• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सिरहा नगरपालिकाकाे खर्च विवरण : एउटा सिरानीको खाेलको मुल्य २८ सय !


मंसिर ५, काठमाडाैं । जनताका लागि महामारी बनेको कोभिड केही जनप्रतिनिधिका लागि भने कसरी मौका बनिरहेको छ । पछिल्लाेपटक सप्तरीको बोदेबरसाइन नगरपालिकाले प्रस्तुत गरेको खर्च विवरणमा ३० रुपैयाँ पर्ने लाइफबोय साबुनलाई तीन हजार तिरेको समाचारहरु सार्वजनिक भएकाे छ ।

याे सँगै यस नगरपालिकाले २८ वैशाखामा ७५ पिस पिपिई गाउन (सिम्पल) किनेको छ, जसको मूल्य २७ लाख ५२ हजार पाँच सय राखिएको छ । यस हिसाबले एक सेट पिपिईको मूल्य ३६ हजार सात सय रुपैयाँ परेको छ, जुन बजार मूल्यभन्दा १० गुणा महँगो हो ।

यसअघि पनि गत साउन अन्तिम साता सिराहा नगरपालिकाले तीन लाख १९ हजार दुई सय ७५ रुपैयाँमा एक सय ११ थान तकियाको खोल खरिद गरेको विवरण जिल्ला कोभिड नियन्त्रण समितिलाई बुझाएको थियो ।

विवरणअनुसार एउटा तकियाको खोल २८ सय ७६ रुपैयाँ परेको थियो । त्यस्तै, पाँच सय ५८ थान तन्ना खरिद गर्दा ४५ लाख तीन हजार सात सय ७५ रुपैयाँ खर्च भएको विवरण नगरपालिकाको छ । यसरी एउटा तन्नाको आठ हजार ७१ रुपैयाँ पर्छ ।

साबुनदेखि मास्कको परिमाण र मूल्य बढाएर अनियमितता गरेको उजुरी परेपछि अख्तियारले गत २५ साउनमा नगरपालिकाबाट बिलसहित विवरणको प्रतिलिपि लिएर अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म कसैलाई पनि कारबाही भएको छैन ।

सिराहा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच करोड ९० लाख ८६ हजार चार सय ३० रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको खर्च विवरणअनुसार एक सय १५ थान रेनकोट खरिदमा एक लाख ९३ हजार रुपैयाँ खर्च गरेको देखाएको छ ।

यसरी एउटा रेनकोटको मूल्य १६ सय ७८ परेको छ । त्यस्तै, नगरपालिकाले तीन सय ३७ थान रेनबुट खरिदमा तीन लाख १२ हजार एक सय ५० रुपैयाँ खर्च गरेको छ ।

८७ हजार पाँच सय ७५ थान मास्क खरिदमा २० लाख दुई हजार नौ सय ९७ रुपैयाँ खर्च गरेको छ । बजारमा पाँच रुपैयाँ प्रतिथान पाइने मास्क नगरपालिकाले २२ रुपैयाँ ८७ पैसाको दरले खरिद गरेको छ ।

त्यस्तै, तीन सय ४९ वटा बेडमा दुई लाख ५९ हजार चार सय रुपैयाँ खर्च गरिएको छ । पाँच हजार नौ सय ९९ लिटर स्यानिटाइजर १४ लाख एक हजार ९७ हजार रुपैयाँमा खरिद गरेको छ ।

नगरपालिकाले दुई सय २५ थान पिपिईमा नौ लाख १८ हजार चार सय ९१, झुलमा तीन लाख ३० हजार रुपैयाँ र ७२ कार्टुन साबुन खरिदमा एक लाख ७२ हजार एक सय ९५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार