• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानका भूमिहीन सुकुम्बासीहरू भन्छन् ‘हामीलाई जग्गा देउ’


फागुन २३, सल्यान ।

सल्यानका भूमिहीन सुकुम्बासीहरूले आफुहरूलाई आवास तथा आयआर्जनको लागि जग्गा र लालपुर्जा उपलब्ध गराइदिन सरकारलाई अनुरोध गरेका छन ।शुक्रबार इन्सेक सल्यानले सदरमुकाम खलंगामा आयोजना गरेको आवासको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आफ्ना पिडाहरू दर्साउदै उनिहरूले यस्तो बताएका हुन ।

“जनता आवास कार्यक्रम अन्तरगत हाम्रो टोलमा १४ परिवारको लागि घर बनेको छ तर ५ परिवारको लागि घर बनाउन बाँकी छ ।” शारदा नगरपालिका २ खलंगा संगीत टोलका विश्वराम गन्दर्भले भने, ‘तर ती घरको हामी सँग लालपुर्जा छैन, ऐलानीमा छन ।” पुर्खेउली देखी नै संगित टोलमा बस्दै आएपनि जग्गा जमिन नहुदाँ समस्या भएको उनको भनाई छ ।

तस्बिरः शारदा नगरपालिका २ संगित टाेल

त्यस्तै शान्तिनगर की निर्मला बादीको पनि जनता आवास मार्फत निर्माण भएको बस्नलाई एउटा घर छ । तर जग्गा जमिनको नाममा एक टुक्रा पनि छैन् । ‘बस्नलाई घर मात्रै छ, तर खुर्सानीको बोट रोप्ने समेत ठाउँ छैन्’ उनले दुखेसो पोखिन् । जग्गा जमिन नहुदाँ जीवन निर्वाहको लागी अरुको भर पुर्नपर्ने बाध्यता रहेको उनले बताइन् ।

‘शान्तिनगरमा केही परिवारको घर निर्माण भएका छन्, तर जग्गा जमिन नहुदाँ समस्या भएको छ’ उनले भनिन् ‘हामी तरकारी खेती अथवा केही अन्नवाली खेती गर्न चाहान्छौँ, कुनै ब्यावसाय सञ्चालन गर्न चाहान्छौँ, तर जमिन छैन्, चाहाना हुदाँ पनि काम गर्न सकिन्न ।’ उनले जग्गा जमिन नभएकै कारणले जीवन निर्वाहको लागी पनि अरुको भर पर्नुपर्ने बाध्यता रहेको बताइन् ।

त्यसैगरी शारदा नगरपालिका १५ स्यालपानीकी बाला कुमारी बादीको जग्गा धनि लालपुर्जा छैन् । विगत ४० बर्ष देखी स्थायी रुपमा बस्दै आएपनि बस्नलाई एउटा घर छ तर न लालपुर्जा छ, न त जग्गा जमिन नै छ । यहाँ १० घरपरिवार बस्दै आएपनि ३ घरपरिवारको अझै सम्म बस्ने आवास नै छैन् ।

यी केही प्रतिनिधि घटना भएपनि सल्यान अन्य ठाउँमा पनि यस्ता समस्या धेरै रहेको बुझिएको छ । अहिले सल्यानमा रहेका सयौँ परिवार घर विहिन अवस्थामा रहेका छन् भने हजारौँ परिवार लालपुर्जा विहिन अवस्थामा रहेका छन् ।

यस्तो अबस्थामा जीवननिर्वाहमा समस्या भएको पिडित परिवारहरुको गुणासो रहेको छ । बर्षौ देखी आवास र जग्गाजमिन विहिन हुदाँ पनि सरकारी पक्षले उचित ब्यवस्थापन गर्न ढिलाई गरेको उनीहरुले बताएका छन् ।

लगत संकलनको काम सुरु भएकाे छः अध्यक्ष डाँगी

भुमी सम्वन्धि समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले भुमीहिन दलित तथा सुकुम्वासी र अब्यवस्थित रुपमा बसोवास गरेकाहरुलाई ब्यवस्थित गर्ने कार्यको थालनी भएको बताए । सोही अनुसार जिल्लाको बागचौर नगरपालिका र कालीमाटी गाउँपालिकामा लगत संकलनको काम सुरु भएको र क्रमशः सबै स्थानिय तहमा यस कार्यको थालनी गरिने उनको भनाई छ ।

सल्यान जिल्लाको सन्दर्भमा भूमिसम्बन्धी ऐन २०७६ को आठौं संसोधन बमोजिम आवास नहुनेलाई आवासको लागि ३४० बर्ग मिटर र खेतीपातीको लागि ३ हजार बर्ग मिटर जग्गा सरकारले उपलब्ध गराउने उनले बताए ।

उनले जिल्लामा रहेका आवास र जग्गाजमिन विहिनहरुको लागी आवास र खेतीयोग्य जमिन प्रदान गर्ने, आवास मात्रै भएकाहरुको लागी खेतीपाती गर्नको लागी जग्गाजमिन उपलब्ध गराउने र अब्यवस्थित रुपमा रहेको बसोवासलाई ब्यवस्थित गर्नको लागी जिल्लामा कार्यालय नै स्थापना गरेर कामको शुरुवात भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार