• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड-माधव समुहकाे जुलुसले अस्तव्यस्त भए काठमाडाैंका सडक, नागरिकलाइ सास्ती


माघ ९, काठमाडौं ।

उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण उपत्यकाका मुख्य स्थानको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

ट्राफिक व्यवस्थापन प्रभावित भएपछि सर्वसाधारणहरु हिँडेरै गन्तव्यतर्फ लागेका छन् । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।

कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।

भद्रकाली, सहिदगेट, एनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभा हुने भनिए पनि रत्नपार्कको मुख्य सडक नै बन्द गरेर सभाको तयारी गरिएको छ ।

यसअघि १२ पुसमा प्रचण्ड–माधव समूहले भृकुटीमण्डप अगाडिको सडकमा विरोधसभा गरेको थियो । आजको विरोधसभाका लागि अति व्यस्त रहने पुरानो बसपार्क–भद्रकाली सडकमै मञ्च बनाइएकाले सो सडकखण्डमा गाडी चलेका छैनन् ।

 

प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रवार