• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

गुरुयोजनाबिनै कुपिण्डे तालमा जथाभावी खर्च : अहिलेसम्म ४ कराेड सकियाे, फेरि ६ कराेड विनियाेजन


खकेन्द्र केसी

फागुन १०, सल्यान ।

सल्यानकाे प्रमुख पर्यटकीय स्थल कुपिण्डे तालमा गुरुयोजनाबिनै जथाभावी बजेट खर्च भइरहेको छ । कुपिण्डे तालको संरक्षणका लागि भन्दै गुरुयोजनाबिनै बजेट खर्च भइरहेको छ ।यसले ताल क्षेत्रमा थप जोखिम बढेको छ ।

ताल संरक्षणका लागि पछिल्लो १५ वर्षमा यहाँ झण्डै ४ करोड रुपैयाँ खर्च भए पनि प्रतिफल न्यून देखिएको छ । तत्कालिन पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, साविक जिविस, गाविस, सांसद विकास कोष र हाल स्थानीय नगरपालिकाले ताल संरक्षणका लागि बर्षेनी रकम विनियोजन गर्दै आइरहेका छन् ।

१५ वर्षको अवधिमा यहि तालको लागी ४ करोडौंभन्दा बढी लगानी भएको विभिन्न तथ्याङ्कले देखाएको छ । तालको नाममा १० बर्षअघि तत्कालिन भैरहवा पर्यटन बोर्डले १० लाखको घर निर्माण गरेको थियो ।

कर्णाली प्रदेश सरकारले होमस्टे सञ्चालन गर्न भन्दै अघिल्लाे वर्ष ४० लाख रुपैयाँ विनियोजन गरे पनि काम अझै सुरु हुन सकेको छैन् । अघिल्लाे बर्ष यस बर्ष बनगाड कुपिन्डे नगरपालिकाले ५०/५० लाख खर्च गरेर तालकाे माथीबाटै सडक खनेकाे थियाे । तालको माथीबाट सडक खन्दा त्यसबाट खसेको ढुंगामाटो र रुखका कारण ताल साँघुरिँदै गएको छ ।

कुपिण्डेकाे विकासका लागि साविक जिल्ला विकास समिति र पर्यटन बोर्डले पछिल्लो एक दशकमा झण्डै एक करोड रुपैयाँ खर्चिएका छन् । साविक भू–संरक्षण कार्यालयको ५० लाख र सांसद क्षेत्र विकास कोषको ४० लाख रुपैयाँ खर्च भएको कुपिन्डेमा संघीय सरकारले २५ लाख रुपैयाँ अनुदान दिएको थियो । प्रदेश सरकार र बन्गाडकुपिन्डे नगरपालिकाले पनि ४०/४० लाख रुपैयाँ खर्च गरिसकेका छन् ।

यसरी विभिन्न निकायले ताल संरक्षणका लागि वर्षेन न्यूनतम १० लाख रकम खर्च गर्ने गरेको भए पनि लामो समयदेखि त्यो रकम दुरुपयोग हुँदै आएको स्थानीयले बताएका छन् । जसले गर्दा अहिलेसम्म यो तालको नाममा ४ करोड सकिएको छ ।

सरकारी बजेटबाट निर्माण गरिएका अधिकांश संरचना अहिले भत्किएका छन् । केही निर्माणाधीन योजना अलपत्र छन् । अहिलेसम्म कुपिण्डेमा निर्माण गरिएका संरचनामा ३ वटा प्रतीक्षालय, एउटा ४ कोठे भवन, एउटा मन्दिर, प्रवेशद्वार र एक किलोमिटर सडकमा मात्रै सीमित देखिएकाे छ ।

एउटा प्रतीक्षालय र तालको छेउसम्म जान बनाइएको रेलिङसहितको सिँढी भत्किएको छ । ताल र आसपास क्षेत्रका लागि सडक, बाढीपहिरो रोकथामका लागि तटबन्ध, प्रतीक्षालय, आवासगृह, रिङरोड तथा भ्युटावर लगायतमा बर्षेनी रकम विनियोजन हुँदै आइरहेको छ ।

विभिन्न संस्थाको सहयोगमा निर्माण भएका धारा र शौचालयसमेत जीर्ण बनेका छन् । संरक्षणका लागि कुपिण्डे ताल संरक्षण समिति गठन गरिएको पनि आठ वर्ष भइसकेको छ । तर त्यसले पनि खासै प्रावकारी काम गर्न नसकेको स्थानीयहरु बताउँछन् ।

तालमा स्थानीय ११ जनाले २१ वटा डुंगा सञ्चालन गरेर पर्यटकलाई घुमाउने गरेका छन् । डुंगा सञ्चालक तिलक गोसाईका अनुसार फोहोर बढदै गएपछि ताल क्षेत्रको सौन्दर्य हराउँदै गएको छ ।

ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कँवरले ताल संरक्षण र विकासबारे गुरुयोजना तयार नभएकाले समस्या भएको बताए । उनले समितिसँग समन्वय नै नगरी विभिन्न निर्माणका काम गरिएकाले विनियोजित रकम दुरुपयोग भएको दाबी गरे ।

एकद्वार विधिबाट बजेट खर्च नहुँदा विकासका लागि आएको रकम सदुपयोग नभएको ताल संरक्षण समिति अध्यक्ष कुँवर बताउँछन् । ‘हामीले योजना बनाए पनि रकम अर्कै उपभोक्ता समितिको नाममा आउँथ्यो,’ उनले भने, ‘समितिबाटै काम भएको भए अहिलेसम्म खर्च भएको रकमले कुपिन्डेको मुहार फेरिन्थ्यो ।’

उनका अनुसार दैनिक करिब २ सय जना आन्तरिक पर्यटक कुपिन्डे ताल घुम्न आइरहेका छन् । कम्तीमा खाना र बासको उचित व्यवस्था मिलाउन सके मात्रै ताल पर्यटकको आकर्षणको केन्द्र बन्ने उनले दाबी गरे ।

फेरि ६ कराेड ८१ लाख बजेट विनियाेजन 

यसैबीच कुपिण्डे ताल संरक्षणका लागि याे वर्ष ६ कराेड ८१ लाख बजेट विनियाेजन भएको छ ।

संघीय सरकार पर्यटन मन्त्रालय अन्तर्गतबाट बनगाड कुपिण्डे नगरपालिका र नेपाल सरकार उक्त मन्त्रालयकाे साझेदारमा बजेट विनियाेजन भएकाे हाे । सडक स्तरउन्नति, शौचालय, खाेला नियन्त्रण, पार्किङ स्थल र मन्दिर निर्माण कार्यमा साे रकम खर्च गरिने बताइएकाे छ ।

काम संचालन गर्न प्राविधिक स्टेमेटको तयारी थालिएको इन्जिनियर महेश देवकोटाले जानकारी दिए । संरचनाका सबै काम पिसपिसमा हुनेछ्न । कुपिण्डे संरक्षणका लागि मागे अनुसारकाे प्रयाप्त वजेट बिनियोजन भएको र ताल सम्म पुग्ने सडक पिच गर्ने र पुरिँदै जान थालेको तालकाे संरक्षणमा बढि काम हुने नगर प्रमुख गाेविन्द कुमार पुनको भनाइ छ ।

अहिले वरपरका खाेलहरुबाट आएको वाढिले वर्षेनि ताल पुरिने चिन्ता बढेकाे उनले बताए। त्यसैगरी उक्त तालमाभरिएका ढुंगा, माटाे हटाउने र तालकाे स्वरुप समेत बढाउने नगर प्रमुख पुन को भनाइ छ । ताल किनार सम्म त्यसैका निम्ति सडक लगिएको उनले बताए ।

कुपिन्डेको विकासका लागि गुरुयोजना र कार्यविधि नबन्दा संरक्षणको काम प्रभावित बनेको पुनले बताए । उनले गुरुयोजना बनाउन पहल भइरहेको जनाए ।

अब के गर्न सकिन्छ तालको लागी

पहिलाे कुरा त यो तालको माथीबाट खनिएकाे सडक नखन्नु पर्ने कतिपयको बुझाई छ। जसले गर्दा सडकबाट झरेको माटो, ढंगा र बर्खामा ढलजित सबै तालमा गएर भरिन्छ ।

३० हेक्टर क्षेत्रफलमा फैलिएको कुपिन्डे तालकोे लम्बाइ १ हजार २ सय मिटर र चौडाइ २५० मिटर तथा गहिराइ ३३ मिटर छ । यो तालको पश्चिमतर्फ एउटा डाँडो छ । जहाँ सडकको सुविधा छ ।

त्यहि डाँडोसम्म मात्रै सडकको प्रयोग गर्ने र बाँकी तालको क्षेत्रमा पदमार्ग बनाउनु पर्ने देखिन्छ छ । ताल अवलाेकन गर्न आएका रनविर राणले भने– “यो तालको छेउमा सडक लिनुभन्दा पदमार्ग बनाए कति राम्रो हुन्थ्यो । पदमार्ग सँगै फुलहरुले सजवट गरे झन राम्राे देखिन्छ ।” पदमार्ग तालको चारैतिर बनाउनुपर्ने उनको बुझाई छ ।

त्यसको लागी छेउमा फलामका डण्डी राख्ने र त्यहिबाट सजिलै चारैतिर घुमेर ताल अवलोकन गर्न सकिने उनले बताए ।


ताल माथिबाट खनिएकाे सडक

त्यस्तै तालको बिच भागमा पुल, केबुलकार जस्ता ठुला योजना भए कुपिण्डेमा स्वर्गको आनन्द भेटिने ताल अवलोकन गर्न आएका दाङका झुपु क्षेत्रीले बताए । उनले भने– “यहाँका नेताहरुले पहल गर्ने हो भने यहाँ साचिच्कै स्वर्ग भेटिन्छ ।”

उनले बस्न तथा खानलाई होमस्टेक तथा होटलहरु बनाउनुपर्ने बताए । तालको पश्चिम तिरको डाँडोसम्म मात्रै फराकिलो सडक बनाएर सबै बस्ने, खाने होटलहरु त्यहि बनाए राम्रो हुने उनको बुझाई छ । बाँकी तालतिरको सबै भागमा पदमार्ग र आकृतीहरु ब्नाउन सकिने उनले बताए ।

त्यस्तै तालको पुर्वतिर ढुंगामाटोले पुरिएको भागलाई उकास्नुपर्ने सल्यान बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले यसअघि बताएका थिए । अघिल्लाे वर्ष जनप्रतिनिधीको बैठकका लागी कुपिण्डे पुगेका उनले भने–“म २० बर्ष अघि आउदा सय मिटर माथीसम्म ताल थियो । तर अहिले त्यो पुरिएछ, यस्तै हो भने हाम्रा नातिका पालासम्म यो सबै ताल पुरिन्छ ।”

उनले तालको वरिवरी सडक खनेर ताल सिध्याउन खोजेको बताए । ढुंगा माटोले पुरेको भागलाई उकासेर सबै कार्य पश्चिमतर्फको भागमा गर्नुपर्ने उनले बताए । त्यसको लागी तालमा आउने ढुंगामाटोलाई पनि रोकथाम गर्नुपर्ने उनको बुझाई छ । ताललाई व्यवस्थीत बनाउन बागचौर नगरपालिकाले पनि आर्थीक बजेट छुट्याउन सक्ने उनले बताएका थिए ।

बनगाड कुपिण्डे नगरप्रमुख गोविन्द कुमार पुनले सडक रहरले नभएर बाध्यताले खनेको बताए । उनले अर्काे गाउँमा जोड्नको लागी त्यहाँबाट सडक खन्नुपर्ने बाध्यता भएको बताए ।

उनले ताललाई पुरानै अवस्थामा फर्काउन ताल क्षेत्रमा थुप्रिएको गिट्टी, बालुवा अन्तै लिएर फाल्ने गरी सडक निर्माण गरिएको दाबी गरेका थिए । तर अहिलेसम्म उक्त काम थालनी भएकाे छैन् ।

संरक्षण अभावमा पुरिदै गरेकाे ताल

के छ त कुपिण्डे तालको आकर्षण

यो ताल आफैमा एक महत्वपुर्ण बिषेशता बोकेको ताल हो । यस तालले वर्षमा तीन पटकसम्म पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती, सल्यानी संस्कृतिको जनजीवनले सम्मोहित कुपिण्डे तालले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

तालको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि पुग्ने गर्छन् । ग्रामिण धार्मिक पर्यटकीय दृष्टिकोणले मात्र महत्व मानिँदै आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धान भने आजसम्म हुन सकेको छैन ।

कुपिण्डे तालको वरपर स्वच्छ वातावरण, वरपर पहाडी हरियाली जगंल र बीचमा नीलो आकाश झैँ पश्चिमतिर फैलिएको सुन्दर मनै लोभ्याउने दृश्य भएको कुपिण्डे ताल, यहाँ सल्यानका मात्र नभई विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेको संख्या आजभोली बढेको छ ।

डुङ्गा सयर गर्ने, मन्दीरमा पुजापाठ गर्न र मनोरम वातावरणमा पर्यटक रमाउने गर्दछन् । सदरमुकाम खंलगाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ । कुपिण्डे दह ७० मिटर गहिरो छ भन्ने गरिएपनि एकिन हुन सकेको छैन् ।


सडक नखन्दैकाे ताल

३० हेक्टर क्षेत्रफलमा फैलिएको कुपिन्डे तालकोे लम्बाइ १ हजार २ सय मिटर र चौडाइ २५० मिटर तथा गहिराइ ३३ मिटर छ ।  कुपिण्डे ताल समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ । तालकाे पश्चिमतिरकाे भाग भने अलि फराकिलाे छ ।

किम्बदन्ती अनुसार कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । गाउँमा एक दिन साधु भेषमा एकजना मानिस बासको खोजिमा गाउँमा आएछन् । धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनन् । निरासहुँदै एकजना वृद्धको घरमा उनी पुगेछन् । बासका लागि आफु आएको कुरा उनले सुनाए । घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नका लागि केह प्रबन्ध हुन नसक्ने बताए पनि साधु त्यही घरमा बस्ने अनुमति मागे ।

वृद्धको गरिबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन् । म कैलुवराह हुँ । अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छु । अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन, ‘त्यो पहाडसम्म जाऊ । हिँड्दा पछि फर्किएर नहेर्नु ।’ महिला पहाडतर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह भएछ ।

सल्यानको मुख्य पर्यटकीय सम्पदाको रूपमा रहेको कुपिण्डे ताल सदरमुकाम खंलगादेखि १४ किलो मिटर पश्चिममा पर्छ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिएको कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर पश्चिमतर्फ फैलिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार