माघ ६, सल्यान ।
सल्यानकाे दार्मा गाउँपालिका वडा नम्बर ५ काे भवन बनाउनका लागि जग्गामा चलखेल गरेकाे भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेकाे छ ।
वडा कार्यालयले भवन बनाउनकाे लागि निशुल्क जग्गा दान गर्न भन्दै गत असार १० गते सुचना आह्वान गरेकाेमा परेका २ वटा फाइललाइ मुल्यांकनै नगरेर खारेज गरेकाे भन्दै जग्गा दान गर्न खाेजेका ३ जना दाताहरुले उजुरी दिएका हुन् । राजनीतिक पुर्वआग्रही र आर्थिक चलखेल गरेर जग्गा भएकाे प्रत्यक्ष ठाउँमा नआएर कार्यालयबाटै सिधै फाइल खारेज गरिदिएकाे उनिहरुकाे भनाइ छ ।
यसरी उजुरी दिनेहरुमा दार्मा ५ का धन बहादुर खत्री, गाेविन्द प्रसाद शर्मा र दिणेश बाबू सिंह रहेका छन् । उनिहरुले तत्काल याे विषयमा तथ्य सत्य छानबिन गरेर निती विधि र प्रकृया अनुसार काम गराउन जिल्ला प्रशासन कार्यालयलाइ आग्रह गरेका छन् ।
कसरी भयाे चलखेल
स्थानीयहरुकाअनुसार काेटेशनमा परेका २ वटा फाइलका जग्गा धनिलाइ जनप्रतिनिधिहरु रुचाउँदैनन् । वडा कार्यालयले निशुल्क जग्गा दान गरिदिन भन्दै २०७६ असाेज २९ गते २५ दिनकाे पहिलाे सुचना आह्वान गरेकाे थियाे ।
तर उक्त समयमा जग्गा दान गर्न कसैकाे काेटेशन नपरेपछि फेरि दास्राे पटक २०७६ पुस ८ गते वडा कार्यालयले सुचना जारी गरेकाे थियाे । त्याे समयमा पनि कसैले काेटेशनमा फारम भरेनन् ।
त्यसपछि तेस्राेपटक मिती २०७७ असार १० गते वडा कार्यालयले सुचना जारी गरेकाेमा तीन जना जग्गा धनीले काेटेशनमा फारम दिए । तर दार्मा गाउँपालिकाले ६ महिनापछि २०७७ पुस २ गते ति जग्गा मापदण्डमा नपरेकाे भन्दै अर्काे सुचना जारी गर्न वडालाइ पत्र काट्याे ।
प्रत्यक्ष जग्गा भएकाे स्थानमा नआएरै, अमिन नल्याएरै, प्रकृया नपुर्याएरै राजनीतिक पुर्वआग्रहीले आफ्नाे फाइल खारेज गरिदिएकाे तीन जना दाताहरुकाे भनाइ छ ।
अहिले गाउँपालिका र वडाका जनप्रतिनिधिहरु मिलेर निती र विधिमै नआएका अर्का स्थानीय एकजनालाइ आर्थिक प्रलाेभन देखाएर त्यहि वडा कार्यालयकाे भवन बनाउन खाेजेकाे उनिहरुकाे आराेप छ ।
प्रकृयामा नजाँदै जग्गा दातालाइ सम्मान
गाउँपालिकाले जग्गा दान गर्न खाेजेका ३ जनाका फाइल खारेज गरेपछि वडा कार्यालयले फेरि चाैथाे पटक निशुल्क जग्गा दान गर्न भन्दै २०७७ माघ ५ गते सुचना जारी गरेकाे छ ।
तर सुचना जारी हुनुभन्दा अगाडीनै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जग्गा दाता भन्दै स्थानीय एक परिवारलाइ सम्मान गरेका छन् । पुस २४ गते नेकपाकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले स्थानीय राम बहादुर हमाल र उनकी श्रीमती जिम कुमारी हमाललाइ जग्गा दाता भन्दै सम्मान गरेका हुन् ।
त्यसअगाडी पनि पुस ४ गते काँग्रेसले गरेकाे कार्यक्रममा काँग्रेस नेता धुर्वराज पुरीले जग्गा दाता भन्दै ती दुइजनालाइ सम्मान गरेका थिए । नेकपा र काँग्रेस दुइले अगाडी पछाडी फरकफरक दिन उनिहरुलाइ जग्गा दाता भन्दै सम्मान गरेका हुन् । कार्यक्रम पनि उनकै जग्गामा राखिएकाे थियाे ।
पहिला काँग्रेसले जग्गा धनि भन्दै सम्मान गरेपछि पछि फेरि साेहि ठाउँमा गाउँपालिका अध्यक्ष केसी सहित नेकपाकाे टिम गएर उनलाइ नेकपामा प्रवेश गराएर साेहि ठाउँमा वडाकाे भवन बनाउने भन्दै जग्गा धनिकाे रुपमा सम्मान गरेका हुन् ।