• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

एमाले सुदूरपश्चिममा भिम रावल कि लेखराज भट्टकाे ‘नेम प्लेट’ राख्ने भन्नेमा कुटाकुट


फागुन २६, धनगढी ।

कैलालीमा एमाले भित्रका दुई समूहबीच झडप भएको छ। सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा एमालेका ओली समूह र माधव समूहका कार्यकर्ताबीच झडप भएको हो।

बुधबार बिहान पार्टी कार्यालयमा माधवकुमार नेपाल समूहले नेकपा एमाले लेखिएको बोर्ड राखेको थियो। तर, केही समयपछि केपी शर्मा ओलीका कार्यकर्ताले उक्त बोर्ड हटाए। उक्त बोर्ड हटाउँदै ओली समूहका कार्यकर्ताहरुले आफ्नो बोर्ड राखे।

बोर्डसँगै प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताले ‘नेम प्लेट’लाई तोडफोड गरेका थिए। तोडफोडपछि विवाद उत्पन्न भएको थियो। उनीहरूले नेकपा एमाले सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेटसमेत हटाए।

यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिए। विवाद बढ्दै गएपछि ओली र नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।

सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपा एमाले र नेकपा माओवादी ब्यूँताइदिएपछि दुई फरक–फरक पार्टी बनेका छन्। दुई फरक–फरक पार्टी बनेसँगै केन्द्रदेखि जिल्ला र प्रदेशहरुमा बोर्ड राख्ने र कार्यालय स्थापना गर्ने क्रम चलिरहेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार