सल्यानमा पाँच वर्षसम्म १८ किलाेमिटर मात्रै नयाँ सडक कालाेपत्रे


खकेन्द्र केसी

फागुन २५, सल्यान ।

सल्यानमा बितेकाे ५ वर्षकाे अवधिमा १८ किलाेमिटर मात्रै नयाँ सडक कालाेपत्रे गरिएकाे छ । पछिल्लाे समय २०७२ यता राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तरगत खलंगा देखि सुर्खेत जाेड्ने सडक ज्यामिरेकाे स्कुलसम्म १८ किलाेमिटर मात्रै कालाेपत्रे गरेकाे तथ्य देखिन्छ ।

०७२ साल यता याे सडक बाहेक अरु कुनै नयाँ सडक कालाेपत्रे गरेकाे देखिदैन् । खलंगादेखि भेरी करिडाेरकाे बालुवासंग्रहीसम्म ३२ किलाेमिटर रहेकाे याे सडक २०७२ देखि ०७६ कार्तिकसम्म १८ किलाेमिटर कालाेपत्रे गरिएकाे प्राविधिक कार्यालय सल्यानका प्रमुख विनाेद पुनले लेकाली अनलाइनलाइ बताए ।

तस्बिरः खलंगा-बालुवासंग्रही सडकखण्ड

०७६ मा याे सडकखण्डकाे १८ किलाेमिटर कालाेपत्रे सकिएपछि त्यसयताकाे एक वर्षमा भने कुनै नयाँ सडक कालाेपत्रे भएकाे छैन् ।

१८ किलाेमिटरकाे उक्त सडक बाहेक ०७२ उता सल्यान जिल्ला भित्र राप्ती राजमार्ग, श्रीनगरदेखि खलंगासम्म ८ किलाेमिटर, बागचाैर देखि काेटमाैला जाेड्ने ४ किलाेमिटर, शारदा नगरपालिकाकाे दुलधारा पाेखरादेखि मार्केसम्म २ किलाेमिटर सडक मात्रै कालाेपत्रे गरिएका थिए । यसबाहेक सल्यान जिल्लाका अन्य सबै सडकहरु कच्चि छन् ।

कालाेपत्रे गरिएकाे राप्ती राजमार्ग भने अहिले जिर्ण अवस्थामा पुगेकाे छ । दाङ तुलसीपुरबाट रुकुमसम्म जाेडिने राप्ती राजमार्ग कालाेपत्रे म्किएर धुलाम्मे र हिलाम्मे हुने गर्दछ भने यात्रा गर्न अति कठिनाइ अवस्थाकाे छ ।

नयाँ चारवटा सडक कालाेपत्रेका लागि ६७ कराेड बिनियाेजन 

जिल्ला प्राविधिक कार्यालय सल्यानका प्रमुख विनाेद पुनकाअनुसार सल्यानमा अब चारवटा सडक खण्ड कालाेपत्रे गरिने भएकाे छ ।

थारमारे-चाैरजहारी सडकखण्ड अन्तरगतकाे १४ किलाेमिटर सडक कालाेपत्रे गरिने र त्यसकाे लागि सबै प्रकृया पुरा भएर काम थालनी भएकाे उनले बताए । यहाँ १०/१० कराेडका दुइवटा प्याकेजमा काम भएकाे उनले लेकाली अनलाइनलाइ बताए ।

त्यस्तै, खलंगा-बालुवासंग्रही सडकखण्डकाे १३ किलाेमिटर सडक कालाेपत्रे गर्न एउटा २२ कराेड र अर्काे ४ कराेडकाे प्याकेजमा काम सुरु भएकाे उनले बताए ।

बनगाड कुपिण्डे नगरपालिकाकाे नाथेकाेला-चिउँरा सडकखण्डकाे २ किलाेमिटर कालाेपत्रेका लागि ४ कराेड बजेट विनियाेजन भएकाे र काम प्रकृयामा भएकाे प्राविधिक प्रमुख पुनकाे भनाइ छ ।

उता कपुरकाेट गाउँपालिकाकाे साेलाबाङ-रिम सडकखण्डकाे ५ किलाेमिटर कालाेपत्रे गर्न १७ कराेड बजेट विनियाेजन भएकाे र ठेक्का प्रकृयामा गइ मुल्याङ्कनमा रहेकाे छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार