• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

दिनेशले फेरि स्वीकारे अर्काे कुरा, बयानपछि प्रहरी जंगल पुग्याे


फागुन ६, बैतडी ।

प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बला’त्कारपछि ह’त्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बला’त्कारपछि घाँटी थिचेर ह’त्या गरेको बयान दिएका हुन् ।

४ फागुनमा पक्राउ परेका उनले भट्टको ह’त्या गरेको स्वीकार गरेका उनले बला’त्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बला’त्कारपछि ह’त्या भएको निष्कर्ष निकालेको थियो ।

भट्टले बला’त्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बला’त्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए । तर बिहीबार अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका परिवारका सदस्यसँग पनि भट्टले भागरथीको बला’त्कारपछि ह’त्या गरेको स्वीकार गरेका छन् ।

३० मिटर पर भेटियाे घडी

प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए ।

‘घटनास्थलमा मोबाइल मात्र बरामद भएको थियो, हामीले घडीबारे सोध्दा अलि माथि फालेको उनले सुनाए’, अनुसन्धान अधिकृत स्रोतले भन्यो, ‘त्यहाँ गएर हेर्दा घडी पनि भेटियो ।’

प्रहरीका अनुसार बयानमा ती किशोरले ह’त्या गर्नुअघि लछारपछार हुँदा भागरथीको घडी चुँडिएको र आफूले त्यो घडी फ्याँकेको बताए । सो बयानलगत्तै घटनास्थल लवलेक जंगलको बाटोमुनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाइएको थियो ।

टोलीले भागरथीको शव भेटिएको तीस मिटर टाढा घडी फेला पारेको सुदूरपश्चिम प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताए।

‘बयानका क्रममा उनले घडी चुँडिएको र फ्याँकेको बताएपछि जिल्ला प्रहरी कार्यालय वैतडीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाइएको थियो, टोलीले घटनास्थलबाट तीस मिटर टाढा घडी फेला पारेको छ,’ सिंहले भने।

सिंहका अनुसार सो घडी फेला परेपछि बयानमा संलग्न राखिएर थप अनुसन्धान थालिएको छ। सो घडीलाई प्रमाणका रुपमा राखिने त्यसलाई कानुनी रुपमा प्रयोगशालाको रिपोर्ट लिन पठाइने सिंहले बताए।

नाबालककाे तर्क

सिंहका अनुसार किशोर नाबालक (१८ वर्ष नपुगेको) तर्फको प्रमाण संकलन पनि जारी छ। ‘जघन्य अपराधमा नाबालक संलग्न हुन सक्दैनन् भनी केही पक्षबाट शंका व्यक्त भए हुने गरेका छन्, तर हाम्रो अनुसन्धानले नाबालक किशोरको संलग्नता पुष्टि गर्दै लगेको छ, यही प्रदेशमा भएका अन्य घटनामा पनि नाबालक छन्, त्यसकारण नाबालकले घटना गराउन सक्दैनन् भन्ने भनाइ तर्कयुक्त देखिएको छैन।’

सनातन धर्म माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव नाथका अनुसार भागरथीको बलात्कार हत्यामा संलग्न पक्राउ परेका किशोर माघ २१ गते स्कुलबाट शिक्षकलाई नसोधी भागेर घर गएका थिए।

उनी सो स्कुलमा गत पुसमा भर्ना भएका थिए। उनी स्कुलमा नियमित उपस्थित भएको २० दिनजति पुगेको थियो।  ‘कक्षा ११ मा १ सय ३१ विद्यार्थी छन्। धेरै विद्यार्थी संख्या भएकोले उनी कस्ता विद्यार्थी थिए भन्नेबारे हामीलाई थाहा भएन, छोटो समय भएकोले उनको बारेमा नजिकबाट बुझ्न पाएनौं,’ नाथले भने।

नाथका अनुसार कक्षा ११ को रजिष्ट्रेसन फारम भर्न बाँकी नै थियो । पक्राउ परेका किशोरले कक्षा १ देखि १० सम्म अध्ययन गरेको भूमिराज माध्यमिक विद्यालयका प्राधानाध्यापक प्रजापति भट्टका अनुसार युवकको जन्म मिति २०६१ फागुन १० गते छ।

‘स्कुल भर्ना हुँदा र एसइइमा भएको विवरणका आधारमा उनको उमेर १६ वर्ष रहेको छ,’ उनले भने, किशोरको उमेर १८ वर्ष नपुगेको कारण उनको नाम सार्वजनिक गरिएको छैन। प्रहरीले स्कुल र स्थानीय निकायबाट किशोरको आधिकारिक जन्ममिति पत्ता लगाउन खोजिरहेको एसएसपी सिंहले बताए।

‘जन्ममिति पत्ता लगाउन स्कुल र स्थानीय निकायलाई पत्र पठाइएको छ,’ सिंहले भने, ‘ती निकायबाट हामीलाई जानकारी आइपुगेको छैन।’  यो बीचमा उनको कसैसँग झगडा भएको अथवा उनले अपराध गरेको भन्ने केही सुनिएको थिएन ।

उनको पढाइ मध्यम खालको थियो । भागरथी र आरोपी किशोरको घर एउटै ठाउँ भएकोले उनी कहिलेकाहीँ  सँगै स्कुल आउने-जाने भने गर्थे । स्थानीयको भनाइ र किशोरको बयानबाट भागरथीको हत्या पारिवारिक ‘रिसिइबी’का कारण भएको प्रारम्भिक रुपमा खुलेको प्रहरीले बताएको छ ।

किशोर अहिले हिरासतमै रहेको एसएसपी सिंहले बताए। नाबालक भएको पुष्टि भएको खण्डमा भोलि अदालतले गर्ने निर्णयका आधारमा किशोरलाई सुधारगृहमा राखिन सक्ने सिंहले बताए । ‘नाबालक भएको पुष्टि हुन आएमा हामी हिरासतमा पनि बयस्क थुनुवासँगै राख्दैनौं, छुट्टै हिरासतमा राखिन्छ,’ सिंहले भने ।

परिवारले अझै बुझेन शव

यद्यपि परिवारले भागरथीको शव अझै बुझेको छैन । अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै काका लक्ष्मण भन्छन्, ‘हाम्रो मुख्य चिन्ता घटनाको सबुद प्रमाणहरु केही नहोस् भन्ने हो ।’

उनको शव जिल्ला अस्पताल, बैतडीमा छ । प्रहरीले भागरथीको भजाइनल स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । रिपोर्ट आउन नमूना प्रयोगशालामा पुगेदेखि कम्तिमा १५ दिन लाग्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा हराएकी थिइन् । साँझसम्म घर नफर्किएपछि खोजी थालिएको थियो, भोलिपल्ट अपराह्न उनको शव घर फर्किने बाटोमा सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार