• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ : ओली


फागुन ८, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब काँध हाल्न नसकिने टिप्पणी गरेका छन्। शनिबार नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने बताएका हुन् ।

प्रचण्ड खिइएर सकिन लागेको उनको भनाइ छ। उनले भने, ‘सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ। अलिकति सिङ हाल्दिएँ। पछि हामीलाई नै सिध्याउँछु भन्न थाल्नु भो। अब प्रचण्डलाई काँध हाल्न सकिन्न। राम भन्न मात्र सक्छौँ। उहाँ खिँइदै खिँइदै गएर सकिन लाग्नुभएको छ।’

प्रधानमन्त्री ओलीले अब प्रचण्डलाई झाँक्रीले बचाउन नसक्ने टिप्पणी गरे । उनले भने, ‘प्रचण्डजीको त मलाई यसो माया लाग्छ। पहिले उहाँसँग वैद्य थिए, उनले छाडे। त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे। अहिले झाँक्री लिनुभएको छ। अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन।’

ओलीले प्रचण्डको माया लागेर आउने बताएका छन् । उनले भने, ‘प्रचण्ड देख्दा मलाई माया लाग्छ। उहाँले पहिलो वैद्य लिनुभएको थियो। त्यसपछि डाक्टर लिनुभयो। अहिले झाँक्री लिनुभएको छ। तर, त्यसले उहाँलाई बचाउन सक्दैन।’

उनले प्रचण्ड–माधव पक्षलाई सभा कस्तो हुन्छ हेर्न विराटनगरमा हेर्न आउन आग्रह समेत गरेका छन्। ‘उहाँहरुले अस्ति अलिकति मान्छे थुपार्नुभएछ, मलाई सभा हेर्न आउनु भन्नुहुन्थ्यो’ उनले भने, ‘यहाँ हेर्नुहोस्। यहाँ मान्छे अट्दैन भनेर जनताहरु टिभीमा हेरि राख्नुभएको छ।’

केही मान्छेहरु पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन लागिरहेको बताए। उनले केही व्यक्तिहरुले पार्टी छाडेपछि सरकार र पार्टीको कामले गति लिएको बताए। सरकारले आफ्नो काम गर्न थालेपछि आत्तिएर नेपाल बन्द गरेका समेत ओलीको तर्क थियाे ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार