• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

संक्षिप्तमा प्युठान जिल्लाः यस्ताे छ यहाँकाे इतिहास


प्युठान जिल्ला नेपालको लुम्बीनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा र दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला रहेका छन् । ७ गाउँपालिका र २ नगरपालिका रहेको प्युठान समुन्द्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्मको उचाईमा पर्दछ ।

नामाकरण

प्यूठान नामाकरणको उत्पतिबारे मतैक्यता पाईदैन । कर्कपेट्रीकले प्रार्थाना (पूरथाना) बाट अपभ्रंश हुदै प्यूठान भएको, हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथाना वाट प्युठान नाम रहन गएको र योगि नरहरिनाथले प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन । अर्थात – प्रतिष्ठाना-प्यूठाना-पिउठाना हुँदै प्यूठान नाम रहन रहन गएको  हो ।

पृथ्वीनारायण शाहले समय-समयमा लेखेको पत्रहरुमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाईन्छ । सुरक्षा संवन्धि शव्द- पिउठ बस्ने ठाना भएकोले पिउठाना बाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क आम रुपमा बलियो रहेको छ ।

जिल्लाको इतिहास

प्यूठान जिल्लाको भूमिमा सर्वप्रथम मगर जातिबाट वसोबास गरिएको कुरा यहाँको स्थानहरूको नामाकरणबाट बुझिन्छ। भिंगृ, सारी, कोचीवाङ. तोरवाङ, मर्कावाङ, खवाङ, स्याउलीवाङ आदी प्राचीन कालमा लिच्छवीहरूको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरूको अधिनमा १४ औँ शताब्दी सम्म रहयो ।

पाल्पाली राजा मुकुन्द सेनका समकालीन प्यूठानी राजा रुद्र सिंह पछि मोती चन्द्र प्रथम यहाँका राजा भए । यिनकी छोरी यशोदाको विवाह मुकुन्द सेन प्रथम का नाति कर्ण सेन सँग भएको बताइन्छ। मोति चन्द्र पश्चात रुद्र चन्द्र, गजेन्द्र चन्द्र, गजकेशरी चन्द्र भएको बुझिन्छ।

विक्रम संवत १७६० तिर पृथ्वीपति शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२मा राजा माणिक चन्द्रको ताम्रपत्र देखा पर्दछ। वि.सं. १८३५मा मोती चन्द्र द्वितिय प्यूठानका राजा थिए। खुग्री, भिंगृ, इष्मा र मुसिकोट प्यूठान का अनुयायी भएको कुरा अयामिल्टनले उल्लेख गरेको पाइन्छ।

मोती चन्द्र प्यूठानका अन्तिम भुरे राजा भएको कुरा १८४३ तिर नेपालको एकिकृत अभियानमा यहाँका राजा भागेबाट स्पष्ट हुन्छ। प्यूठानको सर गरी सकेपछि खुँग्री र उदयपुरका शासकहरू नेपाल नरेशको छत्रछायाँमा रजौटाको रूपमा रहे। खुग्री र उदयपुरका राजालाई राज्य रजौटाको ऐन २०१७ले आजीवन राजाको पदवी प्रदान गरेको थियो।

प्यूठान चौबिसे राज्य अन्तरगतको एउटा शक्तिशाली राज्य थियो। पृथ्वीनारायण शाहको नेपाल राज्यको स्थापना पश्चात पश्चिमको चौबिसे राज्यलाई नेपाल राज्यमा गाभ्नु अगाडि प्यूठानको मुख्य राज्य र राजाको रूपमा भित्रिकोटमा चन्द वंशीय राजालाई लिइन्छ।

प्यूठानलाई १४००० प्यूठान भन्ने चलन पनि थियो। प्यूठानलाई नेपाल राज्यमा गाभ्न पाल्पा राज्यको सन्धिले सहयोग गरेको देखिन्छ। हालको‍ सदरमुकाम खलङ्गालाई नेपाली फौजीले आफ्नो केन्द्र बनाएको कुरा देखिन आउछ। भित्रिकोटका अन्तिम राजा रुद‍ प्रताप चन्द हुन। नेपाली फौजीका प्रधान सेनापति काजी दामोदर पाण्डे , काजी जगजीत पाण्डे, तथा सरदार फौजी सिंह र वादल सिं थापाले नोभेम्वर १७८६ इश्वी सन ( कार्तिक १९, १८४३ वि. सं.)मा भित्रिकोट राज्यलाई नेपालमा मिलाएका थिए।

लडाइ सकिएपछि यस क्षेत्रको प्रशासनिक कार्यहरू मिलिसिया सैनीक प्रमुखबाट चलेको देखिन्छ हालको सदरमुकाम रहेको सम्पूर्ण क्षेत्र सेना नियन्त्रणमा थियो। खलङ्गामा मिलेसिया सैनिक आवास बाहेक पहिलो मन्दिर खलङ्गा ४ स्थित श्री रामेश्वर महादेवको मन्दिर हो। जंगबहादुर राणाका बाजे रामकृष्ण कुंवर मेगजिन स्थापनाको सिलसिलामा प्यूठान आउदा सन १७७१ मार्च २१मा प्यूठान मै मृत्यु भएको थियो।

रणजित कुंवरबाट नै महादेवको मन्दिर आफ्नो बुबाको सम्झनामा स्थापना गरेको देखिन्छ। पछि जंगबहादुर राणा श्री ३ भएपछि रणोद्धिप सिंहको आज्ञा अनुसार आफ्नो वाजेले प्यूठान खलङ्गामा बनाइ वक्सेको श्री रामेश्वर महादेव मन्दिरमा २ धार्नीको घण्ट चढाइ दिनु भन्ने हुकुम भए अनुसार तत्कालीन मेगजिनका कप्तान घोलक सिं वस्न्यातले वि.सं. १९२४ कार्तिक १४ रोज १मा चढाएको पाइन्छ।

त्यस्तै खलंगग ४ स्थित सम्बत १८६१मा बनेको अर्को घर पौवा हो। पछि हाल माल कार्यालय अगाडिको भिमसेनको मन्दिर बनेको देखिन आउँछ। मन्दिरको निमार्ण सम्बत १८८२मा भएको कुरा मन्दिरमा रहेको शिलापत्रमा उल्लेख छ ।

भिमसेनको मन्दिर संभवत: न्यायिक शक्तिको लागि, मिलियासको शक्तिको रूपमा स्थापना गरिएको अड्कतल गर्न सकिन्छ। श्री रामेश्वर महादेव मन्दिरको स्थापना संगै खलङ्गा ४ स्थित श्री गणेशको मन्दिर पनि रणजीत कुंवरले स्थापना गरेको देखिन्छ। उक्त गुठी पत्रमा उल्लेख भए अनुसार रणजीत कुंवरले रामेश्वर महादेव १, श्री दुर्गा ज्यू १ र श्री गणेश २ स्थापना गरेको पाइन्छ र राजा सुरेन्द्र विक्रम शाहबाट थप गुठी बक्सेको कुरा उल्लेख नभएकोले व्यारेकमा रहेको दुर्गा भगवती हो कि भन्ने कुरा आउछ। (हाल प्यूठान खलङ्गा गुल्ममा रहेको दुर्गा भगवतीको पूजा आजाको लागि दल कम्पनीबाट नै सामग्री खर्च प्राप्त हन्छ)।

साथै तुषारा प्यूठानमा रहेको गुठी जग्गाबाट तिरो प्राप्त हुने हुदा सोहि दुर्गा भगवति भएको कुरा देखिन आउछ। मन्दिरको पूजा (आजाको लागि प्यूठान मेगजिनका कृष्ण नेवारलाई सम्बत १८८२मा श्रावण ८ गते पुजारी तोकी बक्सेको लालमोहरमा उल्लेख गरेको पाइन्छ। संम्भबतः त्यस्तै बेला देखि खलङ्गा, प्यूठानमा नेवार जातीको बस्ती शुरु भएको तथ्य पनि अगाडि आँउछ। खलङ्गा ४मा रणजीत कुंवर मार्फत बनेको रानी पौवाको सञ्चालनको लागि सम्बत १८६१ भाद्र ३ रोज ६मा नब्बे मुरी खेत लालमोहर गरी बक्सेको छ।

प्यूठान खलङ्गा सामरिक महत्त्वको मात्र ठाउँ नभएर लडाइको लागि आवश्यक पर्ने वारुद, बन्दुक, तोप आदि बनाउने प्रमुख केन्द्रको रूपमा रहेको पाइन्छ। यहाँ दिनको १ नाल तयारी बन्दुक बनाउने मेगजिन थियो।

मेगजिन इ. १७८६ तिर बहादुर शाहले स्थापना गर्न लगाएका थिए। मेगजिनका प्रमुख मिस्त्री शिवलाल नकर्मी भक्तपुरका थिए। उनका पुस्तौनि मिस्त्री अम्बर प्रसाद नकर्मी समेत प्यूठान गौडा अन्तरगत रहेको मेगजिनमा २०१८ साल सम्म कार्यरत रहेको देखिन्छ। वि.सं.१८७१ देखि १८७३मा अंग्रेज नेपालको विचमा युद्ध हुंदा प्यूठानको फलाम प्रयोग गरी संगिन तोप वनाएको कुरा पाइन्छ। २०१६ साल सम्म हाल खलङ्गा प्यूठानमा रहेको व्यारेक क्षेत्रमा हजारौं मुरीको वारुदको भण्डार थियो।

त्यस्तै बिजुवार गा.वि.स. पुण्यखोलाको सैनिक क्षेत्रभित्र लगभग ५ हजार मुरी वारुदको भण्डार थियो। खलङ्गा प्यूठानको जिल्ला कार्यालय देखि प्रहरी कार्यालय सम्मको सबै माटो, कालो देखिनु वारुद तोप बनाउने कारणले हुन सक्छ। यहाँ प्रशस्त मात्रामा बन्दुक तथा पचासौं संख्यामा तोपको नाल थियो। वि.सं. १९१५ सालमा कप्तान धोलक सिं वस्न्यात मार्फत प्यूठान मेगजिनमा बनाएको १४६ धार्नीको बम अद्यापि खलङ्गा प्यूठान (व्यारेक)मा सुरक्षित छ।

यस प्रकार खलङ्गा प्यूठानमा पश्चिम विजयको लागि र अंग्रेजसंगको युद्धको निमित्त आवश्यक वारुद, शस्त्र निमार्णको केन्द्र र भण्डार समेत भएको स्पष्ट हुन्छ। प्यूठानको पश्चिमको विजयमा भवानी वक्स गुल्म, श्री नाथ, रामदल, नयाँ श्री नाथ आदि कम्पनीले लडाइमा भाग लिएको देखिन्छ।

मिलेसिया सैनीकले गुरुजुपल्टनको जस्तो कालो भोटो, सुरूवाल र कालोफेटा प्रयोग गरेको पाइन्छ युद्ध सामग्रीको निर्माण स्थल तथा भण्डार र मिलिसिया सैनिकको वसोवास मात्र रहेको खलङ्गामा प्यूठानमा लडाइ पछि अस्थायी रूपमा झुपडी बनाइ बन्द व्यापारको लागि आइ बसेको, नेवार जातिका महाजनहरूलाई अस्थायी घरलाई पक्की स्थायी घर बनाउन आवश्यक हुदैं गएपछि पक्की घर बनाइ बजार विस्तार गरी पाउँ भनी सम्बत १८९०मा काजी कीर्तिध्वज पाण्डे मार्फत र सम्बत १८९७मा सर्दार रणभद्र वस्न्यात मार्फत महाराजाधिराजमा जाहेर हुँदा अमालिबाट झिगटी ल्याइ आफू बस्ने घर पक्का बनाउन इजाजत प्राप्त भएको र सो बेला सबै काम मिलिसिया सैनिक प्रमुखबाट हुने गरेको देखिन्छ।

नेपालमा जंगबहादुर राणाको उदय पछि २००७ साल भन्दा अगाडि सम्म यो जिल्ला पाल्पाको कमाण्डीङ अन्तरगत पर्दथ्यो। त्यसै बेला जिल्लालाई प्रशासकीय रूपमा ६ थुनामा बांडीएको पाइन्छ।

 प्राकृतिक वनावट

धरातलीय हिसावले प्युठान राज्यलाई निम्न लिखित क्षेत्रमा वांड्न सकिन्छ ।

क­) लेकाली भाग
ख) पहाडी भाग
ग) बेंसी भाग

क) लेकाली भाग
यस भागमा स्याउलीवाङ्ग, कोठीलेक, तीनपुरे धुरी, स्वर्गद्धारी लेक, पूजाको लेक, पन्चासेको लेक जस्ता लेकहरु पर्दछन।  यो भाग सामान्यतया २१३४ मीटर भन्दा अग्लो, हिउँदमा निकै जाडो हुने हिंउ पर्ने तथा ग्रेनाईट ढुङ्गा, दर्शन ढुङ्गा आदि प्रशस्त पाईने गर्दछ ।

बसोबास कम भएता पनि यस क्षेत्रमा अधिकांश मगर बस्ती छन । अन्न उत्पादन पनि कम हुने यस क्षेत्रमा पशुपालनमा भैंडा बाख्रा चौंरी आदि पाल्ने गरिन्छ । अन्नमा आलु, मकै, फापर, कोदो, मात्र उत्पादन हुने यस क्षेत्रमा सल्लो गुराँस,  धुपी, खर्सु वांझ आदि विरुवा पाईन्छन ।

ख) पहाडी भाग
९१५ मीटर उचाई देखि २१३४ मीटर सम्मको भाग यसमा पर्दछ । घनावस्ती भएको यस भागमा मकै, गैंहु, धान, कोदो, आलु उत्पादन गरिन्छ ।

तुषारा, नारीकोट, लिवाङ्ग, खवाङ्ग, धुवाङ्ग, कोचिवाङ्ग आदि यस क्षेत्रमा पर्दछन । यस भेगको जंगलमा कटुस चांप, ओखर चिउरी, पिपल टिमुर , चिलाउने, साल आदिका रुख पाईन्छन । सवै किसिमका जात जातिका बसोबास यस क्षेत्रमा पाईन्छ ।

ग) बेंसी भाग
सामान्यतया ९१५ मीटर भन्दा होचो धर्मावती (झिम्रुक), माण्डवी , राप्ती र यिनका सहायक नदीका आसपासका समतल भु-भागहरु यस अन्तर्गत पर्दछन । यस क्षेत्रमा गर्मीमा बढी गर्मी र हिंउदमा न्यानो हावापानी कायम हुन्छ ।

जनघनत्व तथा उत्पादनको हिसावले महत्वपूर्ण यो भागमा वाग्दुला, पुण्डेखोला, विजुवार, क्वाडी, रातामाटा, खैरा, माडीखोला, झिम्रुकखोला, गुरीगाउँ, चिसवाङ्ग, पिडाल्ने, पाडावाङ्ग, देवीस्थान, वाङ्गेसाल, आदि घनाबस्ती भएका गाउँहरु पर्दछन ।

हावापानी

उत्तरीभाग हिमालको नजिक र उचाइ पनि धेरै भएको कारण ज्यादा जाडो हुने र दक्षिणी भाग भित्रीमधेशसँग जोडिएको र बेंशी भाग भएकोले चैत्र देखि जेठसम्म गर्मी हुन्छ । यहाँ लेकाली, समशितोष्ण र अर्ध-उष्ण हावापानी पाइन्छ ।

वाषिर्क रुपमा १४.८ देखि २४.१  ड्रिग्री सेल्सीयस तापक्रम पाइन्छ भने अधिराज्यको दक्षिण पूर्ववाट बहने दक्षिण-पश्चिमी मनसुनी वायुको प्रभावले यस जिल्लामा जेष्ठ देखि असोज सम्म धेरै वर्षा हुन्छ। यहाँ वाषिर्क वर्षा सरदर १३०० मीलीमीटर भएको पाइन्छ ।

नदीनालाहरू

यस जिल्लाको मुख्य नदीहरूको रूपमा भिमरुक र माण्डवी ( माडी ) रहेका छन। यी नदीहरूको सहायक नदीहरूमा भिमरुक अन्तर्गत लुङखोला, गर्तङखोला, चुदरी खोला, जुम्री खोला, काँतरे खोला, खप्रङ खोला, हरिया खोला, पतेरे खोला, छापे खोला आदी रहेका छन भने माण्डवी नदी अन्तरगत धनवाङ, अरुण, गोठीवाङ, वायखोला आदी सहायक खोला पर्दछन।

भिमरुक खोलामा धेरै फाँटहरू रहेका छन जस्तै विजुवार दाखा फाँट, वाग्दुला फाँट, चुनाफाँट, वरौला फाँट, मरन्ठाना फाँट, अर्गलीफाँट, चिसावाङ फाँट, रातटारी फाँट, गर्तङ फाँट आदी रहेका छन भने माण्डवीमा तुलनात्मक रूपमा अति नै कम फाँटहरू रहेका छन। चिदीबास फाँट, हंसपुर फाँट, माझीदमार भिग्रीफाँट आदी फाँटहरू रहेका छन।

धर्म एवं संस्कृति

यस जिल्लामा सवै धर्म मान्ने मानिसहरु भएता पनि हिन्दु धर्म यहांको प्रमुख धर्म हो । वहुसंख्यक मानिसहरु (९६ ) ले हिन्दु धर्म मान्ने हुनाले अन्य संस्कार तथा परम्पराहरु पनि हिन्दु धर्म अनुसारनै भए गरेका पाईन्छन् । २०५८ सालको जनगणना अनुसार यस जिल्लामा विभिन्न धर्म मान्ने मानिसहरु निम्न बमोजिम रहेका छन

पर्यटकीय स्थल

जिल्ला स्थित पर्यटकिय स्थलहरूमा स्वर्गद्धारी, एरावती, गौमुखी, मल्लरानी, भित्रीकोट, विजुलीकोट आदी स्थलहरू पर्यटकिय स्थलको रूपमा परिचित छन।

यातायात

पूर्व पश्चिम राजमार्गको भालुवाङवाट पूर्व उत्तर दरवान, वडडाँडा, चकचके, विजुवार, वाग्दुला हुदै सदरमुकाम खलङ्गा जाने ७२ किलोमीटर सडक वर्षभरी नै वस सञ्चालन हुने पक्की वाटोको रूपमा निर्माण भैसकेको छ।

चकचके देखि भिंग्री हुदै रोल्पा तर्फ वस सेवा सञ्चालन भएको छ। सहायक मार्गको रूपमा वाग्दुलावाट मच्ची गौमुखी हुदै गुल्मी जाने ४७ किलोमीटर सडक निर्माण भैरहेको छ भने वाग्दुलावाट दम्ति, वहाने हुदै स्याउलीवाङ सम्म जाने ४५ किलोमीटर सडकको निर्माण कार्य जारी छ।

त्यसरी नै खलङ्गा जोगीटारी देखि २१ किलोमीटर सडकलाई अर्घाखाँची जोडने सडक निर्माण भैसकेकोछ। चेरनेटावाट खैरा हुदै खलङ्गा जोडने १४ कि.मी. वाटो पनि करीव सम्पन्न भैसकेको छ र् चेरनेटा देखि बरौला सम्म १६ कि.मि.बाटो विकास जसले गर्दा झिमरुक बासीहरूलाई आवात जावात गर्न निकै सजिलो बनाएको छ ।

यस सडकले तिग्रा, धुमाङ, हर्नघाट, झिवाङ, पकला, टिकुरी बरौला हुदै अर्घाखाँची सम्म जोडिएको छ । जिल्ला स्थित अन्य वाटाहरूको पनि निर्माण कार्य भैरहेको छ।

 

श्राेतः विकिपिडिया, जिल्ला समन्वय समितिको कार्यालय प्यूठान र जिल्ला प्रशासन कार्यालय प्यूठानकाे वेबसाइट

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार