• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डको समर्थन


माघ ७, काठमाडाैं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो समर्थन रहने बताएका छन् ।

मंगलवार साँझ प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न सकिने बताए ।

अन्तर्वार्तामा उनले देउवालाई प्रधानमन्त्री बनाउन संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने शर्त समेत राखेका छन् ।

‘शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवाजी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने शर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ति छैन,’ अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डले हिजो आफूले नै सहमति गरेर देउवालाई प्रधानमन्त्री स्वीकारेको स्मरण गरे । ‘शेरबहादुरजी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो,’ उनले भने ।

अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्री पदमा आफ्नो दाबी नरहेको समेत स्पष्ट पारेका छन् । ‘नेकपाको संसदीय दलको नेता म पक्कै पनि हुँ तर यसको अर्थ म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन । प्रधानमन्त्री केपी ओलीले देशलाई डरलाग्दो संकटको भुमरीमा हाल्दिनुभा’छ । यसबाट बचाउनु छ । मुख्य काम संविधान बचाउने, प्रणाली बचाउने र जनताको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो । त्यसको निम्ति फेरि पनि प्रधानमन्त्री म दाबी गर्दिनँ मैले भनेको छु,’ उनले भने ।

हेर्नुहाेस् प्रचण्डले प्राइम टाइम टेलिभिजनलाई दिएकाे अन्तर्वार्ता

 

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार