• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

रोल्पा जिल्लाको नामाकरण सल्यानको ‘रोल्पाथुम’बाट किन गरिएको हो ? (फोटो कथा)


खकेन्द्र केसी

लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो । पूर्वमा बाग्लुङ र प्यूठान जिल्ला, पश्चिममा सल्यान जिल्ला, उत्तरमा रुकुम जिल्ला र दक्षिणमा दाङ जिल्लाले घेरिएकाे राेल्पा जिल्ला शुन्दर पहाड, झरणा, नदिनाला र तालतलैयाले भरिएकाे जिल्ला हाे ।

यस जिल्लाको सदरमुकाम लिबाङमा रहेको छ । राजनीतिक तथा प्रशासनिक विभाजनको हिसाबले जिल्लालाई १ संघिय निर्वाचन क्षेत्र, २ प्रदेश निर्वाचन क्षेत्र र १० वटा स्थानीय तहमा विभाजन गरिएकाे छ ।

२०६८ सालको राष्ट्रियजनगणना अनुसार जिल्लाको जनसंख्या २ लाख २४ हजार ५ सय ६ जना रहेको छ । जसमा १ लाख २१ हजार ४ सय ६ जना महिला र १ लाख ३ हजार १ सय जना पुरुष रहेका छन् । यस जिल्लामा मगर जातिहरुको बाहुल्यता रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार जिल्लामा ४४ प्रतिशत मगर, ३३ प्रतिशत क्षेत्री, १५.२५ प्रतिशत दलित, २ प्रतिशत सन्यासी, १.०७ प्रतिशत व्राह्मण र ४.६८ प्रतिशत अन्य रहेका छन् ।

कसरी रह्याे राेल्पाकाे नाम

वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरूलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान र सल्यान जिल्लामा पर्दथ्यो। पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान र प्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो।

बि.सं.२०१८ साल उता रोल्पा नामको जिल्ला अस्तित्वमा थिएन । तत्कालीन राजा महेन्द्रबाट पञ्चायती शासन व्यवस्थाको विजारोपण संगसंगै जिल्लाहरुको संरचना विभाजन र समायोजन गर्ने क्रममा प्यूठान र सल्यान जिल्ला अन्तर्गत रहेका केही भू–भागलाई मिलाएर एउटा छुट्टै जिल्ला घोषणा गर्ने कार्य भयो । जसमा राेल्पा जिल्ला पर्याे ।

त्यसपछि तत्कालिन् कोटमौला गाविसमा पर्ने रोल्पाथुमकाे नामबाट राेल्पा जिल्ला राखियाे । जुनबेला (हाल राेल्पाकाे माडीचाैरदेखि पश्चिम र सल्यानकाे कालागाउँ तथा बगाडाउँदेखि पुर्वकाे भाग) राेल्पा जिल्लाकाे नामबाट चिनिन्थे ।

तर २०३२ साल तिर सल्यान जिल्लामा मिलान गर्ने क्रममा काेटमाैला, दमाचाैर, दार्माकाेट, कालागाउँ, बडागाउँ राेल्पामा नगएर सल्यानमा गाभिए तर नाम भने राेल्पा गयाे । हाल राेल्पाथुम भनेर सल्यान काेटमाैलाकाे गैरीबिसाैनीलाइ चिनिन्छ । जहाँबाट नेपाल एकीकरण हुनु अगाडी रोल्पा राज्यका राजाले शासन गर्ने ।

भौगोलिक संरचना गर्ने क्रममा २०३२/०३३ सालतिर रोल्पा जिल्ला अन्तर्गतका ढाकाडाम, दमाचौर,कालागाउँ, थारमारे, कोटमौला लगायतका गा.वि.स.हरु सल्यान जिल्लामा र रोल्पा जिल्लाको खारा लगायतका गा.वि.स.हरुलाई रुकुम जिल्लामा मिलान गरिएको थियो ।

पछि राेल्पा जिल्लामा गाविस नपुगेपछि  प्यूठान जिल्ला अन्तरगत रहेका मसीना, जौलिपोखरी, घोडागाउँ, खुंग्री तथा सल्यान जिल्लामा रहेका दुबिडाँडा, सखी, झेनाम, नुवागाउँ, जुँगार, गैरीगाउँ, बुढागाउँ,डुब्रीङ गा.वि.स.हरु रोल्पा जिल्लामा मिलान गरेरे रोल्पा जिल्लामा ५१ वटा गा.वि.स.कायम गरिएकाे थियाे ।

यसरी रोल्पा जिल्ला छुट्टैरुपमा स्थापना भएतापनि केही वर्षसम्म सम्पूर्ण सरकारी कामकाज प्यूठान जिल्लाबाटै हुने गर्दथ्यो । रोल्पा जिल्लामा ५४ वटा गा.वि.स.(तत्कालिन गाउँ पञ्चायत) रहदै आएकोमा पछि लिबाङमा सदरमुकाम बनाएर काम थालनी गरिएकाे हाे ।

धार्मिक तथा पर्यटकीय स्थलहरु

राेल्पा जिल्लामा जलजला हिमाल (बराह क्षेत्र), राँकमाधुरी चुचुरो. सुनछहरी, जेदबाङ दउराली जस्ता पर्यटकीय स्थलहरु छन् । त्यस्तै शिव पाञ्चायन मन्दिर खुङ्ग्री. शिव गुफा जुगार, शिव गुफा जुगार, स्वर्गद्वारी प्रभुको जन्मस्थल रुन्टी(सखी), शिव मन्दिर गुम्चाल लगायतका धार्मिक स्थलहरु रहेका छन् ।

थबाङ गाउँपालिकामा अवस्थित सु्न्दर पहाडको नाम हो जलजला । प्राकृतिक दृष्टिले जलजला निकै मनोरम छ । यहाँको प्राकृतिक सुन्दरता पर्यटकलाई स्वागत् गर्न प्रतीक्षारत छ । त्यसको अतिरिक्त यहाँका आदिवासी जनजाति मगर जातिको मौलिक संस्कृति भेषभुषा खाम भाषा र जीवनपद्दति पनि पर्यटनका आकर्षण हुन् ।

पर्यटकीय गन्तव्य स्थल बन्न जलजलाको प्राकृतिक सुन्दरता र साँस्कृतिक छटाका साथै माओवादी जनयुद्धको केन्द्र हुनुले पनि थप आकर्षण गर्ने छ । किनकि जलजलासँग माओवादी जनयुद्ध र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास पनि गाँसिएको छ । नेपालमै साम्यवादको अभ्यास भइरहेको जनकम्युन जलजला फेदीका प्रमुख अध्ययन अनुसन्धानका थप आकर्षण केन्द्र हुन् ।

जलजला धार्मिक स्थल पनि हो । वैशाख जेठ र साउनमा वर्षको तीनचोटि तीर्थालुहरु जलजला आउँछन् । राप्तीका अतिरिक्त भेरीका जाजरकोट सूर्खेत र कर्णालीका विभिन्न जिल्लाबाट पूजा र दर्शनका लागि आउने गर्छन् ।

जलजलाको प्राकृतिक साँस्कृतिक धार्मिक र राजनीतिक बहुआयामिकु मिश्रणले पनि पर्यटकका आकर्षक गन्तव्य बन्न सक्छ । प्रकृति र सँस्कृतिमा मात्रै सीमित नेपालको पर्यटन व्यवसायमा जलजला राजनीतिक पर्यटनका लागि नौलो पर्यटन गन्तव्य हुन सक्ने प्रवल संभावना छ ।

जलजला रोल्पाको प्रतिविम्व हो । जनयुद्ध र रुपान्तरणको हिसाबले नेपाली राजनीतिक परिवर्तनको रोल्पा मुहान बनेको छ त्यसरी नै रोल्पाको पहिचान हो जलजला ।

सांस्कृति

खाम भाषीहरुको जलजला क्षेत्रमा बसोबास छ । रोल्पा नेपालकै मगर जातिको बाहुल्यताको हिसाबले पाल्पापछिको दोस्रो हो । जलजला क्षेत्रसँग जोडिएका थबाङ जेलबाङ उवा मिरुल धबाङ सेरम गाम कुरेली ह्वामा आदि खाम भाषी बस्ती हुन् ।

भेषभुषा रहनसहन र यहाँको जीवनशैली मौलिक छ । माघेसङ्क्रान्ति र भूम्या यस क्षेत्रका प्रमुख पर्व हुन् । भूम्या मारुनी पैसेरु सारङ्गी रोल्पाका प्रमुख नृत्य हुन् । मगर समुदायको अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रमुख गन्तव्यस्थल बन्ने सम्भावना छ ।

नदीनाला

माडीखोला, लुग्रींखोला, फगामखोला, त्रिवेणीखोला, बोज्याङखोला, शिवाङखोला, धासीखोला, मिरुलखोला, फिवैखोला, पाखापानीखोला, बाँफुखोला, ग्वारखोला,गोठीखोला, हलहलेखोला, जिनावाङखोला, अरहङखोला, पारीवाङखोला, गजुलखोला, जुगाँरखोला, घोडाखोला, कलमखोला, राँक चुरागाढखोला, चक्रीखोला,स्यानीगाढखोला, डाढाखोला, कुटेखोला यस जिल्लाका मुख्य नदिहरु हुन् ।

झरणा

सुनछहरी, स्युरी, लहरीखोला, तालावाङ, जायछहरा, राँक झरणा यस जिल्लाका चर्चामा देखिएका झरणा हुन् ।

यातायात

माडी नदीको पुल २०५२ सालमा नै निर्माण भएकोले सोही वर्षदेखि जिल्लामा लिवाङ-काठमाडौं २ वटा रात्री बस सेवा, १ वटा दिवा माइक्रो सेवा, लिवाङ-नेपालगञ्च १ वटा रात्री बस सेवा, लिवाङ-वुटवल १ वटा दिवा बस, लिवाङ-प्युठान १ वटा दिवा बस सेवा सेवा तथा छिमेकी जिल्ला दाङको घोराही , भालुवाङवाट दैनिक दिवा वस सेवा र तुलसिपुरवाट १ वटा रात्रि वस सेवा नियमित र वर्षा मौसममा पनि लिवाङसम्म पक्की बाटो भएकाले सहजै पुग्न सकिन्छ।

त्यस्तै घर्तीगाउँ-दाङ १ वटा दिवा वस तथा घर्तीगाउँ-काठमान्डौ १ वटा रात्रि वस र दुइखोलि-दाङ १ वटा वस सञ्चालितमा छन। यसरी नियमित यातायात (वस/ट्रक) सेवाबाट जिल्लाका व्यापारीहरूलाई आफ्नो सामान ढुवानी र आवत-जावत गर्न सुविधा पुग्नुको साथै सर्वसाधारणहरूलाई पनि जिल्ला बाहिर आवत-जावत गर्न सुविधा पुगेको छ।

याे सामाग्री जिल्ला समन्वय समिती राेल्पा, जिल्ला प्रशासन कार्यालय राेल्पाकाे वेबसाइट र स्थानीय बुढापाकाकाे भनाइ अनुसार तयार पारिएकाे हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार