• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, शीतल निवासदेखि विमानस्थलसम्म सडक खाली


चैत ९, काठमाडाैं ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छन् । नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बिहान साढे ८ बजे बंगलादेश प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको सवारीका कारण शीतल निवासदेखि त्रिभुवन विमानस्थलसम्मका विभिन्न रुटमा गाडी डाइभर्सन गरिएको थियाे ।

ट्राफिक प्रहरीकाअनुसार शीतल निवास, महाराजगञ्ज, लैनचौर, सिनामंगल, रातोपुल, गौशाला लगायत क्षेत्रमा गाडीको आवागमन रोकिएको हाे । उनको राजकीय भ्रमण भएकाले सवारी पर्ने रुटमा कुनै पनि गाडीलाई चल्न नदिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका गएकी हुन् । उनलाई ढाकामा बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रले स्वागत गर्नुछन् ।

राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । आजै राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ ।

त्यस्तै प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेललगायत ५४ जना रहेका छन् ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा मुख्य तीन वटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केहि विषय, पशुपन्क्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बङ्गलादेश यातायात सञ्चालनका विषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

यस्तै बङ्गलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका शिलशिलामा छलफल हुने मन्त्री गुरुङले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार