• २०७७ माघ १५ गते बिहिवार
  • Preeti To Unicode

कोरोनाविरूद्ध पहिलो खोप लगाएपछि ९१ वर्षीय मार्गरेटले यस्ताे प्रतिक्रिया


Author Logo..
बिबिसी

मंसिर २४, काठमाडाैं । मार्गरेट केनान आउँदो साता ९१ वर्ष पुग्दै छिन्। उनी फाइजर-बायोएनटेक कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरूद्ध खोप लगाउने संसारकै पहिलो व्यक्ति हुन्।

पछिल्लो एक वर्षमा संसारभरि साढे १५ लाखभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसविरुद्ध मंगलबार खोप लगाएपछि मार्गरेटले भनिन्, ‘यो मेरो निम्ति जन्मदिनको सुन्दर उपहार हो।’

बेलायतले यो खोप आमप्रयोगमा ल्याउन गत साता अनुमति दिएको थियो। पहिलो चरणमा ८ लाख डोज खोप लगाइँदैछ। महिनाको अन्तसम्म ४० लाखभन्दा बढीलाई खोप लगाइने अपेक्षा गरिएको छ। सबभन्दा पहिला ८० वर्ष उमेर नाघेका र स्वास्थ्यकर्मीहरूलाई खोप लगाइने छ। यसले कोरोना भाइरसबाट बढी जोखिममा रहेको समूह सुरक्षित रूपले सामान्य जीवनमा फर्कन सक्नेछन्।

मार्गरेटले बेलायतको कोभेन्ट्रीस्थित युनिभर्सिटी अस्पतालमा कोरोना खोप लगाएकी हुन्। खोप लगाएपछि सुरक्षित महशुस गरेको उनले बताएकी छन्। ‘कोरोनाको डरले यो वर्ष अधिकांश समय एक्लै बिताउनुपर्‍यो,’ उनले भनिन्, ‘अब परिवार र साथीहरूसँग समय बिताउने अपेक्षा गरेको छु।’

उनले अरूलाई पनि खोप लगाउन आग्रह गरेकी छन्। ‘मैले ९० वर्षमा त खोप लगाएँ भने तपाईंहरू पनि लगाउन सक्नुहुन्छ,’ उनले भनिन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन मंगलबार लन्डनको अस्पतालमा खोप कार्यक्रम निरीक्षण गर्न आएका थिए। उनले व्यक्ति र सिंगो देशको भलाइका लागि यो खोप कार्यक्रम जरूरी भएको बताएका छन्। स्वास्थ्य मन्त्री म्याट ह्यानककले आजको दिन ‘कोरोना महामारीविरुद्ध प्रत्याक्रमणको सुरूआत’ भएको प्रतिक्रिया दिए।

कोरोनाविरुद्ध खोप लगाउने ‘ऐतिहासिक घडी’ का प्रत्यक्षदर्शी एनएचएस इङ्ल्यान्डका राष्ट्रिय मेडिकल निर्देशक प्राध्यापक स्टेफन पोवीसले भने, ‘हामीले मार्गरेटलाई अँगालो मारेर बधाइ दिन सकेनौं, तर ताली बजाएर शुभकामना दियौं।’

मंगलबारै दोस्रो खोप लगाएका ८१ वर्षीय विलियम शेक्सपियरले पनि कोभिड–१९ विरुद्ध खोप लगाउन पाएकोमा खुसी लागेको बताए।

कोरोना भाइरसविरूद्धको यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको छ। बेलायत सरकारले खोपको ४ करोड डोज अर्डर गरेको छ। दुई डोज लगाउनुपर्ने उक्त खोप दुई करोड बेलायतीलाई पुग्नेछ।

सुरूआती केही दिनमा एक करोड डोज छिट्टै उपलब्ध हुनेछ। फाइजरले अहिलेसम्मकै छोटो समयमा खोप बनाएको हो। यसले १० महिनामा खोप तयार पारेको हो। यसअघि खोप बनाउन वर्षौं लाग्ने गर्थ्यो। फाइजरले अमेरिका र युरोपियन युनियनका अरू मुलुकमा पनि अनुमतिका लागि निवेदन दिएको छ।

-बिबिसी

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार