पुस २६, काठमाडौं ।
बंगलादेशमा आज सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा नेपाली एथलेट पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन्। उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्।
उनले भारतीय खेलाडीलाई ६ मिनेटले पछि पार्दै स्वर्ण जितेकी हुन्। उनले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन् । भारतीय खेलाडीले दोस्रो र तेस्रो स्थान हासिल गरे। दोस्रो हुने भारतीय खेलाडीले ३ घण्टा ५ मिनेटमा दौड पूरा गरेकी थिइन्।
प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको थियो। पुरुषतर्फ शीर्ष तीन स्थानमै भारतको वर्चस्व रह्यो। नेपालका किरणसिंह बोगटी चौथो स्थानमा रहे।
वोगटी र भण्डारी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए ।
सल्यानको शारदा नगरपालिका स्थित माल्नेटा घर भएकी पुष्पाले गत वर्ष नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक हात पारेकी थिईन् । यसपटक बंगलादेशमा स्वर्ण पदक हातपारेकी हुन् ।