कविता/ महेन्द्र बाबू
अस्तव्यस्त जिन्दगी
उथलपुथल मनस्थिति
अनि थोत्रा रहरहरु
संगिन समयका
निर्दयी पाङ्ग्राहरुले कुल्चिएर
च्यात्तिएको झोलाभरी
मृत चाहानाका
ग्रहौ भारी बोकेर
म हिडिरहेछु
मेरो जिन्दगीको भिरै भिर
हपहप पोल्ने गर्मीमा
घुमेको पंखा झै
घुमेको छ समयको सुई
थोपा थोपा चुहिएर
रित्तिएको छ जिन्दगीको भाडो
आधुनिक रहर
र असफलताका लाईसेन्स बोकेर
झुठा मित्रहरु
जुठा प्रेमीहरु
लुटाहा आफन्तहरुको
आघात सहदै
पचाउनै नसक्नेगरि
पाएका दुखहरुको
मलामी जान
म हिडिरहेछु
मेरो जिन्दगीको बगरै बगर
सुन्यताले म माथी
केन्द्रबिन्दु बनाएर
जतिसुकै प्रहार गरोस
या सर्कसको जोकरलाई झै
एकतमासले गिज्याईरहोस
म युद्धमोर्चाको सिपाही झै
आफ्नै जिन्दगी
दिनरातै पहरा दिएर
स्वर्ग टेक्ने भर्र्याङ् खोजिरहेछु
त्यसैले त म हिडिरहेछु
मेरा सपनाका सगरमाथाहरुमा
सडक र गल्लीहरुमा
फोहोरका डुङ्गुरहरुमा
जिन्दगी खोजिरहेको
भुसिया कुकुर जस्तै
म पनि सडेको जिन्दगी भित्र
सुवास खोजिरहेछु
जल्लाद चुनौती भित्र
सन्तुष्टि खोजिरहेछु
र त म मेरा उतारचढावहरुलाई
भर्र्याङ् बनाएर
हिडिरहेछु,
मेरो जिन्दगीका अग्ला प्रखालहरुमा
स्वाभिमानलाई
शासकहरुको पाउजु बनाएर
मलाई टेक्नु छैन
कुनै सफलताका हिमशिखरहरु
जहाँ प्रहार गर्नुछ
म त्यही निशाना लगाउनेछु
जस्लाई प्रेम गर्नु छ
उसैसंग स्नेहले पग्लने छु
स्विकार्य होला नहोला
यो समाजलाई
म मेरै रहरहरु संगै रमाउन चहान्छु
उधारो जिन्दगी जिएर
किस्ता किस्तामा श्वास फेर्नु भन्दा
एकदिनको सम्राट सहि
चिराग बालेर, निस्किएको छु
म मेरो
अँध्यारो मनको बस्तिबाट
जसरी निस्कन्छ
सिंह गुफाबाट
शिकारको खोजिमा
त्यसरिनै निस्कनु छ मलाई
मेरो परिधिबाट
मेरो परिस्थितिबाट
र सिकार खेल्नु छ
केही थान निर्दयी पिडाहरुको
र झम्टनु छ केही थान
नवीन चाहानाहरु
हो मलाई मेरो परिवेशबाट
केही पर,
मेरा रहरहरुका क्षितिजसम्म
पुगेरै मर्नु छ
त्यसैले म हिडिरहेछु
बस हिडिरहेछु ।