• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

नेकपा कार्यदलमा ओली र नेपाल पक्ष एक ठाउँमा हुँदा प्रचण्ड पक्ष अर्काे ठाउँमा !


कार्तिक २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको नेकपा कार्यदलकाे बैठकमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा र पम्फा भुसाल सहभागी भएका छैन् । उनीहरु अनुपस्थित भएपछि बैठक नै रद्द भएको छ।

गत साउन ३० महासचिव विष्णु पौडेलको संयोजकत्व स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसालको कार्यदल गठन गरेको थियो ।

तर, उनीहरूले एक साता लामो छलफलपछि भदौ ५ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनको आधारमा भदौ २६ गतेको स्थायी कमिटीको बैठकमा सहमति जुटेको थियो ।

अहिले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको विवादको कारणले पार्टी फुटको अवस्थामा पुगेपछि प्रधानमन्त्री ओलीले त्यही कार्यदलसँग छलफल गर्न प्रधानमन्त्री ओलीले सोमबार मध्यान्ह १२ बजेका लागि बैठक डाकेका थिए ।

महासचिव पौडेल र पोखरेल ओली निकट हुन् । रावल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन् । शर्मा र भुसाल अध्यक्ष दाहाल निकट हुन् ।

जनार्दन पुगे खुमलटार

ओलीले बाेलाएकाे कार्यदलकाे बैठकमा उपस्थित नभएका स्थायी कमिटी सदस्य जनार्दन शर्मा खुमलटार पुगेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि उनी खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार मध्यान्ह १२ बजेका लागि बोलाएको कार्यदलसँगको बैठकमा सहभागी नभएर खुमलटार पुगेको उनले बताए। ‘अध्यक्ष दाहालले बोलाउनुभएर गएको थिएँ। पार्टीभित्रको विषयमा थोरै छलफल भयो’ उनले भने।

अध्यक्ष दाहालसँग भएको कुराकानीको विषयमा उनले खुलाउन चाहेनन्। उनलाई कोरोना संक्रमण देखिएपछि केहीसाता यताबाट घरमै आराम गरिरहेका थिए।

तत्काल बैठक बोलाउन आग्रह

यसैबीच नेकपा भित्र देखिएको विवादमा केन्द्रीय अनुशासन आयोगले चासो व्यक्त गरेको छ । आयोगका अध्यक्ष अमृत कुमार बोहोराले तत्काल पार्टी बैठक बोलाउन पार्टी अध्यक्षद्वयलाई आग्रह छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष बोहोराले ‘पार्टीका जिम्मेवार नेतृत्वगण प्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पुरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन्’, बोहोराले भनेका छन्, ‘विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ । त्यसैले कमरेडहरु, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं ।’

उनले पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पनि आग्रह गरेका छन् ।

‘पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गरौं । संयम्, धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण प्रति विशेष अनुरोध गर्दछु’, बोहोराले भनेका छन् ।

उनले लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको भन्दै  समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई कसैले इन्कार गर्न नमिल्ने स्मरण गराएका छन् ।

‘यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने “गालीगलौज” “निन्दा भत्सर्ना” “आरोप–प्रत्यारोप” र “पार्टी विभाजन” जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन् । यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो’बोहराले विज्ञप्तिमा भनेका छन् ।

आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा मार्क्सवादी परम्परा रहेको भन्दै बोहोरोले विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु रहकाले त्यतातर्फे नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार