• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

नेतृत्व तहमा महिलाको अवस्था हेर्ने हो भने शुन्यप्रायको अवस्था छ


मिना बुढाथाेकी

मिना बुढाथाेकी

नेपालभरीका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनका लागी केन्द्र, प्रदेश र जिल्ला तहहरुमा यही चैत्र २५ गते नयाँ निर्वाचन हुदैछ । प्रतिनिधित्वका आधारमा महासंघको विधानले महासंघको केन्द्रमा उपाध्यक्ष १, सचिव १ र सदस्य ४ तथा प्रदेश र शाखामा उपाध्यक्ष १ र सदस्य १ जना महिलाको लागी आरक्षित गरेको छ ।

महिलाको कमसेकम प्रतिनिधित्वका लागी गरेको व्यवस्था हो यो । यो बाहेक महासंघका सदस्य महिलाहरु सवै पदमा स्वतन्त्र तरिकाले उम्मेदवार बन्न पाउछन् । प्रतिनिधित्वको हिसावले विधानतहः व्यवस्था भएको भएपनि आरक्षित ठाउँ बाहेक नेतृत्वदायी भूमिकामा भने महिलाहरु कमै मात्र देख्न पाइन्छ । यस्तो अवस्थामा महिला सशक्तिकरणका कुरा गरेर कहिल्यै नथाक्नेहरुले समेत नेतृत्वमा महिलाको कुरा गर्दा नाक खुम्च्याउने गरेको कुरा नौलो होइन ।

एउटा सानो उदाहरण हेरौँ । पछिल्लो तथ्यांक अनुसार सल्यान जिल्लामा दर्जन बढि अनलाइन, आधा दर्जन एफएम रेडियो तथा एउटा दैनिक पत्रिका छन् । त्यस बाहेक झण्डै एक दर्जन संचारमाध्यमका सम्वाददाता जिल्लामा क्रियाशिल छन् । नेपाल पत्रकार महासंघ सल्यानमा आवद्ध ९२ जना सदस्यहरु मध्ये १७ प्रतिशत महिलाहरु सदस्यको रुपमा रहेका छन भने ति मध्ये क्रियाशील करिव ७ जना जति मात्रै छन् ।

नेतृत्व तहमा महिलाको अवस्था हेर्ने हो भने शुन्यप्रायको अवस्था छ । यो त एउटा उदाहरण मात्र हो । नेतृत्व तहमा महिला नहुनु, सञ्चार माध्यमसँग महिला पत्रकारको टिकाउको लागी उचित रणनिति नहुनु, महासंघ आफैसँग महिला पत्रकारको अवस्था सुधारको लागी ठोस योजना नहुनु तथा महिला सशक्तिकरणको मुद्धा कमजोर हुदा नेतृत्वको त परको कुरा प्रतिनिधित्वको लागी समेत लड्नुपर्ने अवस्था छ ।

पत्रकारितामा राजनीतिको प्रत्यक्ष प्रभाव, श्रमजीवी पत्रकारको भूमिका स्पष्ट नहुनु, पत्रकार स्वयं पेशाप्रति इमान्दार बन्न नसक्नु जस्ता थुप्रै चुनौतीहरु छन् ।

यसमा पनि महिला पत्रकारका अरु बढी समस्याहरु रहेका छन्, जसमा पत्रकारिता क्षेत्रमा महिलामैत्री वातावरण नहुनु, जिम्मेवारी विभाजनमा विभेद हुनु, निर्णायक तहमा महिलाको न्यून उपस्थिति हुनु, आर्थिक तथा सामाजिक स्वतन्त्रताको कमी, पेशागत तथा सामाजिक सुरक्षाको ग्यारेण्टी नहुनु, विवाहपश्चात कार्यरत ठाउँबाट अन्यत्र जानुपर्ने वाध्यता, सञ्चार क्षेत्रमा काम गर्ने महिलाको अधिकारसम्बन्धी विशेष सञ्चार नीति र आचारसंहिताको अभाव, सञ्चार क्षेत्रका आधुनिक प्रविधिको पर्याप्त ज्ञान तथा आधारभूत साधनको अभाव आदि महिला पत्रकारहरुका चुनौती रहेका छन् ।

पत्रकारितामा यि सवै समस्या सँग झेल्दै अगाडि बढ्दा समेत जिम्मेवार तहबाट खुट्टा तान्ने र सहयोगको साटो नाक खुम्च्याउने प्रवृति देखिन्छ ।

अरु समयमा खास बहसमा नआएको भएपनि चुनावको वेलामा महिला सशक्तिकरण देखि महिला पत्रकारको अवस्था सुधारका कुरा खुवै उठ्छन् । पत्रकारिता क्षेत्रको नेतृत्व गर्न अब को आउँछ भनेर सबैको चासोको विषय पनि बनेको छ । सबैले आ आफ्नाे ठाउँमा नेतृत्वका लागी तछाड मछाड गरी रहेको देखिन्छ । देशभरका शाखाहरुको चर्चा हेर्ने हो भने पनि अधिकाँश पुरुषहरु नै नेतृत्वको जिम्मा लिन्छौ भनेर कस्सिएका छन् भने यो भिडमा थोर मात्र महिला पत्रकारहरुले नेतृत्वका लागी उम्मेदवार बन्न तयारी थालेको देखिन्छ ।

कर्णालीका १० जिल्लाको शाखा अध्यक्षको लागि ४४ जना आकांक्षी मध्ये २ जना मात्रै महिला छन् । महिला नेतृत्वका लागी विधान अनुसार बाध्यात्मक अवस्था बाहेक लागी खासै पहल भएको देखिदैन । नेतृत्व तहमा महिलाको कुरा गर्दा महिला सशक्तिकरणको कुरालाई एकपटक केलाउनु जरुरी हुन्छ । महिला सशक्तिकरणका लागि आम आचरण र सामाजिक प्रतिबन्ध महत्वपूर्ण पाटो हो । महिलाप्रति पूर्वाग्रह राख्ने, विभेद गर्ने र महिलालाई दोषी देखाउने सामाजिक नियम महिला सशक्तिकरणका वाधक हुन् । त्यसकारण महिला सशक्तिकरण फराकिलो रुपमा हेर्न जरुरी छ ।

विद्रोह महिला सशक्तिकरणका लागि निकै महत्वपूर्ण चरण हो । हामी के होइनौं भन्ने विद्रोहले के हौं भन्ने नयाँ बहसको सुरूआत गर्छ । जसले महिला सशक्तिकरणलाई नयाँ स्वरूपमा परिभाषित गर्न दिशानिर्देश गर्छ । हरेक ठाउँमा सशक्त महिला को हो भन्ने उदाहरण निर्धारण गर्न सकियो भने महिलालाई पुरुषसँग तुलना गर्ने परम्परा अन्त्य गर्न सकिन्छ ।

यसले महिलाहरूको व्यक्तित्व विकास हुनुका साथै नेतृत्व सीप विकास हुन्छ, आत्मसम्मान र आत्मविश्वास बढ्छ । राजनीतिक, आर्थिक र सामाजिक सशक्तिकरणको तहमा समेत वृद्धि हुन्छ । ऐन, नियम निर्माण तथा निर्णय प्रक्रियामा महिलाको उल्लेख्य उपस्थिति हुँदा महिलामैत्री ऐन–नियमहरू बन्ने सम्भावना हुन्छ । यसले समाजमा सारभूत रूपमा समानताको अनुभूति गर्न सकिने वातावरण सिर्जना गर्छ ।

त्यसैले अहिले अब सबैले सोच्ने बेला भएको छ । समावेशिता र महिला नेतृत्वको कुरा मात्रै होइन व्यवहारिक कार्यान्वयनको लागी सवै लाग्नुपर्ने बेला भएको छ । महिलाहरु सधै सहायक पदमा बस्नुपर्छ भनेर कहिल्यै महिला नृतृत्व विकास गर्न सकिदैन ।

पत्रकारितामा महिलाको नेतृत्वले खास महिला अधिकारका मुद्दा उठान गर्न केही न केही सहयोग पुग्छ । यो भनेको पुरुष सरह महिला पनि सक्षम छन् भनेर देखाउने अवसर हो भने कुशल महिला नेतृत्व मार्फत महिला पत्रकारको सशक्तिकरणमा सकारात्मक प्रभाव पर्नेकुरामा दुई मत छैन । यदि महासंघको नेतृत्वमा महिला नेतृत्व आउन सकेको खण्डमा त्यो महासंघको लागी समेत गौरवको विषय बन्छ । जहाँ चुनौति हुदैन त्यहाँ अवसर पनि हुदैन । महिलाहरुको नेतृत्वमा चुनौती देख्नेहरुका लागी चुनौतीलाई अवसरमा बदलेर महिला नेतृत्व स्थापित गर्ने ठुलो अवसर हो ।

हाम्रो पेशा नै अरुको अधिकारको लागी लड्ने हो तर पत्रकारिता मार्फत अरुको लागी लड्दा लड्दै र क्षमता हुदाहुदै पनि पितृसत्तात्मक सोचको सिकार हुनुहुदैन । महिलाहरु क्षमतावान छैनन् भन्नु नै संकिर्ण सोचको चरम उदाहरण हो । महिला नेतृत्व स्थापनाको ऐतिहासिक पहल कदमि लिन सम्वन्धित सवैले पहल गरौँ ।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार