• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गर्दै रवि लामिछानेले लेखे यस्ताे स्टाटस


माघ ७, काठमाडाैं ।

चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन् । उनी टेलिभिजनकाे कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।

पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरेका हुन् । भाेली प्रशारण हुने सिधाकुरा जनतासँगकाे कार्यक्रम सँगै न्युज २४ टेलिभिजनबाट आफु बाहिरिने उनले फेसबुकमा लेखेका छन् । उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्यूज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि  सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।’

आगामी योजना

लामिछाने नयाँ टिभी खाेल्ने याेजनामा रहेका छन् । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताए । ‘म मिडियाबाटै अलग्गिन खोजेको होइन । नयाँ योजनामा काम गरिरहेकाे छु’, लामिछानेले एक मिडियासँग भने, ‘अझ फराकिलो, परिमार्जित, प्रभावकारी कार्यक्रम लिएर छिट्टै आउने छु ।’

कुन टिभी, कुन कार्यक्रम भन्नेबारे चाँडै जानकारी गराउने उनले बताए ।  नागरिक सरोकारका विषयमा खरो प्रस्तुतिका कारण जनमानसमा उनी निकै रुचाइएका छन् । सिधा कुरा जनतासँग चलाउने क्रममा उनले तालीसँगै गाली र अवरोध पनि झेलेका थिए ।

खासगरी नेपाल छोडेर अमेरिका भासिन खोजेको आरोप र पहिलो श्रीमतीलाई डिभोर्स दिएको विषयमा उनले खुबै आलोचना खेप्नुपरेको थियो । यद्यपि, फरक प्रस्तुति र जनतासँग प्रत्यक्ष जाेडिएका समस्यामाथि रिपाेर्टिङका कारण उनी आमनागरिकले सर्वाधिक रुचाएका प्रस्तोता हुन् ।

टेलिभिजनमा मात्रै नभएर युट्युबमा पनि उनको कार्यक्रम नेपालको हकमा सर्वाधिक हेरिन्छ ।

लामिछाने भदौ २०७६ मा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउसमेत परेका थिए । उनी पक्राउ पर्दा उनका हजारौँ समर्थकले सडकमा प्रदर्शन गरेका थिए । तर, आत्महत्या दुरुत्साहन गरेको आरोप पुष्टि नभएपछि माघ २०७६ मा अदालतले उनलाई सफाइ दिएको थियो ।

लामिछाने टेलिभिजनका चर्चित मात्र नभई कीर्तिमानी प्रस्तोता पनि हुन् । उनले अप्रिल २०१३ मा न्युज २४ टेलिभिजनमार्फत निरन्तर ६० घण्टाभन्दा बढी समय अन्तर्वार्ता गरी विश्व कीर्तिमान् बनाएका थिए ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार