• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा छुट पुर्जी नभएको ७ हजार केजी जडिबुटी प्रहरी नियन्त्रणमा, दुईजना फरार


फागुन १५, सल्यान ।

छुट पुर्जी नभएकाे ७ हजार केजी जडीबुटी सल्यानमा प्रहरीले फेला पारेकाे छ । सल्यानकाे पश्चिम क्षेत्रमा रहेकाे व्यापारी केन्द्र सल्लीबजारमा जाजरकोटबाट जडिबुटी बाेकेर जाँदै गरेका दुई ट्रकमा खाेजतलासी गर्दा ७ हजार केजि बढिकाे ६ प्रकारका जडिबुटी फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

ना ४ ख ६४१३ नम्बर र ना ८ ख ५४३ नम्बरका दुई ट्रक नियन्त्रणमा लिइ अनुसन्धान गर्दा छुट पुर्जी नै नभएको जडिबुटी भेटिएको प्रहरीले जनाएकाे छ । छुट पुर्जी भएको कालाेकाठ, पदमचाल, वाेजाे जरा, पाखनवेद, लाेक्ता र टिमुर गरि ९ हजार ३ केजि रहेको छ भने छुट पुर्जी नै नभए सुक्दवाल (समायाे) विसफेद, अमला, काउलाे र तिताेकाे बोक्रा गरि ७ हजार ७ सय ५८.९८ केजि जडिबुटी रहेका छन् ।

यी जडीबुटी अवैध तरिकाले पैठारी हुन थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गाेविन्द थापाले बताए । छुट पुर्जी वेगरकाे सबै जडिबुटी इलाका वन कार्यालय सल्लीलाई जिम्मा दिइएकाे छ ।

मुचुल्लका बनाउँदै गर्दा दुइजना फरार

प्रहरीले मुचुल्का बनाउँदै गर्दा उक्त जडिबुटी व्यापारी राम प्रसाद चौलागाईं र अर्का ट्रक चालक गणेश विक फरार भएका छन् ।

नियन्त्रणमा लिइएका ट्रक चालक तुलाराम थापालाई भने जिल्ला प्रहरी हिरासतमा राखिएकाे छ । फरार रहेका अर्का ट्रक चालक विक र व्यापारी चौलागाईंकाे खाेजि कार्य जारि रहेको प्रहरीले जनाएकाे छ ।

सल्लीबजारभन्दा माथिल्लो सुर्खेत र जाजरकोटका चेक पाेइन्टहरुबाट निर्वाध रुपमा ती ट्रक सल्लीबजार आइपुगेका थिए । जाजरकाेटकाे विभिन्न ठाउँबाट उक्त जडीबुटी संकलन गरेर निकासीका लागि नेपालगंजतर्फ लिन लागिकाे बताइएकाे छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार