• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

प्रतिबन्धकाे दुई वर्षमा सल्यानमा विप्लवका ४० जना नेता-कार्यकर्ता पक्राउ, ३५ जना छुटे


फागुन २०, सल्यान ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको दुई वर्षमा सल्यानमा ४० जना उक्त पार्टीका नेता-कार्यकर्ताहरु पक्राउ परेका छन् ।

दुइ वर्षको अवधिमा सल्यानका विभिन्न स्थानबाट १ महिला र ३९ जना पुरुष गरि ४० जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । पक्राउ परेकामध्ये हाल ४ जना कारागारमा र एकजना प्रहरी हिरासतमा छन् भने बाँकी ३५ जना धराैटी र मुद्दा फैसला भइ छुटिसकेका छन् ।

साे पार्टीका जिल्ला सेक्रेटरी तुफानका अनुसार जिल्ला कमिटी सदस्य पदम बहादुर केसी, कालुराम बादी र भीम बहादुर रावतले जिल्ला कारागार सल्यानमा एक वर्षदेखि कैद सजाय भाेगिरहेका छन् । त्यस्तै, जिल्ला सदस्य नारायण वली पनि पक्राउ परेर दाङ कारागारमा कैद सजाय भाेगिरहेका छन् ।

हालै पक्राउ परेका लाल बहादुर बुढा ‘क्रान्ति’ भने अहिले जिल्ला प्रहरी कार्यालय सल्यानकाे प्रहरी हिरासतमा छन् । उनलाइ चन्न असुलीकाे मुद्दा चलाइएकाे र अबकाे केहिदिनमा अदालत पेश गर्ने तयारी भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले बताए ।

विप्लव नेतृत्वको नेकपामाथि सरकारले २०७५ फागुन २८ गतेबाट प्रतिबन्ध लगाएको थियो। हाल आएर बुधवार मात्रै सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको वार्तामा तीन बुँदे सहमति भएपछि प्रतिबन्ध हटाइएको छ ।

उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लवका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार