• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

नेकपामा दुई चिरा : प्रचण्डले बोलाएको बैठकमा ओली पक्षका नेता गएनन्


कार्तिक २१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुम्बाराहीमा बोलाएको भनिएको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता अनुपस्थित भएका छन् ।

प्रचण्डले शुक्रबार दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । जहाँ वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै उपस्थित भएका छन् ।

बैठकमा ओली पक्षीय कुनै पनि नेता उपस्थित छैनन्। सचिवालयमा प्रधामन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, ईश्‍वर पोखरेल र राम बहादुर थापा अनुपस्थित भएका छन् ।

बैठकमा उपस्थित हुन सचिवालयका नौ जनालाई सदस्यलाई नै खबर पठाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । तर यसअघि शुक्रबार दिउँसो नै महासचिव पौडेलले धुम्बाराहीमा बस्ने भनिएको बैठकबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गरेका थिए। उनले पार्टीको सचिवालय बैठक बस्नेबारे दुवै अध्यक्षले आफूला केही नभनेको पनि उल्लेख गरेका थिए ।

ओली पक्षले भने प्रचण्डले राखेको भनिएको बैठकको कुनै बैधानिकता नहुने तर्क गरेको छ। धुम्बाराही बैठकलाई पनि ओली पक्षले खुमलटार र कोटेश्‍वरको अर्को गुट भेलाको संज्ञा दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार