• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङमा पानी भर्न कति दिन लाग्छ ?


फागुन १०, काठमाडौं ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न आज पानी हालिएको छ । खानेपानी मन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरे ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्न १५ देखि २० दिन लाग्ने अनुमान छ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार भने पानी छाडिने छैन ।

गत २९ असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । त्यसपछि पुनः सुरुङ परीक्षण थालिएको हो ।

परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटरको दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर पुनः परीक्षण गरिनेछ ।

केही समस्या देखिए त्यसलाई समाधान गरिने छ । यो सबै काम सकिएपछि फेरि पुरानै प्रक्रियाबाट नियमित रुपमा सुरुङमा पानी भर्न थालिने छ । यो पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । सबै अवस्था सामान्य हुँदा मेलम्चीको पानी मुख्य वितरण लाइनमा पठाउने काम थाल्न दुईदेखि तीन महिना लाग्ने अनुमान छ ।

ठेकदार र आयोजनाले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्यतालिका अनुसार काम भएमा २०७८ वैशाख २ गते (१५ अप्रिल २०२१) सम्म मेलम्ची आयोजनाको काम सकिनेछ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । काठमाडौं उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट दैनिक आठ करोड लिटर पानी मात्रै वितरण हुँदै आएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार