• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

विप्लवकाे वार्ता टाेलीमा सरकारकाे अट्याक, वार्ता टाेलीकै सदस्य पक्राउ !


माघ १, काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै नेताहरु विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ।

बाँस्ताेला वार्ता टाेलीका सदस्य हुन् । सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताएकाे अन्नपुर्ण पाेष्टले समाचार लेखेकाे छ ।

अन्नपुर्णकाअनुसार ति नेताले भने, ‘सरकारका मानिसहरूसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए। वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्यीय टोली पनि गठन गरेका थियौं। तर, त्यसमध्येकै एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ । हामीले बनाएको वार्ता टोलीमा यी–यी नेता थिए भन्ने सरकारका मान्छेलाई कुनै न कुनै रूपमा सन्देश पुगिसकेको थियो।’

पार्टीभित्रको शक्ति क्षयीकरण, कोरोना महाव्याधीपछिको आर्थिक सामाजिक अवस्था, राजनीतिक संकटलगायतका कारण उक्त पार्टी  सरकारसँग वार्ता गर्न तयार देखिएको थियो। त्यसका लागि पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली उसले बनाएको थियो । उक्त टोलीमा सचिवालय सदस्य बाँस्तोला र केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो सदस्य चिरन पुन सदस्य थिए।

केन्द्रीय समिति बैठकले मंसिर तेस्रो साता वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय उसले गोप्य राख्दै आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूसँग अनौपचारिक सम्पर्कमा रही वार्ता टोली गठन गर्ने र सरकारले पनि वार्ता टोली गठन गरी प्रतिबन्ध फुकुवा गर्दै औपचारिक वार्तामा बोलाउनुपर्ने गरी विभिन्न स्तरका नेताले सन्देश पुर्‍याएका थिए। विगतका सम्पर्क सूत्रहरूका काम सफल हुन नसकेपछि नयाँ शिराबाट फेरि अनौपचारिक तहमा दुवै पक्षले छलफल अघि बढाएका थिए।

प्रधानमन्त्री ओलीनिकट मानिने नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेसँग पनि विप्लवका नेताहरूको अनौपचारिक संवाद बढेको थियो। तर, घिमिरेले अनौपचारिक तहमा विप्लवका नेतामार्फत आफूकहाँ वार्ताका लागि तयार रहेको सन्देश आए पनि ठोस रूपमा भने नआएको प्रतिक्रिया दिए।

‘उहाँहरूले वार्ताका लागि तयार भएको सन्देश मलाई पनि पठाउनुभएको थियो’, नेता घिमिरेले, ‘तर ठोस रूपमा केही प्रगति भएर आएको विषय थिएन।’ यसअघि ओली नेतृत्वको सरकारले नै समस्या समाधान गर्न सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति बनाएको थियो।

उक्त समितिले अन्य पक्षसँग वार्ता गरी गत वर्ष सरकारलाई प्रतिवेदन बुझाए पनि विप्लवको पार्टीसँग भने वार्ता गर्न सकेको थिएन। पाण्डेसँग विप्लवका नेताहरूले अनौपचारिक संवाद भने गरेका थिए। तर, त्यो फलदायी हुन सकेको थिएन। त्यसपछि भने ओलीनिकट नेताहरूसँगै सीधै विप्लवका नेताहरूको अनौपचारिक संवाद सुरु भएको थियो। त्यही क्रममा घिमिरेलगायत नेताको सम्पर्कमा विप्लवका नेता पुगेका थिए। पर्यटनमन्त्री भानुभक्त ढकाललगायतले पनि भेट गरेको विप्लवनिकट स्रोतले बताएको छ।

‘हामी वार्ताका लागि तयार भएर आएका छौं। सरकारले पनि वार्ता टोली बनाओस् भन्ने उहाँहरूको कुरा थियो। मन्त्री भइसकेका व्यक्तिको नेतृत्वमा हामी पनि वार्ता टोली बनाउँछौं, सरकारले पनि कुनै मन्त्रीकै नेतृत्वको वार्ता टोली बनाओस् भन्ने प्रस्ताव उहाँहरूको आइरहेकै छ’, विप्लवको सन्देश प्राप्त गरेका एक जना नेताले भने।

प्रधानमन्त्रीले विप्लवका नेताको सन्देश लिएर बालुवाटार पुग्ने नेताहरूलाई वार्ताकै माध्यमबाट समस्याको समाधान गर्नुपर्ने तर विप्लव पक्षको वार्ताको प्रस्ताव कत्तिको विश्वसनीय हो भन्नेमा भने चनाखो हुनुपर्ने बताउन थालेका छन्। ‘प्रधानमन्त्रीले वार्ताका लागि धेरै कुरा आएका छन्, यसलाई वार्ताको टेबुलमै ल्याएर समाधान खोजी गर्नुपर्छ, तपाईंहरू सहजीकरणको रूपमा काम गर्दै गर्नुस् भनिरहनुभएको छ’, प्रधानमन्त्रीनिकट एक स्रोतले भन्यो, ‘तर औपचारिक ढंगबाट भने के–कसरी जाने भन्ने बाँकी नै छ।’

कसरी पक्राउ परे बाँस्ताेला

राेताेपाटीकाअनुसार धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सहितका नेता ललितपुरको दक्षिण भागमा रहेको सुराक प्रहरीले पाएको थियो । बुधवार सादा पोशाकका प्रहरी नेताको रेकी गर्न दक्षिण ललितपुर पुगे । महानगरीय प्रहरी कार्यालयमा नेताको लोकेशन खुल्नासाथ अप्रेशन चलाउनेगरी अर्को टोली ‘स्ट्याण्डबाई’ राखिएको थियो ।

तर, रेकी गर्न गएकै टोलीको पञ्जामा परे धर्मेन्द्र बास्तोला । चारवटा मोटरसाईकलमा आएका थिए, विप्लव नेकपाका नेता कार्यकर्ता । प्रहरीले मोटरसाईलक राकेपछि दुईवटा मोटरसाईकलमा आएका नेता भागे । भाग्ने मध्येका एक नेता थिए, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ पछि दोस्रो बरियतामा रहेका प्रकाण्ड अप्रेशनको क्रममा ‘मिस’ भएर फुत्किएको अप्रेशनमा सहभागी एक प्रहरी अधिकारीले बताए । प्रकाण्डसँगै केन्द्रीय सदस्य चिरन पुन पनि प्रहरीको घेरा तोडेर भाग्न सफल भए । प्रहरीले घेरा हालेर रोकेको दुईवटा मोटरसाईकलमा सवार मध्येका विद्यार्थी नेता अनिल शाही पनि भागेका छन् ।

तेस्रो बरियताका धर्मेन्द्र बास्तोला सहित अन्य दुईजनालाई पक्रेर प्रहरीले काठमाडौं ल्याएको छ । पुरानो मुद्दाको रेकर्ड भएको प्रहरी कार्यालयमा राखेर धर्मेन्द्रमाथि थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकृतले बताए ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार