• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

निष्कर्षसहित सकियाे धुम्बाराही बैठक, यस्ताे छ प्रचण्ड र नेपालकाे बिफ्रिङ


कार्तिक २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्‍चालनमा मनलाग्दी गरेको आरोप लगाइरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक डाकेका थिए ।

मनलाग्दी गरेका ओलीलाई तह लगाउने रणनीतसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालको समेत सहयोग लिएर प्रचण्डले डाकेको सचिवालय बैठक फेरि पनि अर्थहीन भएको छ। यसअघि पनि प्रचण्डले बालुवाटारमै बोलाएको सचिवालय बैठकले पनि मान्यता पाउन सकेको थिएन ।

शुक्रबारका लागि डाकिएको भनिएको सचिवालय बैठकमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित चारजना सचिवालय सदस्य उपस्थित भएनन् । ‌ओलीनिकट महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहेका ईश्‍वर पोखरेल र पछिल्लो समय मध्यमार्थी धार समातेका गृहमन्त्री रामबहादुर थापा बादल उक्त बैठकमा गएनन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बस्दै गर्दा यता गृहमन्त्री बादल र अर्थमन्त्री पौडेल गृहमन्त्रालयमा छुट्टै छलफलमा थिए ।  गृहमन्त्री बादलका रानीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले पनि दुईजना बीच मन्त्रालयमा संवाद भएको पुष्टि गरेका छन्। ‘गृहमन्त्रीज्यू र अर्थमन्त्रीज्यूबीच बैठक भएको हो। दुईजनाबीचको बैठकपछि अर्को बैठकमा बस्‍नुपरेकाले गृहमन्त्रीज्यू धुम्बाराही जानु भएन’, उनले भने, ‘धुम्बाराहीको बैठकबारे हामीलाई विस्तृत जानकारी भएन।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले नौ जना सदस्यलाई नै बैठकको खबर गरिएको बताएका थिए। यस्तोमा उपप्रधामन्त्री ईश्‍वर पोखरेलले व्यस्त भएको भन्दै उपस्थित हनु मानेन् । यता बादलले पनि मन्त्रालयकै काममा व्यस्त रहेकाले धुम्बाराही आउन नसक्ने खबर पठाइदिए ।

नेकपाका नौ सचिवालय सदस्यमध्ये बहुमत पाँच जना धुम्बाराही पुगेका थिए। त्यहाँ प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र प्रवक्ता सचिवालय बैठक भन्दै जुटेका थिए।

यस्ताे छ धुम्बाराही बैठककाे निष्कर्ष

पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक भनिएको सचिवालयका शीर्ष नेताहरुको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ । बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यकारी अध्यक्ष दाहाल नै औपचारिक बैठक बोलाउन सक्ने भएपनि संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका आधारमा अगाडी बढ्न ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

दाहालसहित सचिवालयका पाँच जना सदस्यले शनिबार सामूहिक रुपमा ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने उनले बताए ।

पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडी बढाउने र अहिलेसम्मको कामहरुको समिक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडी बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिने उनको भनाइ थियो ।

‘अब सहमतिको आधारमा बैठक बस्नका लागि भोलि प्रधानमन्त्री ओलीकहाँ सामूहिक छलफलका लागि जान्छौँ, उनले बैठकपछि भने, बैठक बस्नेका लागि अनुरोध गछौँ।’

पार्टीभित्रको विवाद समाधान गरेर सकारात्मक ढंगबाट अघि जाने र पार्टी निर्णयको कार्यान्वयनको गर्न पहल गर्नका लागि बैठक आवश्यकता हुने उनले बताए। आज बसेको बैठक प्रधानमन्त्री ओलीको सहमतिमा भएको समेत उनले बताए ।

फूटबाट जोगाउन ओलीसँग पटक-पटक आग्रह गरें : प्रचण्ड

प्रचण्डले पार्टीलाई फूटबाट जोगाउन अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पटक-पटक आग्रह गरेको खुलासा गरेका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले पार्टीलाई विभाजनबाट रोक्न ओलीसँग पटक-पटक आग्रह गरेको खुलासा गरेका हुन् ।

‘पार्टी विभाजनलाई रोक्न अर्का अध्यक्ष कमरेड ओलीसँग मैले पटक-पटक आग्रह गरेको छु,’ प्रचण्डले भने, ‘प्रयास अझै जारी राख्छु ।’

त्यस्तै बैठकमा अध्यक्ष प्रचण्डले औपचारिक बैठक राखे त्यहीबाट पार्टी विभाजन हुने ओलीले बताएपछि अनौपचारिक छलफल राखिएको जानकारी गराएका थिए । प्रचण्डले प्रधानमन्त्री ओलीकै सहमतिमा अनौपचारिक बैठक बोलाइएको जानकारी दिएका थिए ।

पार्टी फुटाउने सपना नदेखे हुन्छ : नेपाल

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न चेतावनी दिएका छन् । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले भने, ‘हाम्रो पार्टी कमजोर धरातलमा छैन । हामी आज पनि पार्टी एकताकै लागि जुटेका हौँ । त्यसैले कसैले नेकपा फुटाउने सपना देखेको छ भने त्यो नदेखे हुन्छ ।’

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार