• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

बर्दिबासमा तनाव : प्रहरीले चलायाे गाेली, घाइतेलाई काठमाडौं पठाइयो


मंसिर ९, बर्दिबास । महोत्तरीको बर्दिबासमा एक ६ वर्षीया बालिकाको ह त्याको विरोधमा महोत्तरीमा तनाव भएको छ । आ क्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको बताएकाे छ।

आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

गाेली चल्याे, घाइतेलाइ काठमाडाैं रिफर 

प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका छन् । प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलाएको बताएकाे छ ।

साधरणत: भीड नियन्त्रण गर्दा हवाई फाइर गर्नुपर्ने हुन्छ। तर प्रहरीले चलाएको गोली केही प्रदर्शनकारीको टाउकोमै लागेको छ। गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। गोली लागेर स्थानीय ३५ वर्षीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन्।

न्यौपानेको तिघ्रामा र आलमको टाउकोमा गोली लागेको छ। न्यौपानेको बर्दिबासस्थित पिनायक हस्पिटलमा हुन नसकेपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

प्रदर्शनमा उत्रिएका श्याम कार्कीलाई प्रहरीले हानेको ४ राउण्ड गोली लागेको छ। कार्कीको छाती, घाँटी, पाखुरा र हातमा गोली लागेको छ। अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदैछ।

न्यौपानेसँगै कार्कीको समेत बर्दिबासमा उपचार सम्भव नभएपछि थप उपचारका लागि  हेलिकप्टरबाट काठमाडौं लैजाने तयारीमा भइरहेको छ।

हत्या आरोपितकाे घर आगजनी

६ वर्षिया बालिकाकाे हत्यापछि आक्रोशित स्थानीयले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । बर्दिबासमा समेत घर भएका उनको ३ तले घरमा आक्रोशित स्थानीयले आगो लगाएका छन् ।

आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयहरुले अवरोध समेत गरेका थिए । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईंले स्थानीहरुको अत्यधिक भीड रहेको र उनीहरुले आगो नियन्त्रण गर्न नदिइरहेकोले आगो नियन्त्रणमा नआएको बताए ।

आरोपितले भने- ह त्या मैले गरेको हुँ

बालिकाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साह छन् ।

२५ वर्षीय साह रक्सी पिएर सोमबार राति गौशाला ५ स्थित घर गएका थिए । उनले आफ्ना परिवारका सदस्यहरुसँग बालिकाको ह त्या आफूले गरेको बताएका थिए । ‘यो कुराको जानकारी पाउनासाथ हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो,’ इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले भने, ‘उनले ह त्या गरेको स्वीकारेका छन् ।’

चकलेट किन्न गएकी बालिकालाई लुकाएर साहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बलात्कार गरेर हत्या गरेका हुन् कि होइनन् भन्ने कुराको अनुसन्धान भने भइरहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार