• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

सन् २१२१ का लागि विश्व स्वास्थ्य संगठनले दिएका यी २१ स्वास्थ्य सुझाव पढ्नुहाेस्


डा. हेमराज कोइराला

पुस १७, काठमाडाैं ।

एक्साईसौ शताब्दिको २१ औ बर्षलाई स्वागत गर्दैगर्दा आज हामी स्वास्थ्यलाई कसरी रक्षा गर्ने भनेर अत्यन्त चिन्तित छौं ।

१. प्राकृतिक खानेकुरा खाऔ

खानेकुरा कृतिम भईदिदा आज सम्पूर्ण मानवताले अनेकौ रोगव्याधि झेल्न बाध्य हुनुपरेको हो । यसर्थ खानपानलाई प्राकृतिक र स्वस्थकर बनाउनुको विकल्प छैन । खानपानलाई प्राकृतिक बनाउनु भनेको खानेकुरालाई जतिसक्दो प्राकृतिक रूपमै उपयोग गर्नु हो । खानेकुरालाई प्राकृतिक रूपमै प्रयोग गर्दा स्वास्थ्यका लागि अत्यन्त फाईदादायी हुन्छ ।

यसका अतिरिक्त खाना पकाउदा खानेकुराको प्राकृतिकपन र पौष्टिकता नष्ट नहोस भनेर विशेष ध्यान दिनु आवश्यक छ । तार्ने, भुट्ने, लामो समयसम्म पकाउने जस्ता क्रियाले खानेकुराको प्राकृतिक गूणधर्म नष्ट गर्दछ। यसै गरि स्वास्थ्य रक्षाकालागि सन्तुलित भोजन खान पनि उत्तिकै आवश्यक छ।

खानालाई सन्तुलित बनाउनकालागि विभिन्न प्रकारका खाद्यबस्तुमा विविधिकरण हुनुपर्दछ। काबोहाईड्रेटस, प्रोटीन, चिल्लो, खनिज, भिटामीन, पानी र चोकरको यूक्तमात्रामा प्रयोग नै सन्तुलित भोजन हो र यसकालागि अन्न, दाल, गेडागुडी र कन्दमूलका अतिरिक्त पर्याप्त मात्रामा फलफूल, सागपात, तरकारी, दुध, दही, घ्यु, मोही, अङ्कुरित आदि खानुपर्ने हुन्छ ।

साधारणतयाहामीले काबोहाईड्रेटस, प्रोटीन र चिल्लाको मात्रा लिईरहेपनि भिटामिन, खानिज, रूक्षांश (फाईबर)को प्रर्याप्त मात्रा नलिई रहेका हुन्छौ। भिटामिन र खनिजको आवश्यक मात्रा लिनकोलागि हामीले पर्याप्त मात्रामा फलपूmल र तरकारी लिईरहनु पर्ने हुन्छौं ।

विश्व स्वास्थ्य संगठनले एउटा वयस्क व्याक्तिका लागि ५ पोर्सान अथवा ४०० ग्राम फलफूल एवं तरकारी खानुपर्छ भनेको छ। यसरी फलफूल र तरकारीको पर्याप्त सेवन गर्ने गर्दा सूक्ष्मपोषक तत्वहरूको कमी हुन पाउदैन भने नसर्ने रोगको प्रकोपबाट पनि बच्न सकिन्छ।

२. खानापकाउने स्वस्थकर तरिका अपनाऔं

स्वस्थकर खाद्य पाककला वा भनौ खाना ठिकसंग पकाउन नजान्नाले आज हामीले अनेकौ प्रकारका स्वास्थ्य समस्याहरू झेल्न बाध्य हुनुपरेको छ । अस्वस्थकर खाद्य पाककला भनेको खानालाई स्वास्थ्य मैत्रीहुने गरि जस्तै कम पकाउनु, ज्यादा पकाउनु वा हानिकारक रसायन हालेर पकाउन आदि पर्दछन् । खानालाई ठीकसँग नपकाउदा ब्याक्टेरिया, भाईरस, फङ्गस, परजीवी जस्ता जीवाणुहरू शरीरमा प्रवेश गर्न सक्छ ।

यी जीवाणुहरूका कारणले २०० भन्दा ज्यादा प्रकारका रोगहरू लगाउन सक्दछ। यसैगरि खानालाई चाहिने भन्दा ज्यादा पकाउदा खानामा विद्यमान पौष्टिक तत्व, सुक्ष्म पोषक तत्व, प्रोटिनहरूको विघटन भई खाना पोषण मुल्य रहित बन्न पुग्दछ ।

यसै गरि खानामा हानीकारक रसायन मिसाउदा खाना विषक्त बन्न पुग्दछ। माछा-माशुलाई धेरै पकाउने वा पोल्नु हुदैन । खानालाई स्वस्थकर बनाउन विश्व स्वास्थ्य संगटनले खाना लाई स्वच्छ राख्न, पाकेको र काचोलाई नमिसाउन, मजासंग पकाउन, अत्यधिक ताप र उच्च आँचमा नपकाउन र खानामा हालिने पानी र अन्य मरमसला स्वस्थ्यकर र सुरक्षित मात्र प्रयोग गर्नुहुन सुझाब दिएको छ।

३ . नुनको मात्रा कम गरौं

नुन सोडियम र क्लोराईड नामक दुईवटा तत्वहरू मिलेर बनेको यौगिक हो । यी दुबै तत्वहरू हाम्रो शरीरका लागि अति आवश्यक तत्वहरू हुन् तर आवश्यकता भन्दा कम वा ज्यादा मात्रामा यी तत्वहरूको सेवन गर्नेगर्दा हाम्रो  स्वास्थ्यमा अनेकौ समस्या देखा पर्दछ । त्यसमा पनि उच्च मात्रामा नुन सेवनगर्दा रक्तचाप बढ्दछ ।

एकचोटि रक्तचाँप बढे पछि हाम्रो स्वास्थ्यमा अनेकौ सास्याहरू देखा पर्ने गर्दछ। अझ तथ्यगत रूपमै भन्नुपर्दा नुन खान नजानेर प्रत्येक बर्ष २५लाख मानिसहरू अकालमा मारिने गरेका छन भने करोडौ मानिसहरू उच्चरक्तचाप, मधुमेह, स्ट्रोक प्यारालाईसिस र मृगौला फेलिएर जस्ता दीर्घकालिन समस्या लिएर बाच्न बाध्य छन् ।

यसर्थ विश्व स्वास्थ्य संगठनले स्वास्थ जीवन बाच्नका लागि दैनिक ५ ग्राम भन्दा ज्यादा नुनको सेवन नगर्न भनेको छ । दैनिक ५ ग्राम नुनखादाँ लागभग २ ग्राम वा २००० मि.ग्रा. सोडियमको पुर्ति हुन्छ । यसै गरि दैनिक ३.५ ग्राम वा ३५०० मि.ग्रा पोटासियमको पूर्ति पनि हाम्रो शरीरमा हुनु पर्दछ । यसका लागि सोडियम साल्ट नखाएर पोटासियम साल्ट खानको लागि सल्लाह दिने गरिएको छ ।

नुनको मात्रा कटौति गर्नका लागि हामीले नुनको दृष्य र अदृष्य दुबै श्रोतहरू माथि पहरेज गर्नुपर्दछ। खानामा आफैले हालेको नुन दृष्य श्रोत हो भने पहिले देखिनै नुन हालिएको खानेकुरा जस्तै नमकिन, दालमोठ, चटपटे, पुरानो अचार, भूजीया, आदि अदृष्य श्रोतहरू हुन। खानेकुराहरूको छनौट गर्दा कुन खानेकुरामा कति नुन छ भन्ने जानेर मात्र खानेकुरा छान्नु पर्दछ। यसका लागि अलिकति खानेकुरा चाखेर नुन ज्यादा चर्को भए खानु हुदैन ।

४. ज्यादा गुलियो पनि खाने नगरौं

नुन पछिको अर्को स्वास्थ्य नासक खाद्य भनेको चीनी हो। केटाकेटीले चिनी खाँदा दाँतको क्षय हुन्छ भने बयस्कले धेरै चिनी खाँदा मोटोपनको समस्या आउदछ। यसै गरि चिनी खाई रहनेलाई टायप–२ मधुमेह, मुटुरोग, चाँया–पोतो–डण्डिफोर आउने, अनेकौ किसिमका क्यानसर, तनाव, चिन्ता भय र उदासिनता, चाँडै बुढो हुने, कलेजोमा बोसो जम्ने, मृगौला खराब हुने, यूरिक एसिड बढ्ने जस्ता समस्या देखा पर्दछ। यसर्थ चिनीलाई सकभर नखाएकै राम्रो हो तर खानै पर्ने भए कुल क्यालेरिको ५ प्रतिशत भन्दा धेरै चिनी खानु हुदैन।

५. अस्वस्थकर चिल्लो नखाऔं

स्वस्थ जीवन जीउनका लागि चिल्लो पनि नियन्त्रित मात्रामा खानुपर्ने हुन्छ भने अस्वस्थकर चिल्लोलाई खानामा समावेस गर्नै हुदैन। अस्वस्थकर चिल्लो भनेको मुख्यतः संन्तृप्त चिल्लो (सेचुरेटेड फ्याट) र ट्रान्स फ्याट हुन। संन्तृप्त चिल्लो जनावरहरूबाट प्राप्तहसने चिल्लो जस्तै मासु, अण्डा, घ्यु, नौनी, बटर, चीज, मर्जेरिन, क्रिम, नरिवलको तेल, पामको तेल, लार्ड आदिमा पाईन्छ भने तेल घ्युमा तारेभूटेका खानेकुरा, बोतल र बट्टबद्ध खानेकुरा, पिजा, बर्गर, केक, चाउचाउ, बिस्कुट, कुकिज, वनस्पति ध्यु र बारबार तताईएको वा उच्च तापक्रम सम्म तताईएको तेलमा ट्रान्स फ्याट पाईन्छ।

चिल्लोको चयन गर्दा संन्तृप्त हैन असंन्तृप्त चिल्लो (अनसेचुरेटेड फ्याट)को चयन गर्नुपर्छ। असंन्तृप्त चिल्लोको  मुख्य श्रोत भनेको वनस्पति जन्य तेलहरू जस्तै बदाम, आलस, एबोकादो, तोरी, भट्टमास, सुर्यमुखी, जैतुन, क्यानोला र केही विशेष प्रजातिका माछामा आदि हुन्।यसै गरि हमीले स्वस्थकर चिल्लो खाँदा पनि कुल उर्जाको ३० प्रतिशत भन्दा ज्यादा उर्जा चिल्लोबाट लिनु हुदैन भन्ने मान्यता छ।

६. रक्सीको सेवन नगरौं

रक्सी खाएकै कारण प्रत्येक बर्ष ३३लाख मानिसहरू अकालमा मारिने गरेकाछन। मृत्युका अतिरिक्त दीर्घकालिन रूपमा रक्सीसेवनले गर्दा शारीरिक, मानसिक, सामाजिक एवं आचरण संग सम्बद्ध समस्याहरू पनि देखापर्दछ। यसै गरि रक्सीको सेवन संग कलेजोमा बोसो जम्ने रोग, लिवर सिरोसिस, क्यानसर, मुटुरोग, रक्सीमा निर्भरता, रोड एक्सिडेण्ट जस्ता समस्याहरू पनि देखा पर्दछन। यसर्थ कुनै पनि बहानामा रक्सी खानु राम्रो होईन।

७. धूमपान र सुर्तीको सेवन नगरौं

धूमपान एवं सुर्तीको सेवन गर्नाले बार्षिक ७२ लाख मारिन्छन भने करोडौ मानिसरू यसले निम्त्याउने प्रतिकुल स्वास्थ्य स्थिति लिएर बाच्न बाध्य छन। सुर्तिजन्य वस्तुको सेवन गर्दा वा धूमपान गर्दा विभिन्न किसिमका क्यान्सरहरूको खतरा बढ्दछ भने मुटुरोग, दम, खोकी जस्ता श्वास रोग, मष्तिस्कघात, टायप–२ मधुमेह जस्ता दीर्घ एवं जीर्ण रोगहरूले पनि सताउछ। यसै गरि धूमपानले आसपासमा मान्छेको स्वास्थ्यमा पनि असर पु¥याउदछ।

८. शारीरिक रूपले सक्रिय रहनुहोस्

दैनिक रूपमा एकबट्टा चूरोट खाने व्याक्तिलाई जति धेरै क्यानसर हुने खतरा रहन्छ त्यत्ति नै खतरा शारीरिक रूपमा सक्रिय नरहने व्याक्तिलाई पनि हुन्छ भन्ने तथ्य सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर यसमा अचम्म मान्नु पर्दैन।

किनकिनिष्क्रिय जीवन जिउनेहरूलाई क्यान्सर मात्र हैन, मुटु तथा रक्तनलीका रोग, उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, अस्टियोपोरोसिस, अस्टियोपिनिया, मृगौलाको पत्थरी, हड्डी खिइने, नशा च्यापिने, काँधको जोर्नी जाम हुने, ठुलो आन्द्राको क्यान्सर, मानसिक तनाव, चिन्ता भय र उदासीनता, रक्तनली साँगु¥याउने अथेरोस्क्लेरोसिस भन्ने रोग, रक्तशिराभित्रै रगत जम्ने डिपभेन थ्रम्बोसिस भनिने रोग, कब्जियत, अम्लपित्त, अजीर्णता, अनिद्राजस्ता समस्या पनि सताउदछ ।

“द ल्यान्सेट” नामक प्रसिद्घ स्वास्थ्य खबर पत्रिकाले जनाएअनुरूप निष्क्रिय जीवनको बढ्दो रफ्तारले विश्वभरि प्रत्येक वर्ष प्रत्यक्षरूपले हुने ३२ लाख र अन्य रोगहरूसँग जोडिएर हुने  २ करोड  ५० लाख रोक्न सकिने मृत्यु लाई रोक्न सकिएको छैन । शारीरिक रूपले सक्रिय रहनु भनेको शरीरमा विद्यमान ईच्छाधिन मांशपेशीहरूलाई चलाएर अत्याधिक उर्जा खर्च गर्नु हो। यसरि उर्जा खर्च गर्र्दा हाम्रा एकएक कोषहरूमा मेटाबोलिक क्रियाकलापहरू बढ्दछ र कोषहरू स्वस्थ हुने गर्दछन।

शारीरिक रूपले सक्रिय रहनका लागि प्रातःभ्रमण (मर्निङ्ग वाकमा) जाने, दौडने, डोरी (स्किपिङ्ग) खेल्ने, पिटी खेल्ने, ट्रेड मिल चलाउने, खेल खेल्ने, पौडी खेल्ने, ट्राम्पोलिनमा उफ्रने, ट्रेकिङमा जाने, नाच्ने, योग गर्ने, एरोविक्स, जुम्बा, बैले, सालसा गर्ने, हाइकिङ्ग जाने, बाटामा साइकिल चलाउने, स्टाटिक साइकिल चलाउने, जिम जाने, सिँडी उक्लिने, कम्फुकराँते, उसु खेल्ने, डुङ्गा खियाउने, पानीमा गरिने व्यायामहरू गर्ने, करेसा बारी वा बगैँचाको काममा संलग्न रहने जस्ता क्रियाकलाप गर्न सकिन्छ।

विश्व स्वास्थ्य संगठनले रोग लाग्न नदिनका लागि हप्तामा कमसेकम १५० मिनेटको मध्यम खालको शरीरिक क्रिया कलाप गर्नुपर्ने र स्वस्थ जीवन बाच्नको लागि हप्ताको ३०० मिनेटको शारीरिक क्रियाकलाप गर्नुपर्ने सुझावदिएको छ । शारीरिक रूपमा सक्रिय अभ्यासहरू गर्न जन्ने हरूले विस्तारै मांशपेशीहरूलाई मजवुत बनाउनकालागि अलि कडाखालका व्यायामहरू पनि गर्न सक्छन् ।

९. बेला बेलामा रक्तचाप जचाँई रहनुहोस्

आज संसारको हरेक चौथो वयस्क व्याक्ति रक्तचापको समस्याद्वारा ग्रसित छ र त्यस मध्ये ९५ प्रतिशत व्याक्ति उच्चरक्तचापको समस्याले ग्रसित छ। उच्च रक्तचाप आफैमा कुनै रोग होइन तर सयौ रोगहरुको जननी हो । यसका कारणले हृदयघात, मष्तिस्कघात, मिर्गौला फेलियर, नेत्रघात (दृष्टि गुम्नु) मुटु सुन्निने, रक्तनलीहरु तन्किने, फुल्ने तथा फुट्ने र मानसिक तथा भावनात्मक अस्वस्थ्थता जस्ता समस्याहरु आउन सक्छ।

यसर्थ उच्च रक्तचापलाई बेलैमा निदान गरि उपचार गरहाल्नु गर्दछ। उच्च रक्तचापको निदानका लागि बेलाबेलामा स्फीग्नोमेनोमिटर भन्ने यन्त्र प्रयोग गरेर आफ्नो रक्तचाप जचाँई रहनु पर्दछ र गडबड भएको पाईएमा औषधि खाएर भएपनि नियन्त्रित गर्नु पर्दछ।

१०. खोक्दा वा हाच्छ्यू गर्दा नाक र मुख ढाक्ने गरौं

आज पुरा विश्व हावाको माध्यम भएर सर्ने रोग बाट ग्रसित छ । ईन्पूmएञ्जा, निमोनिया, क्षयरोग, कोभीड–१९ जस्ता स्वास्थ्य समस्याहरू हवाको माध्यम भएर सर्ने रोगहरू हुन र यी रोगहरूको कारणले पनि प्रत्येक बर्ष …..लाख मानिसहरू मारिने गरेका छन। यी रोगहरू संक्रामक रोग भएकाले यी रोगहरूबाट बच्न रोगीको थुक, खकार, सिङ्गान जस्ता मलको ड्रपलेटलाई अर्को व्याक्ति सम्म फैलन नदिनु हो र यसका लागि खोक्दा वा हाच्छ्यू गर्दा रूमाल वा गम्छाले नाक वा मुख ढाक्नु पर्दछ। यदि तपाई यस्ता रोगबाट ग्रसित हुनुहुन्छ भने तपाईले संक्रमण अवधि भरि सर्जीकल मास्क वा के.एन.–९५ मास्कको प्रयोग गर्नुपर्दछ।

अन्य अवश्थामा पनि तपाई लाई खोकी लाग्यो वा हाच्छ्यू आयो र तपाई संग रूमाल वा टिष्यू पेपर छैन भने तपाईले आफ्नै कुहिनोलाई मोडेर नाक मुख ढाक्ने गर्नु पर्दछ। यसै गरि खाकी लागेको वा हाच्छ्यू गरिरहेको व्याक्तिले नाक कोट्याउने, मुखतिर हात लगि रहने जस्ता क्रियापलाप गर्नु हुदैन।

११.लामखुट्टेको टोकाईबाट बचौं

लामखेट्टेको टोकाईबाट मलेरिया, कालाजार, जापनिज ईन्सेफेलाईटिस, यल्लो फिवर, चिकनगुनिया, डेङ्गी, हात्तिपाईले रोग जस्ता अनेकौ रोगहरू फैलिने गरेका छन्। अझ तथ्यगत रूपमै भन्नुपर्दा लामखुट्टेको टोकाईका कारणले प्रत्यक बर्ष ‘मानिसहरू मारिने गरेका छन भने लाखौं  मानिसहरू बिरामी पर्ने गरेका छन ।

यी रोगहरूबाट बच्ने उत्तम उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु हो। लामखुट्टेको टोकाई बाट बच्नका लागिराती सुत्दा झुल वा मच्छरधुपको प्रयोग गर्ने, संक्रमित क्षेत्रमा नियमित रुपमा लामखुट्टे मार्ने बिषादि छर्किन लगाउने, लामखुट्टेको बासस्थान (पानी जम्ने ठाउँहरू) नष्ट गरिदिने, जस्ता उपायहरू अपनाउन सकिन्छ।

१२. स्वास्थ्यकर पानी पिउने गरौं

स्वस्थकर पानी नपिउनाले हैजा, झाडापखाला, हेपाटाईटिस–ए, टाईफाईड, पोलियो जस्ता पानीबाट सर्ने रोगहरू फैलने गरेका छन।आज विश्वका २ अरव जनसंख्या असुरक्षित र अस्वस्थकर पानी पिउन बाध्य छ जसका कारणले आज प्रत्येक बर्ष लाखौं

मानिस असुरक्षित पानी पउिनाले मारिने गरेका छन भने कैयौं मानिस पानीको माध्यमबाट सर्ने रोगबाट संक्रमित हुने गरेका छन। यसर्थ पिउने पानी स्वच्छ, स्वस्थकर एवं सुरक्षित हुन अत्यन्त आवश्यक छ। पानी सुरक्षाको प्रत्याभूती गर्न हामीले कस्तो पानी खादैछौ भनेर त्यसको श्रोतको जाँच गर्नुपर्ने हुन्छ। यदि श्रोतको स्वच्छतामा संङ्खालागे पानीलाई फिल्टर गरेर वा ५ मीनेट सम्म उमालेर खान सकिन्छ।

१३. नैराश्यता उत्पन्न भएमा विश्वाश्नीय व्याक्तिलाई माया गर्नुहोस्

नैराशायताका कारण संसारभर लगभग २६ करोड मानिसहरू मानिसहरू प्रभावित छन् र संसारभर हुने ९० प्रतिशत आत्महत्याको कारण नैराश्यता हो। निराशाले भरिएको मानिसको जीवनमा निरन्तर निराशावादि सोचहरू आईरहन्छ र जीवनको आश लाग्न छोड्छ र यो अवश्था बढ्दै गए रोगीले आत्म हत्या सम्म गर्दछ।

यदि तपाईको जीवनमा पनि निराशाजनक स्थिति आएमा हिम्मत नहार्नुहोस र आफूलाई एक्लो नसम्झनुहोस अपितु यस स्थितिलाई साथी भाई हरू समक्ष शाझा गर्नुहोस वा मनोरोग विशेषज्ञको परामर्श लिनुहोस। बेलैमा नियन्त्रण  गर्नसके नैराश्यताले केही गर्दैन ।

१४. एण्टिबायोटिक्सहरूको जथाभावी प्रयोग नगरौ

एण्टिबायोटिक्सहरूको जथाभाबी प्रयोग गर्ने गर्दा अब एण्टिबायोटिक्सले काम गर्न छोडिरहेका छन्। यसो हुनुको मुख्य कारण शरीरमा एण्टिबायोेटिकको प्रतिरोधकता विकशित हुनु हो। एण्टिबायोेटिक प्रतिरोधकता विकशित भएमा ब्याक्टेरीयाहरूको संक्रमणलाई निको पार्न कठिन हुनेगर्दछ जसले गर्दा रोगको उपचार सहज नहुने, लामो समय सम्म हस्पिटल बस्नुपर्ने, उपचार खर्च पनि धेरै आउने र मृत्युदर पनि ज्यादा हुने गर्दछ।एण्टिबायोटिक्सहरूको प्रतिरोधकता विकशित हुनुमा एण्टिबायोटिक्सहरूको जथाभावी र अत्याधिक प्रयोग नै हो। यसर्थ आफ्नो मनखुशि एण्टिबायोटिक्सको प्रयोग नगरेर दक्ष स्वास्थ्य कर्मीको निर्देशनमा मात्र लिने गरौ।

१५. हात धुने बानी बसालौ

हात फोहोर भएकै कारणले धरै रोगहरू लाग्न वा सर्न सक्छ।किनकी हातले निरन्तर रूपमा किटाणुहरू, विषाक्त रसायनहरू र एलर्जनहरू छुईरहेको हुन्छन र यीनै हातहरूले पुन नाक, मुख, आँखा र शरीरका अन्य भागमा पनि छोईरहेको हुन्छ। यसरी छुँदा संक्रमक किटाणुहरू, विषाक्त रसायनहरू र एलर्जनहरू शरीर भित्र प्रवेश गर्दछन् र हामीलाई विभिनन किसिमका रोगहरू लाग्दछ। यसर्थ हातालाई स्वच्छ राखेर पनि धेरै रोगहरूबाट बच्न सकिन्छ। हातलाई साबुन पानीले वा ७० प्रतिशत अल्कोहोल भएको द्रव्यले धुन सकिन्छ।

१६. नियमित रूपमा स्वास्थ्य जाँच गरौं

नियमित रूपमा स्वास्थ जाँच गर्ने गर्दा रोग लाग्नु भन्दा पहिलेनै हामी रोगबाट बच्न सक्छौ वा लागि हालेपनि बेलैमा रोगलाई नियन्त्रण गर्न सक्छौ। बेलैमा रोग पत्ता गलाउदा रोगको  उपचार राम्रो हुनसक्छ। यसर्थ आफू नजिकको स्वास्थ्य व्यावसायीसंग गएर नियमित रूपमा स्वास्थ्य जाँच गर्ने गरौ।

१७. चिनी हालिएका पेयहरूको सेवन नगरौं

चिनी वा चिनी जस्तै गुलिया पदार्थ हालिएको पेयहरू जस्तै, कोकाकोला, पेप्सिकोला, फन्टा, मिरिन्डा, ड्यू जस्ता कार्बोनेटेड पेय, रेडबुल, रेड टाईगर, एक्सएल, स्ट्राङ्गबुल, अर्ना जस्ता ईनर्जी पेय र पू्रmट जुसका नाममा बजारमा बेचिने रियल, एक्टिभ, ब्रस्ट, प्राण, रियो जस्ता पेयहरूमा प्रचूर मात्रमा चिनी हालिएको हुन्छ । एउटा २५० मि.लीको यी पेयहरूमा २५ देखि ३० ग्राम सम्म चिनी वा कर्नसिरप हालिएको हुन्छ भने चिनीका अलावा, अल्कोहल, सिट्रिक अम्ल, फस्फोरिक अम्ल, बिसोफिनोल ए, बेञ्जिन लागाएतका भारी धातु जस्ता अन्य थुप्रै खाद्यरक्षक वस्तुहरू मिलाईएको हुन्छ ।

यी पेयहरूको प्रतिदिन ५०० मि.ली. सेवन गर्नेहरूलाई ९९% आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले वयस्कमा हुने अव्याक्त मधुमेह हुने जोखिम रहन्छ भने २०% टायप–२ मधुमेह हुने खतरा बढेर जान्छ ।त्यसै गरि नियमित रूपमा यस्ता पेयहरूको सेवन गर्ने गर्दा मोटोपन, उच्चरक्तचाप, यूरीक एसिड बढ्ने समस्या, उच्च रक्त कोलेस्टेरोल, अस्टियोपोरोसिस, अस्टियोपिनिया, मृगौलाको पत्थरी, हड्डी खिइने,कब्जियत, अम्लपित्त, अजीर्णता ग्यास्ट्राईटिस, ग्यासट्रिक अल्सरपेट एवं आन्द्राको क्यान्सर, मानसिक तनाव, चिन्ता भय र उदासीनता, अनिद्राजस्ता समस्याहरूले पनि सताउने गर्दछ। यसर्थ यी पेयहरूको प्रयोग नगरेकै राम्रो हो।

१८. पर्याप्त सुतौं

हाम्रो शरीरलाई राम्रो भोजन र पर्याप्त व्यायाम चाहीय जस्तै प्रर्याप्त विश्रम पनि चाहिन्छ। विश्रामको सबैभन्दा प्राकृतिक विधि भनेको  निन्द्रा हो ।राम्रो संग नसुत्नेहरूको स्वास्थ्य पनि राम्रो रहन सक्दैन। यसर्थ स्वस्थ जीवनको लागि राम्ररी निदाउनुको विकल्प छैन। राम्ररी नसुत्नेहरूमा तौल बढ्ने, ईन्सुलिन प्रतिरोधकता बढ्ने, शारीरिक एवं मानसिक क्षमता घट्ने, मुटुरोग र मष्तिस्कघातको खतरा बढ्ने, टायप-२ मधुमेहको खतरा बढ्ने, प्रतिरक्षा प्रणाली कमजोर हुने, तनाव, चिन्ता, भय, उदासिनता र  नैरास्यता जस्ता मानसिक समस्याले सताउने, घाउ, खटिरा आईरहने, शरीरमा सूक्ष्म ईन्फ्लामेसन भईरहने र भावनात्मक रूपमा पनि नाजुक बन्दैजाने जस्ता समस्या देखा पर्दछ।

राती सुत्न जानु अधि तिब्र प्रकाश नहेर्नुहोस ।तिब्र प्रकाशले स्लीप हारमोन मेलाटोनिनको उत्पादन रोक्दछ। यसै गरि तनाव, चिन्ता, भय र उदासिनता जस्ता  मानसिक समस्या, निष्क्रिय जीवनशैलीले पनि निद्रा लाग्न दिदैन। यसर्थ स्वस्थ जीवन जीउन चाहने हर कसैले राम्रो संग सुत्ने कोशिस गर्नुपर्दछ।

१९. पेटका ब्याक्टेरियालाई महत्व दिऔं

हाम्रो पेटमा भएका ब्याक्टेरियाहरू जीवाणु भएपनि  सत्रु नभएर हाम्रो परम मीत्र हुन। यी ब्याक्टेरियाहरू लगभग एकहजार भन्दा धेरै प्रजातीका र चारसय खरबको हाराहारीमा छन्। संयूक्त रूपमा यीनीहरूको तौल लगभग १.५ देखि २ किलोग्राम सम्मको हुन्छ जुन हाम्रो मष्तिस्कको तौल बराबर हो।

यी ब्याक्टेरियाहरूले शिशुले पिएको दुध पचाउन मद्यत गर्ने, रेशा र चोकरलाई समेत पचाएर सर्ट-चेन-फ्याट्टी-एसिड उत्पादन गर्ने, प्रतिरक्षा र स्नायू प्रणालीलाई ससक्त पार्ने जस्ता अनेकौ क्रियाकलापहरू गर्ने गर्दछन्। पर्याप्त मात्रामा रेशा र चोकर उच्च भएका खानेकुरा खाएर,जस्ता अन्न, दाल, गेडागुडी, कन्दमुल, सागपात, फलफूल जस्ता विभिन्न प्रकारका खानेकुराहरू खाएर, दही, मोही, गुन्द्रक, सिन्की, खल्पी, साँवरक्रान्ट, केफीर, कोम्बुचा खाएर, चिनी, कर्न सिरप र कृतिम गुलीयो पदार्थ नखाएर, प्रोकायोटिक्स यूक्त खानेकुराहरू खाएर,नवजात शिशुलाइ दुई बर्ष सम्म आमाको दुध पिलाएर, खानेकुरालाई सकभर प्रशोधित नगरि खाने गरेर, शाकाहारी खानेकुरा खाएर, पोलीफीनोल यूक्त खानेकुरा खाएर,र जथाभावी एण्टिबायोटिक्सहरू नलिएर यी ब्याक्टेरियाहरूलाई स्वस्थ राख्न सक्छौ।

यी ब्याक्टेरियाहरूको स्वास्थ्य राम्रो रहन सके हाम्रो पेटको स्वास्थ्य, मुटुको स्वास्थ्य, स्नायूको स्वास्थ्य, प्रतिरक्षा प्रणालीको स्वास्थ्य, मधुमेह नियन्त्रण, तौल नियन्त्रण जस्ता अनेकौ फाईदा हुन्छ।

२०. पानी पिउन कन्जुस्याई नगरौ

पानीले हाम्रो शरीरमा ७० प्रतिशत हिस्सा ओगटेको छ। शरीरमा हुने अधिकांश जैव रसायनिक क्रियाहरू पानीको माध्यममा हुने गर्दछन अथवा पानी बिना यी क्रियाहरू हुन सम्धव छैन्। पर्याप्त मात्रामा पानी नपिउदा शरीर निर्जलताको शिकार हुन पुग्दछ र धेरै जैव रसायनिक क्रियाहरू हुन सक्दैनन र निर्जलताको कारणले हुने अक्सिडेटिभ स्ट्रेसको चपेटामा आउदछ। अक्सिडेटिभ स्ट्रेस भएपछि कोषहरू आफै मर्न थाल्दछन र क्षयकारक रोगहरूको उदय हुन्छ।

पर्याप्त मात्रामा पानी पिउनाले बोसो लाग्न नदिने उपापचयी क्रिया पश्चात जम्मा भएका विषाक्त तत्वहरुलाई निष्काशन गरी रक्त शुद्धिकरणमा सहयोग पु¥याउँने छालाको सौन्दर्यलाई जिवन्त राख्ने, माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्ने पाचन, अवशोषण र मल निष्काशनलाई सुचारू बनाउने जस्ता कार्यहरू गर्दछ।  तिख्रा लाग्नु भन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त, मृगौला तथा पित्तथैलीका पथ्थरी, मोटोपन, जोर्नी दुख्ने अपच अनिन्द्रा एसिडिटी, ग्याष्ट्रि, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डण्डिफोर, महिनावारीको गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बड्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ ।

२१. सम्बन्धहरूलाई जीवन्त राखौं

व्याक्ति व्याक्ति बिचको सम्बन्ध राम्रो नहुदा मान्छे मानसिक र भावनात्मक रूपले मात्र रोगी हुदैन अपितु शारीरिक एवं सामाजिक रूपले पनि कमजोर हुदैजान्छ। विभिन्न अनुशंधानहरूले दर्शाय अनुरूप पारिवारिक एवं साथीभाईहरू संग राम्रो सम्बन्ध भएका व्याक्तिहरू कमजोर सम्बन्ध भएका व्याक्तिका तुलनामा ज्यादा स्वस्थ र दीर्घजीवी भएको पाईएका छन। यसर्थ हमीले हाम्रो सम्बन्धहरूलाई जीवन्त राखिरहनुपर्ने हुन्छ।

डा. हेमराज कोइरालाकाे आलेख अनलाइन खबरबाट साभार

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार