• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

कसरी रह्यो सल्यान जिल्लाकाे नाम (फाेटाे कथा)


खकेन्द्र केसी

सल्यान जिल्ला नेपालको कर्णाली प्रदेशमा रहेको मध्यपहाडी जिल्ला हो । यो महाभारत श्रङ्खलाको मध्य भागमा अवस्थित छ ।

सल्यान प्राकृतिक सम्पदा, तथा धार्मिक स्थलहरु र संस्कृतिले धनी जिल्ला मानिन्छ। नेपालको राजधानी काठमाडौंदेखि करीब ४९६ कि.मी. टाढा रहेको सल्यानको जिल्ला सदरमुकाम खलंगा रहेकाे छ ।

सल्यान जिल्ला बबई नदी (३२६ मिटर) देखि खर्शुबासको लेक (२८२७ मिटर) उचाइसम्म फैलिएको छ । जिल्ला सदरमुकाम खलंगा १५३६ मिटर उचाइमा रहेको छ।

सल्यानको क्षेत्रफल १,९५१ वर्ग किमी (१,९५,१७८ हेक्टर) रहेको छ । सल्यानको पूर्वमा रोल्पा, पश्चिममा सुर्खेत र बर्दिया, उत्तरमा जाजरकोट र रुकुम, दक्षिणमा दाङ र बाँके जिल्ला पर्दछन्।

सल्यान जिल्लामा ऐतिहासिक महत्व बोकेको जिल्ला भएको खैरावाङ भुवनेश्वरी मन्दिर, लक्षमीपुर शक्तिपीठ, छायाँ क्षेत्र मन्दिर, कृष्ण मन्दिर देवस्थलका साथै कुपिण्डे ताल र कछुवा दहजस्ता तालहरु पनि रहेका छन् ।

जिल्लाको उत्तर पश्चिममा बग्ने भेरी नदी र मध्य भागबाट बग्ने शारदा नदीका साथै मर्म खोला‚ वनगाड खोला‚ कोर्वाङ खोला‚ दार्मा खोला‚ मोख्ला खोलाजस्ता खोलाहरु एवं ज्यूला बेंशी र फाँटहरु यहाँका उर्भर भूमि हुन्।

जिल्लाका प्रमूख जातजातिहरुमध्ये क्षेत्री सबैभन्दा धेरै सङ्ख्यामा (५७ प्रतिशत) छन्। अन्य जातजातिहरुमा मगर (१५ प्रतिशत), कामी (११.८ प्रतिशत), सन्यासी (३.५ प्रतिशत), ठकुरी (३.५ प्रतिशत), दमाइ (३ प्रतिशत) रहेका छन् ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार जिल्लामा २५ भन्दा बढी प्रकारका भाषाभाषीहरु रहेका छन्। जिल्लाका ७९ प्रतिशतको मूख्य पेशा कृषि रहेको छ। सल्यान जिल्लाको आर्थिक मेरुदण्ड कृषि नै हो।

जिल्लाकाे खलंगा, शितलपाटी (श्रीनगर), लान्ती, लुहाम, कपुरकोट, कालाखेत, थारमारे, बाङ्गेलाखुरी, खरीबोट, सल्लीबजार, ढोरचौर आदि सल्यान जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन्।

शारदा नदी यस सल्यानको प्रमुख जलसम्पदा हो। कुपुण्डे दह यहाँको धार्मिक स्थलका रुपमा प्रसिद्व छ। भेरी नदी जिल्लाको प्रमूख नदी हो। सल्यान र जाजरकोटको सीमा क्षेत्रमा पर्ने यस नदीलाई माथिल्लो भागमा सानी भेरीका नामले चिनिन्छ। सिंचाइ र जलविद्युतका क्षेत्रमा सल्यान क्रमशः आत्मनिर्भर बन्ने प्रक्रियामा छ।

सल्यानमा १० स्थानीय तह रहेका छन् । ती हुन्, शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका र दार्मा गाउँपालिका ।

कसरी रह्यो सल्यान नाम ?

जिल्लाको नाम कसरी सल्यान रह्यो भन्ने ठोस प्रमाण छैन । तर, जिल्लाको नामबारे केही किम्वदन्ती जोडिएका छन्। तात्कालीन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै सल्यान भएको किम्वदन्ती छ ।

त्यस्तै कतिपयले सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएकाले यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन् ।


सल्यान जिल्लाको इतिहास

बाइसे राज्यभित्र पर्ने सल्यान जिल्लाको इतिहास लामो छ। यो सैत्य परिवारले राज्य गरेको सोशान्त राज्य हो, बाइसे राज्यमध्ये सल्यान एक राज्य थियो । नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहसँग यहाँका राजा कृष्ण शाहको घनिष्ट मित्रता थियो ।

वि.सं. १८२३ माघ २५ मा सल्यानी युवराज रणभीम शाहसँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई प्रणयसुत्रमा बाँधिदिए। छिल्ली बिजौरीदेखि पश्चिम दाङ्ग क्षेत्र आफ्नी छोरीलाई कुशविर्ता दिए। पृथ्वीनारायण शाह सल्यानलाई शक्तिशाली राज्य मान्दथे।

पृथ्वीनारायण शाहको सल्यानप्रतिको नीति कायम राख्दै भीमसेन थापाले पाल्पा विजय गरेपछि वि.सं. १८६९ भाद्र ३ मा सल्यान जिल्ला बिशाल नेपालमा एकीकरण भएको इतिहास छ ।

राणाकालमा सल्यान जिल्लाअन्तर्गत हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम् भाग पर्दथ्यो । यसको क्षेत्र निकै ठूलो थियो, सल्यानमा चौंथो दर्जाको बडाहाकिमको दरवन्दी थियो ।

वि.सं. २०१७ सालमा सल्यान राज्यलाई कर्णाली र भेरी र राप्ती अञ्चलमा विभाजित गरियो। यसको पूर्वी सीमा धौलागिरी र लुम्बनी दक्षिणी सीमा भारतको उत्तरप्रदेश, पश्चिमी सीमा भेरी अञ्चल र उत्तरी सीमा कर्णाली अञ्चल थिए। नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन गरेसँगै सल्यानको क्षेत्रफल खुम्चिन पुग्यो, जुन हाल सल्यान जिल्लाका रुपमा अवस्थित छ ।

सामाजिक जिवन

परम्परागत कृषि पेशामा आधारित यहाँको आर्थिक प्रणाली सुधार उन्मुख छ भने सामाजिक क्षेत्रमा पनि विस्तारै परिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्री, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता छ । सल्यान विभिन्न किसिमका जडिबुटीहरु, अदुवा, सुन्तला, कागतीका साथै तरकारीका लागि समेत उर्वर भूमि मानिन्छ ।

सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट यहाँ आउने गर्दछन् । तर प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वर्द्धनको अभावमा ओझेलमा छ ।

यस क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु ‘पानीओत’ पनि निक्कै ठुलो महत्व रहेको छ । बढदो चोरी सिकारी र सरकारी निकायको बेवास्ताका कारण लोप हुँदै गएको यो बन्यजन्तु संरक्षण गर्ने हो भने यसैलाई हेर्नपनि लाखौँ मानिस आउनेछन् । किनकी यो बन्यजन्तु विश्वमा नै लोप हुँदै आएको छ । यस जिल्ला भित्र रमाइला ठाउँ अर्थात पर्यटकीय तथा धार्मिक स्थलहरु छन् ।

सांस्कृति

सल्यानको मौलिक गीत संगित संग बनगाढी नाच र टप्पा जोडिएको छ । बनगाढी नाचले आफ्नो क्षेत्रको विभिन्न विषयबस्तुलाई समेटेको हुन्छ भने टप्पाले पनि आफ्नो भुगोल र धरातलियलाई समेटेर स्वर थपेको हुन्छ । बनगाढी नाच सल्यानको बनगाढबाट उत्पत्ती भएको मानिन्छ ।

यो अहिले सल्यानको सबै भाग रुकुम, जाजरकोट र सुर्खेतसम्म फैलिएको छ । नयाँ पुस्तामा पश्चिमेली देशहरुको सांस्कृती भित्रन थालेपछि यो विस्तारै लोप हुन थालेको छ । टप्पाले पनि सल्यानलाई चिनाएको छ । यो सल्यानको इतिहास काल खण्डदेखिनै उत्पत्ती भएको मानिन्छ । टप्पाको अझै रौनक मझै मध्यपश्चिआन्चलका जिल्लाहरुमा रहेको छ ।

झ्याउरे नाँच :– झ्याउरे नाँच सल्यान जिल्लाको प्रमूख नाँच हो। यो नाँच जिल्लाको सबै भू–भागमा नाचिन्छ। विवाह, शुभ कार्य लगायतका विभिन्न धार्मिक र सांस्कृतिक पर्व एवं विभिन्न खुसियालीपूर्ण समारोहमा यो नाँच नाचिन्छ।

मारूनी नाच :– मारुनी सल्यान जिल्लको परम्परागत नाँच हो। पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारित गीतहरू गाएर नाचिने यो नाँच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातिको मुख्य संस्कृति रहे पनि सल्यानमा सबै जातजातिको साझा नाँच मानिन्छ।

सोरठी नाँच :–  सोरठी लोक साहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन्, कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन्। सोरठी गीतहरु शालिन तर रसयुक्त हुन्छ। यसमा उठारिलो भावना पाइँदैन। यसलाई संस्कृतिको जननी पनि भन्न सकिन्छ।

लाखे नाँच :– लाखेको मुखुण्डो पहिरिएर गरिने परम्परागत नृत्य हो लाखे नाँच। लाखेलाई कंशको अवतारका रुपमा लिइन्छ। कृष्णले कंशमाथि विजय प्राप्त गरेको इतिहाससँग यो नाँच जोडिएको छ। यो नाँच नेवारी र अन्य समुदायमा पनि उत्तिकै प्रख्यात छ।

लाटा कामी 

वि.सं. १९७५ तिर सल्यान, खलङगामा कामी परिवारमा जन्मेका अनपढ लाटाकामीले आफ्नै बलबुद्धि र साहसले एयरगनदेखि वाष्पशक्तिद्वारा उड्ने टेलिकोप्टरसमेत बनाएर सबैलाई आश्चर्य चकित पारेका थिए ।

२००७ सालको क्रान्तिका बेला थुप्रै बन्दुक बनाई क्रान्तिकारीलाई सहयोग गर्ने वैज्ञानिक लाटा कामीले रबरका टाइप बनाउने टाइप राइटरमा सुधार गर्ने, घण्टाघरको जस्तो ठूलो घडी, नयाँ आयाम थप्न, ढल्काएर हेर्दा मात्रै नेपालको नक्सा देखिने अनौठो खुकुरी, बन्दुक, पेस्तोल नयाँ–नयाँ ढंगका बनाउने कार्य गरेका थिए।

उनले वाफद्वारा आगो फुक्ने मेशिन बनाउनमा सफलता हासिल गरेपछि वाष्प शक्तिद्वारा चल्ने हेलिकोप्टर समेत बनाएका थिए। यति ठूलो वैज्ञानिक प्रतिभा भएका लाटा कामी पनि नेपाली शासकको हेलचक्र्याइले गर्दा अन्ततः अन्धो भए।

औषधोपचारको समेत सुविधाबाट बञ्चित भई २०३७ सालमा दाङमा उनको निधन भयो। उनलाई सल्यानका विभूति उपनामले चिनिन्छ।

कुपिण्डे ताल

प्राकृतिक रुपमा भरिपूर्ण र पर्यटकीय हिसाबमा हेर्न लाएक स्थल हो कुपिण्डे ताल । पछिल्लो समय यसलाई कर्णाली प्रदेशको मिनी रारा भनेर पनि कतिले चिन्छन् ।

यसलाई सुरुमा दह भनिएपनि ठुलो क्षेत्रफलमा फैलिएकाले केहि बर्ष अघि सरोकारवाला व्यक्तीहरुले ताल भनेर नामाकरण गरेका हुन् । जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो ताल निकै मनोरम र आकर्षक छ ।

चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे ताल ।

वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । वर्षेनी कुपिण्डे तालसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा–टाढाबाट भक्तजनहरु समेत पुग्दछन् । कुपिण्डे तालले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ । वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ ।

 

खैराबाङ मन्दिर

खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यानको शारदा नगरपालिका वडा नम्बर ११ खैराबाङमा रहेको मन्दिर स्थललाई सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भ्रमण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।

खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो मन्दिर सल्यान सदरमुकाम खलंगादेखि १६ किमि दक्षिणी भागमा खैराबाङमा पर्दछ । खैराबाङ पुग्न सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरबाट एक घण्टाको उकालो मोटरबाटो र सदरमुकाम खलंगाबाट दुल्धारापोखरा, मार्के, मदना, हिवल्चा हुँदै डेढ घण्टाको मोटरबाटो पुग्न सकिन्छ ।

खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्छ । मख्यगरी शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन गर्नेहरुको भीड हुन्छ ।

छत्रेश्वरी मन्दिर

नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यानको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवले पूजाआराधना गरेकाले कुनै पनि अवसरमा बलि चढ्ने गर्दैन् ।

छत्रेश्वरी गाउँपालिका ६ मा अबस्थित यहाँ पुग्नलाई राप्ती राजमार्गको शंकमुलबाट आधा घण्टा उकालो मोटरबाटो हिड्नु पर्छ । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छाँयाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो ।

त्यहाँ पुग्ने जो कोहीलाई छाँयाक्षेत्र साँच्चिकै आफै स्वर्ग जस्तो लाग्छ । यहाँ महाशिवरात्रीको दिन भव्य मेला लाग्ने गर्छ । जसको लागी सल्यान, दाङ, रोल्पा, रुकुम, सुर्खेत, बाँके, बर्दियाबाट समेत हजारौँ दर्शणार्थीको उपस्थिती हुने गर्दछ ।

फलाबाङ दरबार

यो सल्यानको इतिहासको धरोहर मानिने फलाबाङ दरबार पनि हो । जिल्लाको साविक फलाबाङ गाबिस र हालको त्रिवेणी गाउँपालिकामा यो पर्दछ । वाइसे चौविसे राजाहरुको पालामा निर्माण भएको दरवार अहिले राज्यवाट संरक्षण पाउन नसक्दा अस्तित्व नै मेटिन लागेको छ ।

वि.सं.१८८५ मा निर्मित यो ऐतिहासिक महत्वको फालावाङ दरवार उचित संरक्षणको अभावमा अब तस्विरमा मात्र सिमित हुन पुगेको छ । जनयुद्धताका समयमा दरवार रेखदेखको जिम्मा पाएका स्थानिय व्यक्तिहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेका कारण बेवारिसे बन्न पुगेको यो दरवारले आफ्नो अस्तित्व गुमाउन गयो ।

दरवारको अस्तित्व नभएपनी दरवार छेउ बटुकभैरव प्रांगणमा रहेको प्राचिन लिपिबद्ध अक्षरहरुले यो क्षेत्रको प्राचिनता तथा ऐतिहासिक महत्वलाई परिभाषित गरिरहेको देखिन्छ ।

माल्नेटाकाे अदुवा

अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा सल्यान माल्नेटाको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ ।

सल्यानका विभिन्न ठाउँमा अदुवा पाइने गर्दछ । त्यसमध्येको एक हो माल्नेटा । अदुवाको लागी माल्नेटा नेपालकै प्रमुख ठाउँ मानिन्छ । शारदा नगरपालिका १४ र १५ मा रहेको माल्नेटामा रेशाविहीन अदुवा पाइन्छ । यो पहिलेको डाँडागाउँ गा.वि.स अन्तरगत पर्दथ्यो ।

माल्नेटा राष्ट्रिय रुपमा अदुवा उत्पादनमा चर्चा पाएको गाउँको नाम हो । माल्नेटा ढारखानी क्षेत्रमा पाइने रेशाविहीन अदुवा एशियाकै उत्कृष्ट मानिन्छ । एशियामै रेशाविहीन अदुवा उत्पादनले माल्नेटा चिनिन्छ । यहाँको अदुवा देशका विभिन्न ठाउँ र विश्वका विभिन्न देशहरुका समेत पुग्ने गर्दछ । अदुवाबाट माल्नेटाबासीको जिवनस्थिर माथी उकासियको छ । यो चैत–बैशाखमा रोपिन्छ भने असोज–कार्तिकमा खनिन्छ ।

जथाक लेक

जथाक लेक सल्यान जिल्लाको सबैभन्दा अग्लो लेक हो । यो समुन्द्री सतह देखि २ हजार ८ सय मिटरको दुरीमा रहेको छ । यो छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर २ र ४ को बिच भागमा रहेको छ । यसको पुर्व्तिर रोल्पा जिल्ला पर्दछ ।

यो लेक सँगै यसको वरिवरी होचा लेकको रुपमा पारिभरा र बुँरासे रहेका छन् । यो लेकलाई सल्यान कपुरकोटबाट रुकुम झुल्नेटा जोड्ने उत्तर–दक्षिण राजमार्गले छुने गर्दछ ।

यहाँबाट सल्यानका अधिकांस ठाउँ तथा रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, दाङ, बाँके, बर्दिया, प्युठान, बागलुङ देख्न सकिन्छ । धौलागरी र सिस्ने हिमालको पनि नजिकबाट नियाल्न सकिने ठाउँ हो यो ।

यहाँ विभिन्न खाले बहुमुल्य जडिबुटीहरु पनि पाउने गर्दछ । घना जंगल र पदमार्ग यहाँको एउटा आकर्षणको रुपमा रहेको छ ।

कुमाख लेक

समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाको दोस्रो अग्लो तथा बिच भागको लेक हो । जिमाली, मर्मपरिकाँडा र शिद्धेश्वरी गाविसको संगमको रुपमा रहेको पहाडको चुचुरोमा शिद्ध मन्दिर पनि रहेको छ ।

पहाडका विभिन्न स्थानमा रहेका दर्जनौं गुफाहरु पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । स्थानीयहरुले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरु बाँझकाँडाको मोख्ला र कालागाउँ थदरामा रहेको गुफाबाट निस्किएकाले गुफाहरुको लम्बाइ निकै भएको भनाई छ ।

कुमाखको टुप्पोबाट १५ जिल्लाका भू–भागहरु देख्न सकिन्छ । कुमाख पहाडबाट उत्तरमा रहेका सिस्ने, धौलागिरी, चाखुरे हिमाल, डिग्रे भगवतीको मन्दिर, जन्ती बस्ने लेकलगायतका ढुङ्गे पहाड र अधिकांश गाउँहरु एवम् तराईका विभिन्न भू–भाग अवलोकन गर्न ससकिन्छ । कुमाख पहाडको चुचुरोबाट भारतको रुपैडियासम्म देख्न सकिन्छ ।

मालिका लेक

सल्यानको अर्काे एउटा आकर्षक लेकको रुपमा हेरिएको मालिका लेक पछिल्लो समय पर्यटकीय गन्तव्यको आकर्षण बन्दै गएको छ । दार्मा गाउँपालिका वडा नम्बर ४ र कुमाख गाउँपालिकाको सिमानामा रहेको मालिका लेक पर्यटकको आकर्षक बन्न थालेको हो ।

समुन्द्री सतहबाट २२ सय मिटर उचाईमा रहेको मालिका लेक धार्मिक तथा ऐतिहासीक सम्पदा सँग पनि जोडिएको छ । स्थानीयहरुका अनुसार मालिकामा पहिले एउटा पोखरी ‘दह’ थियो । जुन दहमा बच्चाहरुले पौडी खेल्न जाँदा एउटा बच्चा डुबेर मरेपछि दह पुरिएको किंवदन्ती छ ।

त्यस्तै यहाँ शताब्दी औं अघिका मन्दिरका अवशेषहरु पनि भेटिएको स्थानीयहरु बताउछन् । जुन मन्दिरमा बाईसे चौबीसे राज्यका दर्माली राजा, बडागाउँले राजा र जाजरकोटी राजाहरुले पुजापाठ गरेको किंवदन्ती छ ।

राणा शासनका तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेरले मन्दिरमा दिएको घण्टको अवशेष पनि यहाँ केहि समय पहिले भेटिएको मालिका पर्यटकीय प्रवद्र्धन पूर्वाधार विकास समितीका उपाध्यक्ष वुद्धि थापाले लेकाली अनलाइनलाई बताए । त्यहि पौराणिकताको आधारमा अहिले यहाँ एउटा नयाँ मन्दिर समेत बनाइएको छ ।

कपुरकोटकाे तरकारी

सल्यानको कपुरकोट तरकारीमा प्रख्यात । सल्यान रुकुमको प्रबेशद्धारमा रहेको कपुरकोट आसपासमा रहेका गर्पा, सिनबाङ, धनबाङ, रिम तथा रोल्पाका केही गाबिसका आफुले उत्पादन गरेको तरकारीलाइ कृषि उपज बजार कपुरकोटले कपुरकोट हाटबजार ल्याउन र बिक्रि बितरण गर्न अनुरोध समेत गरेको छ ।

तरकारी खरिदका लागि नारायगढ, बुटवल, नेपालगञ्ज, धनगडी, दाङ लगायतका ब्यापारी कपुरकोट आउने गर्दछन् ।

कपुरकोटबाट मात्रै बर्षेनी ५ करोड भन्दा बढीको तरकारी निकासी हुने गर्दछ भने कपुरकोट आसपासका क्षेत्रमा सञ्चालन हुने एक दर्जन भन्दा बढि तरकारी बजारबाट करौडौ रुपैया बराबरको तरकारी निकासी हुने गर्दछ ।

सल्यानको सुन्तला

नेपालमा पाइने एक प्रकारको फल हो सुन्तला । यो खानाको लाई निकै स्वादिलो र रसिलो हुने गर्दछ । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ ।

यो पतझड वर्गको वनस्पति हो । यसको बोटमा तीखो काँडा हुने गर्दछ । सल्यान जिल्ला सुन्तला राम्रो उत्पदन हुने जिल्ला हो ।

सुन्तलाको लागी कोटमौला राप्ती अन्चलकै १ नम्बरमा पर्छ । यहाँ बर्सेनी सुन्तला फलफुलको उत्पादनबाट प्रतिव्यक्ति लाखौंको आम्दानी हुने गर्दछ । यहाँबाट बर्षेनी ४० करोडभन्दा धेरैको सुन्तला निकासी हुने गर्दछ ।

सल्यानी खुकुरी

नेपालमा आफ्नै पहिचान बनाएको सल्यानी खुकुरीलाई अब आधुनिकीकरण गरी उत्पादन सुरु गरिएको छ । आरन पेसामार्फत निर्माण गरिने सल्यान खुकुरी देश तथा विदेशमा समेत बढ्दो माग रहेको छ ।

सल्यानको खुकुरी उपहारको रुपमा प्रयोग हुन थालेपछि अहिले खुकुरीको माग ह्वात्तै बढेको हो ।

शारदा नदि 

शारदा नदि सल्यानको प्रमुख नदिको रुपमा रहेको छ । बागचौर नगरपालिकाको शिवरथ लौराबाङबाट उत्पत्ती भई यो नदि जिल्ला भित्र सयौँ किलोमिटरको दुरी भएर बग्ने गर्दछ ।

यो नदि सल्यानको कालिमाटीमा दाङबाट आउने बबई नदि सँग मिसिन्छ । बबई नदि सँग मिसिएर सल्यानको भाग बन्दै बर्दियाबाट भारतमा पुग्छ । यसलाई भारतमा सयुर नदिको नामबाट चिनिन्छ ।

यो नदिले सल्यानका थुप्रै खेतहरुलाई सिचाँइ गर्छ । यो नदिका किनारमा बागचौर नगरपालिका, सिद्वकुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिका पर्दछन् ।

बोजोबारी

बागचौर नगरपालिका ९ पातिहाल्न र छत्रेश्वरी गाउँपालिका १ सिमानामा रहेको बोजोबारी एक लोभलाग्दो खालको बनस्पती हो ।

यससँग रोल्पाको गंगादेव गाउँपालिका सटेको छ । यहाँ देखिने बोजोको हरियो पातले देख्ने जो कोहिको पनि मन मनोरम बनाइदिन्छ ।

रोल्पा सल्यान आवतजावत गर्ने जो कोहिले पनि यहाँको बोजोबारीमा बसेर फोटो खिन्च छुटाउदैनन् । यसको पात जति सुन्दर देखिन्छ जरा पनि त्यतीकै महत्वपुर्ण मानिन्छ ।

यसको जरा खानाले विभिन्न खाले रोग निको हुने स्थानीय बताउछन् । तर यसको महत्व र मुल्यको विषयमा भने राज्यबाट केहि पहल भएको देखिदैन् ।

मुलपानी 

कपुरकोट गाउँपालिका ४ मा रहेको मुलपानी वनस्पतीको लागी राप्ती अन्चलकै चर्चित ठाउँ हो । यहाँ विभिन्न खाले बनस्पती तथा बोट बिरुवा पाइने गर्दछ । राप्ती राजमार्ग सँग सटेको मुलपानीमा अवलोकनको लागी नेपालका विभिन्न जिल्लाबाट मानिसहरु आउने गर्दछन् । बिषेशगरी यहाँ प्राविधिक तथा विज्ञान शिक्षा संकायमा अध्यान गर्ने देशका विभिन्न कलेजबाट विद्यार्थीहरु आउने गर्दछन् । यहाँ आएपछि सबैखाले बोटबिरुवाको नाम चिन्न सकिने मुलपानी वनस्पती कार्यालयले जनाएको छ ।

कछुवा दह 

सल्यानको एउटा चिनारी बोकेको कछुवा दह पनि हो । जिल्लाको कालिमाटी गाउँपालिका २ रामपुर ढोरेनीमा अवस्थित यो दह कुपिण्डे ताल पछिको सल्यानको दोस्रो ठुलो दह हो ।

२ सय ५० मिटर लम्बाईमा खुम्चिएको कछुवा दह जैविक विविधताले भरिपुर्ण छ । यस दह नजिकै देउती बज्यूको मन्दिर समेत रहेको छ । यस मन्दिरमा चिताएको पुरा हुने जनविश्वास रहेको छ । यसै मन्दिरका कारण प्रत्येक वर्ष शिवरात्रीको दिन रातदिन गरेर ३ दिन मेला लाग्ने गर्दछ ।

यहाँको दह अवलोकन गर्न सुरुसुरुमा दाङ, सुर्खेत, जाजरकोट, बाँके बर्दिया लगायतका क्षेत्रबाट पर्यटकहरु आउने गर्दथे । यस दहसँगै धार्मिक महत्व समेत रहेको मन्दिर तथा दह वरपर रहेका संरचनाको संरक्षण गर्नु पर्ने देखिन्छ ।

बाफुखोलाकाे आलु

बाफुखोला आलु खेतीका लागी प्रख्यात मानिन्छ । साविकको बाफुखोला गाविस र हालको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने बाफुखोला सल्यानको पुर्वी उत्तरी भागमा पर्छ । जहाँ रोल्पा र रुकुमसँग सिमाना जोडिएको छ ।

बाफुखोला राप्ती नदिकाे सिरानमा पनि पर्दछ । यहाँबाट बग्ने पानी रोल्पाको सुकाओडार हुँदा माडी नदिमा पुगेर राप्ती नदि बन्दछ । बाफुखोलाको पहिचान भनेको यहाँ उत्पादन हुने अर्गानी आलु हो ।

बाफुखोलामा सिचाँईको सुविधा भएको प्रत्यक घरपरिवारले आलु खेती गर्दछन् । यहाँ उत्पादन हुने आलु सल्यान सँगै दाङ, बाँके, बर्दिया, बुटवल, पोखरा, काठमाडौं र भारतका विभिन्न शहरहरुमा पुग्दछ ।

वर्षायाममा यहाँ आलुको सिजन हुने गर्दछ । व्यवसायीक रुपमा आलु खेती हुँदै आएको बाफुखोलाबाट वार्षिक २५ करोड भन्दा धेरैको आलु निकासी हुने गर्दछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार