फागुन १३, काठमाडाैं ।
प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताए।
सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ । यो अवधिमा बैठक बसेको भए उनीहरूले बैठक भत्ता र यातायात सुविधा पाउने थिए।
राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै आएका छन् ।