माघ ९, काठमाडाैं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा रुपमा प्रस्तुत भएका छन् । आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै नेपालले ओलीलाइ विभिन्न शब्द प्रहार गर्दै कडा रुपमा प्रस्तुत भए ।
ओली तानशाह हिटलरको बाटोमा हिडे
नेपालले प्रधानमन्त्री केपी ओली तानशाह हिटलरको बाटोमा हिडेको बताए । संविधानविपरित प्रतिनिधि सभा विघटन गरेर हिटलरको बाटोमा हिँडेको नेपालले बताए ।
उनले ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै उनको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताए ।
उनले हिटलर पनि चुनावबाट आएको र पछि तानाशाही लादेर युरोपमा तीन करोड मानिसको ज्यान गुमेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नामभित्र लुकेको खड्ग अहिले उनकै व्यवहारबाट साकार पारेको पनि बताएका छन्।
उनले भने, ‘उनले आफ्नो नामजस्तै संविधानमाथि खड्ग प्रहार गरेका छन्, लोकतन्त्रमाथि खड्ग प्रहार गरेका छन्, स्थायीत्वमाथि खड्ग प्रहार गरेका छन्, पार्टीमाथि खड्ग प्रहार गरेका छन्।’
ओलीलाई अरिंगाल र साइबर सेना मनपर्छ
ओलीसँग ५० वर्ष संगत गरेको बताएका नेपालले जहिले पनि हैरान पार्ने मानिसका रूपमा ओलीलाई चित्रण गरेका छन्। आफूलाई अप्ठ्यारो पर्दा ओलीले प्रतिनिधि सभा नै सिध्याइदिएको नेपालको भनाइ थियो।
ओलीलाई अरिंगाल र साइबर सेना मन पर्ने पनि उनले बताएका छन्। ओलीका साइबर सेनाले विशाल पार्टीसँग सामना गर्न नसक्ने पनि उनले बताएका छन् ।
उनले सातै प्रदेश, प्रवासी नेपाली र समग्र जनता ओलीको कदमविरुद्ध आन्दोलित भएको भन्दै ओलीसँग अरिंगालको गोलो र साइबर सेनामात्रै भएकाले विशाल पार्टीसँग लड्ने क्षमता उनीहरुमा नरहेको बताए ।
सूर्य चिह्न ल्याउने म ज्युँदै छु
नेपालले २०४८ सालमा सूर्य चुनाव चिह्न आफूले ल्याएको भन्दै सूर्य चिह्न आफूहरूले नै पाउने दाबी गरेका छन् । उनले प्रतिनिधि सभा पुनःस्थापना हुने र आफूहरूको पार्टी नै मूल पार्टी हुने दाबी गरे ।
नेपालले भने– ‘निर्वाचन आयोगमा गएर सूर्य चिह्न ल्याउने म ज्युँदै छु । सूर्यप्रति माया ममता कसैलाई छ भने हामीलाई छ, गणतन्त्रको मायाममता कसैलाई छ भने हामीलाई छ ।’ नेता नेपालले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै हालतमा नझुक्ने बताए ।
केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्
नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’
नेपालले ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसकेको बताए । अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताए । आफू भर्खर सुर्खेतबाट आएको भन्दै अध्यक्ष नेपालले भने, ‘उहाँले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद पुन:स्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ? मैले हाम्रा नेताहरुलाई सोध्न पाएको छैन ।’
‘केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्, केपी ओली सामूहिकतामा विश्वास गर्ने मान्छे होइनन्,’ उनले सभामा भने। ओलीको चर्को आलोचना गरेका नेपालले ओली ‘घरमा विवाद भए घरै भत्काउने, पार्टीमा समस्या भए पार्टी नै सक्ने, संसदमा समस्या भए संसद नै सिध्याउने’ प्रवृतिको मान्छे रहेको टिप्पणी गरे ।
ओलीलाइ केही समय जेल राखेर माफी दिन्छौँ
उनले केपी ओलीले संविधान विघटनको गल्ती सच्याएर माफी मागे माफी दिनेबारे विचार गरिने बताएका छन्। ‘कतै माफी मागेका छन् किन संसद विघटन गल्ती हो भनेका छन् कि समयमै सचिन्छु भनेका छन् कि भनेर बुझिरहेको छु। तर, हामी केपी ओलीले माफी मागे माफ गरिदिने र केही समय जेलमा राखेर भए पनि माफी दिन्छौँ’ उनले भने।
‘संविधानको धारा धाराको चर्चा गर्दै संविधानको उल्लंघन गरेको ओलीको कर्तुत सर्वोच्च मा गएर पोल खुल्यो’ उनले भने, ‘कम्युनिस्टले धोका त दिने होइन भन्दै आफूहरु विचारको लडाइँ गर्ने गरेका छन्। केपी ओलीले पार्टीका सिद्धान्त र पार्टीलाई कागजमा सीमित बनाए।’
प्रधानमन्त्री भ्रष्टाचारको दिशामा लागेको आरोप लगाए। ‘यो टुँडिखेलको सबै एरिया भरिएका छन् यसबाट के थाहा हुन्छ भने केपी ओलीविरुद्ध संघर्षको मैदानमा विरोध जनाउन भेला भयो’ उनले भने ।