माघ १०, सल्यान ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेकाे नेपाल बन्दकाे प्रभाव सल्यानमा सवारीसाधनमा देखिएकाे छ ।
बिहानैदेखि लामाे तथा छाेटाे दुरीका यात्रुबहाक गाडी पुर्ण रुपमा बन्द भएका छन् । सडकमा फाटफुट रुपमा माेटरसाइकल र साना गाडी देखिएपनि सडकहरु सुनसान देखिएका छन् ।
सवारी बन्द हुँदा गन्तव्यमा जान खाेजेका यात्रुहरु राेकिएका छन् । सल्यान, रुकुम तथा राेल्पा आवतजावत गर्ने राप्ती राजमार्गमा दैनिक हजाराैं संख्यामा सवारी ओहाेरदाेहाेर गर्ने गरेपनि बन्दले आज राजमार्ग सुनसान देखिएकाे छ ।
आज शनिबार भएकाे कारणले शैक्षिक संस्था, कार्यालय तथा बजारहरु भने स्वतह बन्द भएका छन् ।
विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाइ सरकारले पक्राउ गरेकाे भन्दै उक्त पार्टीले यसअघि विज्ञप्ती जारी गरेर नेपाल बन्दकाे आह्वान गरेकाे थियाे ।महासचिव विप्लवले ओली सरकारलाई दमन बन्द गर्न र गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न आग्रह गरेका छन् । उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने समेत बताएका छन् ।
विप्लवले विज्ञप्तीमा भनेका छन्, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’