कमरेड ! महंगो सुटबुट लगाएर सडकमा बसेको सुवाएन्


खकेन्द्र केसी

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि बैशाखमा मध्यावधि चुनाव गर्ने घोषणा गरेसँगै यतिबेला देश एउटा संकटपूर्ण वातावरणमा गएको छ ।

आफुलाई आफ्नै पार्टीका नेताहरुले चौतर्फी घेराबन्दीमा राखेर काम गर्न नदिएको र प्रधानमन्त्रीबाट हटाउने खेल हुन लागेकोले आफुले संसद विघटन गरेको प्रधानमन्त्री ओलीले प्रतिकृया दिइसकेका छन् । उसो त उनले पार्टी र संसदमा आफुविरुद्धका आरोपहरु फेस गर्न नसकेर संसद विघटन गरेको प्रस्ट हुन्छ ।

केपी ओलीको यो कदमले देशलाई उन्नती भन्दा दुर्गती तिर पुर्याएको देखिन्छ । केपी ओली आफै सत्तामा हुनुपर्ने र आफै राजगद्यदीमा बस्नुपर्ने प्रवृतिले यो संकटकालिन अवस्थातिर मोडिएको हो । जसले गर्दा अहिले चौतर्फि बिरोध र आन्दोलनका कार्यक्रमहरु भैरहेका छन् ।

आज दिउँसो पनि त्यस्तै आन्दोलनको कार्यक्रम काठमाडौंको माइतीघरमा देखियो । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गर्याे ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित उक्त समुहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा देखिए ।

प्रचण्ड, नेपाल र खनाल यसअघि प्रधानमन्त्री भैसकेका नेता हुन् । यी तिनै जना पार्टी प्रमुखको जिम्मेवारीमा बसेर काम गरिसकेका नेता पनि हुन् । अझ प्रचण्ड त माओवादी पार्टीको अध्यक्षमा ३० वर्षभन्दा धेरै राज गरेका नेता हुन् । माओवादीको संस्थापन पक्षको इतिहास देखिनै उनि बाहेक अरु कोहि पनि अध्यक्ष हुन पाएनन् ।

त्यस्तै माधव नेपाल पनि एमाले पार्टीको १५ वर्षसम्म अध्यक्ष पदको जिम्मेवारीमा रहेका नेता हुन् । उक्त अवधिमा यीनीहरुले पनि देशमा त्यस्तो कुनै कायापलट गरेको देखिदैन् ।

आज यीनीहरु केपी ओलीले संसद विघटन गरेकोविरुद्ध माइतीघरको सडकमा बसेको तस्बिरले धेरै भाव जनाउँछ । सडकमा उनिहरु सुकिला टाइसुट र जुत्तामा देखिन्छ भने सडकमा बस्दा धुलो लाग्छ भनेर ओछ्याउने चकटी समेत लिएका थिए । त्यो देख्दा लाग्छ उनिहरु कुनैपनि एंगलबाट सर्वहारा नेता होइनन्, राजगद्यीमै बस्ने नेता हुन् ।

प्रचण्ड–माधव सहितका यी नेताहरु धेरै वर्षपछि यसरी सडकमा आएको आज नै हो । किनकी यीनीहरु सधै सत्ताको वरिपरि घुमिरहेका हुन्छन् । यसपटक केपी ओलीले एकलौटी ढंगले सत्ता चलाउँदा र अहिले संसद नै विघटन गरेपछि यी नेताहरुलाई ठुलो चोट परेको छ ।

२०७४ साल फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बनेका केपी ओलीले यो अवधीमा राम्रो काम गर्नुको साटो उल्टै नराम्रो कामको दलदलमा फसे ।

केपी ओली प्रधानमन्त्री भएको एक वर्षमा उनको कामहरु देखिदै गए । जहाँ उनिबाट जनतामा आशा जागेको देखिएन तर भ्रष्टाचार र दण्डहिनताका अनेक काण्डहरु भने एकपछि अर्को गर्दै घटित भइरहे ।

निर्मला पन्त हत्याकाण्डदेखि वाइडबडी भ्रष्टाचारसम्म, एसिया प्यासिफिक समिटदेखि ३३ किलो सुनकाण्डसम्म, बालुवाटार जग्गा प्रकरणदेखि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड, पप्पु काण्ड देखि मेलाम्ची ठेक्का काण्डसम्मका थुप्रै काण्डको ओली दलदलमा सरकार फस्यो ।

चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै जिवनमरनको अवस्थामा अनसन बसेका डाक्टर गोविन्द केसी देखि कोरोना भाइरसको क्रासमा काठमाडौं देखि दुइ हप्ताभन्दा बढी हिडेर घर जाने नागरिकको पीडा, भारतबाट फर्किएका नागरिकलाई महाकाली नदिमा सरकारले गरेको मानवताहितको हर्कतमा पनि अहिलेका प्रचण्ड–माधव समुह चुइक्क बोलेनन् । खाली नदेखे जस्तै गरे ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यो घटनाले देशै उद्देलित बनायो । तर अहिलेसम्म सत्यतथ्य बाहिर आएको छैन । उल्टै प्रमाण नस्ट गर्न सरकारी संयन्त्र लाग्यो ।

यो घटनामा प्रचण्ड–माधवले एकपटक पनि मुख खोलेनन् । एकपटक पनि न्यायको लागि आवाज उठाएनन् । अहिलेजसरी एकपटक पनि सडकमा आएनन् । संसद बैठकमा न्याय मागेनन् । खाली चुपचाप बसे, अन्याय हेरिरहे ।

मोरङको उर्लाबारीमा सनम शाक्यको हत्या भएपछि ३३ किलो सुनकाण्ड सार्वजनिक भयो । यो सुनकाण्ड अझैसम्म नसुल्झिएको पहेली भएर रहेको छ । वैदेशिक रोजगारी र अन्य प्रयोजनले विदेश गएर फर्कनेहरुको झोला खोतलेर हेरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यति ठूलो परिमाणमा तस्करीको सुन भने सजिलै भित्रिँदोरहेछ भन्ने तथ्य पनि यो घटनाले उजागर गरिदियो ।

वषौंदेखि भुक्तानीको समस्या भोग्दै आएका उखु किसानहरूले अघिल्ला वर्ष देखि नै काठमाण्डौंको माइतघरमा प्रदर्शन गरे । चिनी मिल सञ्चालकहरूले वर्षैदेखिको भुक्तानी नदिपछि समस्यामा परेका किसानहरूले सरकारविरुद्ध प्रदर्शन गरे । कठ्यांग्रीदो जाडोमा भोकभोकै सुत्न र बस्नको ठेगान नभइ उनिहरु आफ्नो मेहनतको पैसा माग्न काठमाडौं आए । उनिहरुको मागमा सरकार खासै उदासीन देखिएन् ।

यस्तो अन्यायमा परेर न्यायको खोजीमा सडकमा बसेका उखु किसानको माग प्रति न प्रचण्डले साथ दिए, न माधवले आश दिए, न झलनाथ खनालले गास दिलाउने कुरा नै गरे । खाली उनिहरुलाई सत्ता रसस्वादन कसरी गर्ने भन्ने मात्रै पीर भैरह्यो । उनिहरु जनतालाई परेको अन्याय र अत्याचार विरुद्ध कहिल्यै देखिएनन् ।

ओली सरकारको असहिष्णु र अधिनायकवादी अवतार नेपाली जनतासमक्ष साक्षात्कार भइसकेको छ । सत्ता नपाउँदासम्म पुरानो शैली, गल्ती दोहोरिन नदिने, भ्रष्टाचार नगर्ने, लोकतन्त्रमाथि कुनै खलल हुन नदिने, आर्थिक समृद्धि र मुलुकलाई अगाडि लैजाने नारा लगाउने तर सत्ता प्राप्तिपछि असहिष्णु, अराजनीतिक चरित्र प्रदर्शन गर्न उद्यत् हुनुले यो सरकार लोकतान्त्रिक प्रक्रियाबाट निर्माण भएको हो । तर विरोधका स्वरलाई सुन्न नसक्ने प्रवृत्तिले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको छ ।

अहिले सडक आन्दोलनमा रहेका प्रचण्ड–माधव समुहलाई पनि अब जनताले पत्याउने आधार सकिएका छन् । उनिहरुको स्वार्थ भनेको खाली सत्तामा बसिरहने मात्रै देखिन्छ । जनता अन्याय र अत्याचारले थिचोलिएर सडकमा आउँदा उनिहरु नदेखे जस्तो गरेर कानमा तेल हालेर बसिरहेका हुन्छ । आफुलाई बढी पीडा हुँदा जनताको साथ खोज्छन् ।

त्यसैले लाग्छ हामीले बनाएका यी कमरेडहरु साच्चीकै जनताको दुखमा साथ दिदैनन्, सत्ताकै रस्साकसीमा हात दिन्छन् ।

नेपालको अहिलेको पुस्ताले पंचायत, राजतन्त्र र गनतन्त्र व्यवस्था देखिसक्यो र भोगिसक्यो पनि । तर यी सबै व्यवस्था संचालकहरुको मति र गतिले जनता आजित भैसके । व्यवस्था जति बदलिय पनि अवस्था नबदलिने भयो ।

अब व्यवस्था होइन्, अवस्था परिवर्तन गरौं । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था तिर लागौं । देशको रुप बदल्ने नेताको खोजी गरौं । उसले आफ्नो विकास होइन् देशको विकास गरौं । फोहोरी सिस्टम परिवर्तन गरोस् ।

प्रकाशित मिती २०७७ पुस १० गते ।

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार