मंसिर २५, सल्यान ।
‘प्रहरी मेरो साथी’ यो नारा नेपाल प्रहरीको हो । र नेपाल प्रहरीले गर्ने काम पनि यहि नाराले भनेजस्तै हो । तर बेलाबखत नेपाल प्रहरी भित्रका कुनै नराम्रो कुराले सिंगो प्रहरी छवि धमेलीएका उदाहरणहरु पनि छन् भने कुनै यस्ता सामाजिक कार्यहरु पनि छन् जसले नेपाल प्रहरीलाई एकपटक सलाम गर्न मन लाग्छ ।
प्रहरीले बाढी पहिरोमा गरेको उद्धार होस् या आगलागीमा नागरिक बचाउँदै गरेको होस्, यस्ता मन छुनेखालमा तस्बिरहरु देख्दा साच्चिकै सलाम गर्न मन लाग्छ । दिनभर सडकमा सिटी फुकेर बस्ने ट्राफिक प्रहरी होस् वा चाडपर्वमा बिदा नपाएर मन बहकाउँदै नागरिकको रक्षार्थ ड्युटीमा खटिने प्रहरी होस्, उ देशको सेवामा पक्कै लागेको छ ।
अहिले सामाजिक संजालमा प्रहरीको एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ । जसले प्रहरीले गर्ने ड्युटी र कामलाई मुल्यांकन गर्छ । पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा राखेको उक्त तस्बिर अहिले सामाजिक संजालमा भाइरल नै बनेको छ ।
पूर्वसचिव उपाध्यायले फेसबुकमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘सल्यानमा हाम्रा प्रहरी जवान यसरी कष्ट ब्यहोर्दै ड्युटी गर्नुपर्छ । जाडो, कोरोना र धुलाम्मे जीवन ।’
यो तस्बिरमा थुप्रैले प्रतिकृया समेत दिएका छन् । सरकारले नेपालको सडक सुधार गर्न नसकेको, सुखी नेपाली समृद्ध नेपालको नारा बनाएर पुरा गर्न नसकी लाजमर्दाे गरेको, नागरिकहरुले थुप्रै सास्ती भोग्नुपरेको जस्ता प्रतिकृयाहरु फेसबुकमा देखिएका छन् । र याे तस्बिरमा देखिएका प्रहरीप्रति पनि उच्च सम्मान फेसबुककर्ताले देखाएका छन् ।
तस्बिर सल्यान कुन ठाउँको हो ?
प्रहरी श्रोतकाअनुसार यो तस्बिर यहि मंसिर २३ गतेको हो । कुमाख गाउँपालिका वडा नम्बर ६ मा सहबिर सार्कीको मृ’त्यु भएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली फर्किने बेला बागचौरमा एकजनाले खिचेको तस्बिर हो ।
प्रहरीको गाडीमा पछाडी ३ जना प्रहरी थिए । तस्बिरमा देखिएका प्रहरी जवान देवी प्रसाद धिताल हुन् । उनि बागचौरमा गाडी रोकेर ओर्लिने बेला यस्तो धुलाम्मे देखिएका हुन् । प्रहरी ओर्लिने क्रममा एकजनाले फोटो खिचेर पूर्वसचिव भीम उपाध्यायलाई पठाएपछि यसरी भाईरल भएको हो ।
सल्यानका सडक सधै धुलाम्मे र हिलाम्मे
सल्यानमा कालोपत्रे भएर गजबसँग यात्रा गरिने कुनै त्यस्ता सडक छैनन् । यसरी यात्रामा धुलाम्मे भएको प्रहरीको एक उदाहरण मात्र हो । यहाँ यात्रा गर्ने सबै यसरी नै धुलोले ढाँकिने गरेका छन् ।
ग्रामिण सडकको कुरा छोडौं । सल्यानको मुख्य सडक राप्ती राजमार्ग पनि यसरी नै हिउँदमा धुलाम्मे र वर्षमा हिलाम्मे हुने गर्छ । दैनिक हजारौं सवारी साधन ओहोरदोहोर गर्ने राप्ती राजमार्ग पछिल्लो केहि वर्षयता झन बिग्रदै गएको छ ।
करिब ३० वर्ष अघि ट्याक खोलिएको राप्ती राजमार्ग एक दशक अघि वटाशिल प्रविधिबाट पीच गरिएपनि त्यसपछि स्तरोन्नति नहुँदा जोखिम बन्दै गएको छ ।राप्ती राजमार्ग पुर्वपश्चिम राजमार्र्ग अन्तर्गत दाङ अमेलियादेखि रुकुमको सल्लेसम्म १ सय किलोमिटर सडक पर्दछ ।
जसको दाङ क्षेत्रमा सडकको अबस्था सन्तोजनक नै भएपनि सल्यान खण्ड र रुकुम खण्ड जिर्ण बनेको छ । दाङ तुलसीपुरबाट सल्यान हुँदै रुकुमको मुसिकोट सम्म जोडिएको राप्ती राजमार्ग अहिले कालोपत्रे भन्दा बढी खाल्डाखुल्डी देखिन थालेका छन् ।
बेलाबेलामा मर्मतसम्भारका काम भएता पनि गुणस्तरीय ढङ्गले काम नगर्दा ती सबै प्रभावकारी हुन सकेका छैनन । बाटोको अवस्था राम्रो नहुँदा भनेको समयमा गन्तव्यसम्म पुग्न नसकिने, सवारीसाधनलाई पनि निकै असर पर्ने र दुर्घटना हुन सक्ने त्रास लगायतका समस्याहरु झेल्दै यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।