• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

जनयुद्धको एउटा निशानी सल्यानको ‘गुराँसे गाउँ’


खकेन्द्र केसी

फागुन १, सल्यान ।

आज २६ औं जनयुद्ध दिवस । २०५२ साल फागुन १ गतेदेखि तत्कालिन माओवादीले सुरु गरेको सशस्त्र युद्धको स्मरणमा आजको दिनलाईहरुले जनयुद्ध दिवसको रुपमा मनाउने गर्दछन् ।

आजकै दिन २०५२ सालबाट सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते आएर बिस्तृत शान्ती सम्झौतामा आएर टुंगिएको थियो । १० वर्षभन्दा बढी चलेको जनयुद्धले देशभरी प्रभाव पारेको थियो । जसको सबैभन्दा बढी प्रभाव रोल्पा, रुकुम, सल्यान सँगै साविकको राप्ती अञ्चलमा परेको थियो ।

जनयुद्धको निशानामा परेको एउटा ठाउँ हो सल्यानको गुराँसे । हाल छत्रेश्वरी गाउँपालिका २ मा पर्ने गुराँसेमा भएको युद्धमा परेर ११ जनाले ज्यान गुमाएका थिए । जनयुद्धमा सल्यान जिल्ला भित्र भएको यो सबैभन्दा ठुलो युद्ध हो ।

२०५९ साल जेठ २९ गतेको दिन तत्कालिन माऔवादी लडाकु र सरकार पक्षका सेना बिच भएको लडाइले बुराँसे र झ्याममा गरी ११ जनाले ज्यान गुमाउनु परेको थियो भने केहि बेपत्ता भए । यहाँ करिब ५० भन्दा बढि घर गोठ जलेर खरानी भए ।

गोलीहरु अझै भेटिन्छन्

गुराँसेमा सशस्त्र द्वन्द्वको बेला प्रयोग भएका बन्दुकका गोलीहरु अहिले भेटिने गरेका छन् । धेरै जसो गोलीहरु खेतबारी जोत्दाखेरी भेटिने गरेको स्थानीयहरु बताउँछन् ।

द्वन्द्वका बेला सरकारी सेना पाँच दिनसम्म गाउँमा बङ्कर बनाएर बसेको थियो । त्यो बेला खच्चडमा ल्याइएका हतियार, गोलीगठ्ठा, बम गाउँकै खेतबरीमा राखेको स्थानीय ढाँकादेवी योगीले बताइन् ।

उतिबेला लुकाइएका लडाइँमा प्रयोग हुने वस्तु अहिले देखिने गरेको योगी बताउँछिन  । उनि भन्छीन – “सेनाले घरभित्रै एलएमजी फिट गरेर राख्यो, आँगनभरि बन्दुक, गोलीगठ्ठा फिजायो, अहिले पनि ती दिन सम्झिँदा आङै सिरिङ्ग हुन्छ ।”

गोली देख्दा बल्झिन्छन् पीडा

गुराँसेका पोखरराज कुँवर ‘सहिद’ परिवारका सदस्य हुन । उनले केही दिनअघि घर नजिकै बारी खनजोत गर्दा बन्दुकका ६ वटा गोलीका खोका भेटाए । यसले उनको मन नराम्ररी झस्कियो । पुरानै पीडाले मन फेरि पोल्न थाल्यो ।

सशस्त्र द्वन्द्व सकिएको एक दशक बिते पनि घर वरिपरि द्वन्द्वका अवशेष भेटिँदा उनीजस्तै द्वन्द्वपीडितलाई झन् पीडा हुने गरेको छ । अघिल्लो वर्ष पनि उनले बारीमा गोलीका खोका, गोली, सकेट बम भेटाएका थिए ।

‘तत्कालीन विद्रोही पक्ष र सेनाबीच भिडन्त हुँदा ढुंगाबाट उछिट्टिएर आएको गोलीले बुवाको मृत्यु भयो,’ उनले भने, ‘अहिले पनि बारीमा बन्दुकका गोली, खोका भेटिँदा त्यही दिनको झल्को आउँछ ।’

बारीमा भेटिने गोली त सामान्य भए । कतिपय व्यक्तिका शरीरमा अहिले पनि गोली र छर्रा छन् । यसले उनीहरूलाई हरपल पीडा दिइरहन्छ  ।

यही स्थानमा भिडन्तका क्रममा धेरै घर क्षति भए, दर्जन जतिले ज्यान गुमाए । त्यही भिडन्तबाट बच्न स्थानीय कमला कुँवरले तीन वर्षीया छोरीलाई च्यापेर भाग्न खोजिन् । तर, बन्दुकको छर्रा टाउकोमा लाग्यो । छोरीको खुट्टामा पनि छर्रा लाग्यो ।

उपचारपछि छोरीको खुट्टा सञ्चो भए पनि उनको भने टाउकोमा अझै छ । ‘छर्राले टाउकोमा पीडा दिइरहेको छ, झन् त्यसमाथि बेलाबेला खेतबारीमा गोली भेटिँदा झन् पीडा थपिन्छ,’ उनले भनिन्, ‘हाम्रो पीडा कहिले निको हुने हो थाहा छैन ।’

अहिले पनि कतै ठूलो आवाजमा केही पडकियो भने बम हो कि भन्ने त्रासले सताउने गरेको अर्का स्थानीय ललिता कुँवरले बताइन् । भिडन्तका बेला ज्यान बचाउन जंगलतिर गएपनि फर्किंदा घर ध्वस्त भएको घटनाले अहिले पनि पिरोल्ने गरेको उनको भनाइ छ ।

गुराँसेवासीलाई शान्ति प्रक्रियापछि भिडन्तको घटना होला भन्ने त लाग्दैन । तर खेतबारीमा काम गर्न भने डर लाग्छ । ‘बारीमा फलफूल, तरकारी, अन्न लगाएका छौं, बारम्बार खन्न गइरहनुपर्छ,’ उनले भनिन्, ‘कतै बम पड्किनेहो कि भनेर डर लागिरहन्छ ।’

२०५९ जेठ २९ गते भएको भिडन्तमा काठको ढोकाछेडेर आएको बन्दुकको गोली लागेरसँगै बसेका ससुराको मृत्यु भएको उनले बताइन् ।

अझै भएन नमुना गाउँ

२०६३ मंसिर ५ मा राज्य र माओवादीबीच शान्ति सम्झौता भएपछि पीडितलाई राहत र क्षतिपूर्ति दिने कार्यक्रम बने । त्यसअन्तर्गत ठूलो क्षति भोगेका गाउँमा ‘नमुना गाउँ बनाउने’ एउटा कार्यक्रम पनि थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले यसका लागि बजेट छुट्यायो ।

तर, डेढ दशक बितिसक्दा पनि गाउँले बजेट अनुसार उन्नति लिन सकेको छैन् । अहिले ‘नमुना गाउँ बनाउन’ छुट्याइएको बजेटबाट गरिएको भनिएका कामको कुनै अस्तित्व छैन ।

देखिने केही काम पनि नाम मात्रका छन् । यससम्बन्धी कागजात केलाउँदा र स्थानीयलाई भेटेर कुराकानी गर्दा थाहा हुन्छ– द्वन्द्वमा आफन्त र घरबास गुमाएका र घाइते भएका मानिसका लागि भनेर छुट्याइएको बजेटमा समेत कति घिनलाग्दो मनपरि भएको थियो ।

द्वन्द्वमा पिल्सिएको यो गाउँलाई शान्ति प्रक्रियापछि नमुना गाउँ बनाउने कार्यक्रम आयो । पटक–पटक गरेर झण्डै ३ करोड रुपैयाँ बजेट आयो । तर, त्यो बजेट मनपरी खर्च गरेर सकियो । त्यसबाट भएको कामको जानकारी र आधिकारिक विवरण कतै भेटिँदैन ।

२०६६/०६७ मा आएको ४२ लाखमध्ये ३५ लाख रुपैयाँ दमाचौर–मनीमारे सडक र ७ लाख जनता मावि गुराँसेको ४ कोठे भवन निर्माणमा खर्च गरिएको उपभोक्ता समितिका अध्यक्ष रहेका तत्कालीन माओवादीका सल्यान जिल्ला सदस्य चित्रबहादुर केसी बताउँछन् ।

त्यस्तै २०६७/०६८ मा एक करोड रुपैयाँ आयो, जसमध्ये २१ लाख सडक स्तरोन्नति र ७९ लाख कालाखेत–गुराँसे विद्युत् विस्तारमा खर्च भएको थियो ।

२०६८/०६९ मा आएको ६८ लाखमध्ये २५ लाख दहगाउँ, दहखोला, झ्याम, दमाचौर सिंदुरेमा विद्युत् विस्तार र ४३ लाख खानेपानी तथा सरसफाइमा खर्च गरियो । २०६९/०७० को ४० लाखमध्ये १० लाख वनस्पति विकास, २० लाख कृषि विकास र १० लाख सहिद पार्क निर्माणमा खर्च गरियो ।

कृषि र वनस्पति शीर्षकको बजेटबाट गाउँमा किवी, ओखर र स्याउका बिरुवा रोपिएको भनिए पनि अहिले केही पनि छैन । २०७०/०७१ मा आएको ४० लाखबाट सामुदायिक भवन निर्माण गरियो ।

गुराँसेका द्वन्द्वपीडित पोखराज योगीका भनाइमा गाउँमा नमुना बस्ती भन्नलायक केही छैन । ‘सडकमा गाडी चल्दैनन्, बिजुली बल्दैन,’ उनले भने । ‘पहिले नेताहरू पीडितलाई रोजगारी दिने, सीप सिकाउने र आत्मनिर्भर बनाउने कुरा गर्थे,’ अर्का पीडित निमबहादुर योगीले भने, ‘पछि तिनै नेताले बाटो र बिजुलीमा बजेट सकियो भने ।’

तत्कालिन समयमा सेना र माओवादीको भिडन्तमा जलेका र भत्केका घर ओत लाग्ने बनाउन गुराँसेवासीलाई एक वर्षभन्दा धेरै लागेको थियो । जसबेला धेरै मान्छे विस्तापित पनि हुन पुगे । ‘घरघरमा सेना पुगेर मान्छे खोजिरहन्थ्यो । कति महिलालाइ त जंगलमा लगेर बलात्कार गरेर मारे, धन्न हामी बाँचिम’, स्थानीय गौरीलाल ओलीले भने ।

‘त्यतिन्जेल कति दुःख भोग्नुपर्याे, भनिसाध्य छैन । गाउँभरि सबैका घर जलेका थिए, सहयोग कहाँ माग्नु ?,’ स्थानीय नन्दकला कुँवर योगीले भनिन्, ‘मागेर पनि कसले दिनू ?’ नन्दकलाको देब्रे आँखामाथि दुईवटा छर्रा थिए । एउटा फालिए पनि अर्को अझै शरीरमै छ । ‘बेलाबेला चक्कर लाग्छ,’ योगीले भनिन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार