनायो। यसअघि दूरी बढेपछि अध्यक्ष दाहाललाई छलफलका लागि आग्रह गर्न ओलीले आफू निकटका नेताहरूलाई दिनहुँ खुमलटारमा पठाउने गरेको थिए।

शुक्रबार प्रधानमन्त्री ओलीले आफूनिकट नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डसँग भेट्न पठाएका थिए। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार, अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग बुधबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार