• २०७७ फाल्गुन १२ गते बुधवार
  • Preeti To Unicode

विप्लवसँग वार्ताको चर्चा चलिरहेकाे बेला नेता धर्मेन्द्र बाँस्तोला फेरि पक्राउ


फागुन १०, काठमाडाैं ।

सरकारसँग वार्ताको चर्चा चलिरहेकाे बीच विप्लव नेतृत्वकाे नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको छ । बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि अदालतकाे गेटबाटै पक्राउ गरेको हो ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बाँस्ताेलालाइ रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।

थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।

सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो । सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।

अब पनि यही विषयमा थुनामा राखे नेपालको संविधानको धारा १२८ (४) र न्याय परिषद ऐन, २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनामा कारबाही गर्ने चेतावनी पनि आदेशमा दिएको छ ।

तर सर्वोच्चले चेतावनीपूर्ण आदेश दिए पनि प्रहरीले बास्तोलालाई पुन: पक्राउ गरेको छ । उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिए । उनलाई आजै काभ्रे पठाउने तयारी भएको छ ।

पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार