• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

कर्णालीमा राजनीति गाेलमाेल, एकाबिहानै मन्त्रीले लेखे यस्ताे स्टाटस


कार्तिक १६, सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गरेका छन् । उनले आइतबार बिहानै फेसबुकमार्फत ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै उत्पन्न विवादले कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको हो । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३ जनालाई सम्‍भवत: आइतबारै मन्त्री बनाउँदैछन् ।

शनिबार साँझ मन्त्रिमण्डल पुनर्गठनको खाका तयार भएको र केन्द्रीय राजनीतिको हस्तक्षेप नभए ओली पक्षका मन्त्रीलाई हटाएर पुनर्गठन हुने मुख्यमन्त्री निकट स्रोतले बतायो ।

त्यसो गर्दा अहिले रहेका प्रधानमन्त्री ओली पक्षका रावल र नन्दसिङ बुढा सरकारबाट बाहिरिने छन् । यही सम्भावनाबीच मन्त्री रावलले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । उनले घाेषित रुपमा राजीनामा भने दिएका छैनन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिएपछि कात्तिक ७ गते उक्त प्रस्ताव अस्वीकृत भइसकेको छ ।

अविश्वास प्रस्ताव असफल बनाउने सन्दर्भमा नेपाल-दाहाल पक्षबीच भएको सहमतिअनुसार मन्त्रिमण्डल पुनर्गठन हुन लागेको नेपाल समूहका एक सांसदले बताए ।

यी हुन् नयाँ बन्ने मन्त्री

स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ ।

बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन । मन्त्रिमण्डल पुनर्गठन भएमा कर्णाली सरकारमा नेपाल समूहका ४ र दाहाल समूहका मुख्यमन्त्री सहित ३ जना हुनेछन् । सरकारमा ओली समूहको उपस्थिति शून्य हुनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार