• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

बहस प्रणालीको कि पात्रको ?


असल क्षेत्री

असल क्षेत्री

आज नेपालको राजनीतिक वृत्तमा र विश्वभर पनि जबरजस्त एउटा बहस जोततोडले चलिरहेको छ, राज्य संचालनको समस्या प्रणलीको कि पात्रको भनेर ! कोही पात्र नै बेठीक भएकोले आजको समस्या आएको भन्दछन् भने कोही यो प्रणाली नै आजको विकसित समाज र परिस्थितिअनुकूल नरहेको तर्क गरिरहेका छन् ।

हुन त यो बहस आज नै चलेको भने हैन, विगत लामो समयदेखि चल्दै आएको छ । तर अहिले यो बहसको भोलुम अलि धेरै ठूलो बनेको चाहिँ सत्य नै हो र एउटा संश्लेषण गर्नेगरी हाल नयाँ बहस सुरु भएको छ । नेपालको संसदीय व्यवस्थालाई समाप्त गरी गणतन्त्रात्मक जनवादी व्यवस्था स्थापना गर्ने अभिप्रायःले दश वर्षसम्म चलेको जनयुद्दले पनि परिणाममुखी निष्कर्ष निकाल्न नसक्दा एकपटक व्यवस्था परिवर्तनको बहसमा केही शिथिलता आए जस्तो थियो । तर पुनः यो बहसको केन्द्रमा रहेर तर्क छलफल हुन थालेको छ ।

विश्वभरका पुँजीवादी साम्राज्यवादीहरूले समाजवादी व्यवस्था असफल भएको वा कम्युनिस्टहरू समाप्त भएको भनेर हुँकार गरिरहेको बेला पुनः विश्वभर र नेपालमा पनि व्यवस्था परिवर्तनको बहसले नयाँ गति लिएको छ । नयाँ नयाँ बहस तर्क र छलफल खुल्ला रूपले गरिनुपर्दछ तर निष्कर्ष सही ढंगले निकाल्न जरुरी हुन्छ । नेपालको राजनीतिक इतिहासमा बहस तर्क गर्ने तर त्यसका निष्कर्ष सत्यनजिक नपुग्ने, बहसदेखि बहससम्म मात्र रहने गरेका छन् ।

तथ्यमा टेकेर बहस गर्ने र सत्यको अन्वेषण गर्ने थलोको रूपमा बहसलाई केन्द्रित गर्न जरुरी छ । सत्य पत्ता लगाउने बौद्धिक बहसको अपरिहार्यता आजको आवश्कता हो । अन्यथा बौद्धिक भनिएका बहसहरू पनि कुहिरोको कागझैँ रुमलीने खतरा रहन्छ । तथापि पछिल्लो चरणमा आएका कतिपय बौद्धिक बहस र तर्क सही हुँदा हुँदै पनि वैज्ञानिक निष्कर्षसहितका छैनन् । सही विज्ञान र दृष्टिकोणलाई नसमातेर गरिने बहसहरू एकछिन् रोमाञ्चित हुन्छन्, कर्णप्रिय पनि हुन्छन् । तर, सत्यको नजिक नपुग्न सक्दछन् । आजको आवश्यकता सही विज्ञान र दृष्टिकोणलाई मजबुत ढंगले समातेर गरिने बहसले मात्र सामाधानसहितको निष्कर्ष दिन सक्दछ ।

पुँजीवादी साम्राज्यवादीहरू सोभियत समाजवादी व्यवस्था ढलेपछि आकाश छुने गरी उफ्रिएर कराए विश्ववाट कम्युनिस्ट समाजवाद असफल भयो, माक्र्सवाद असफल भयो । एक मात्र विकल्प पुँजीवाद हो । अब पुँजीवादको एकछत्र रजाइँ चल्छ । केही समय पुँजीवादीहरूले एकछत्र विश्वभरका जनतामा शासन चलाउने कुचेष्टा पनि गरे ।

एकधु्रवीय विश्व व्यवस्थाको नारासहित साम्राज्यवादी रजाइँसमेत चलाए तर विभिन्न समय र कालखण्डमा जनताले त्यसको प्रतिरोध, संघर्ष, विद्रोह गरिरहे । अहिले पनि विश्वभरबाट श्रमिक जनताले पुँजीवादी स्राम्राज्यवादी विश्वव्यवस्थाको विरोध भइरहेको छ । आज विश्वबाट नै उदार संसदीय पुँजीवादी व्यवस्था असफल हुँदै गएको छ ।

सामन्तवादी व्यवस्थाभन्दा पुँजीवाद केही प्रगतिशील भए तापनि समाजवादभन्दा पुँजीवाद पश्चगामी र जनविरोधी नै सावित भैसकेको छ । संसदीय पुँजीवादले श्रमिक उत्पीडित जनताका समस्याको सामाधान दिन सकिरहेको छैन । उदार पुँजीवादी संसदीय व्यवस्था जनतामा अलोकप्रिय र असफल बन्दै गएपछि अबको विश्वका चुनौतीको सामाधान सामाजवादले मात्र दिन सक्दछ भन्ने कुराको बहस सुरु भएको हो । यो विषय श्रमिक उत्पीडित जनताको निम्ति महत्वको विषय हो । उदार पुँजीवाद आज दलाल पुँजीवादमा रूपान्तरित भएको छ ।

जनतालाइ लुटेर ठगेर जे गरेर भए पनि सीमित व्यक्ति धनी बन्ने धेरै मान्छेलाई गरिब घरबारविहीन बनाउनेमा रूपान्तरित हुन पुगेको पुँजीवाद कुनै कोणबाट पनि जनताप्रति उत्तरदायी व्यवब्स्था मान्न सकिँदैन । यो कुरा घामझैँ छर्लङ्ग भैसकेको छ । धनीमानी, भ्रष्ट, तस्कर र ठेकेदारहरूले गरिब उत्पीडितका भोट पैसामा किनेर जनतामा गरिएको शोषण प्रणालीलाई जनताले जबरजस्त रूपमा लोकतन्त्र मानिदिनुपर्ने, भनिदिनुपर्ने यो विडम्बनापूर्ण अवस्था र व्यवस्था आजको विकसित चेतनायुक्त जनताले मान्न र स्वीकार गर्न सक्ने स्थिति रहँदैन, रहन दिनु पनि हुँदैन ।

यस्तो व्यवस्थालाई कुनै कोण र तरिकाबाट लोकतन्त्र मान्न सकिँदैन । लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका र विधिको शासनजस्ता भनिने कुराहरू गलत शासनको रक्षाको निम्ति लगाइने नारा र भ्रम मात्र हुन् । जनतालाई भ्रम दिएर शासकहरूले शासन चलाइरहेका छन् । पुँजीवादी लोकतन्त्र नाममा विश्वभर लुटतन्त्र चलिरहेको छ । यस्तो गलत शासन प्रणालीको अन्त्यबिना जनताले अपनत्व ग्रहण गर्न सक्ने समाजवादको स्थापना संभव हुँदैन ।

नेपालको राजनीतिक व्यवस्था पनि यही संसदीय पुँजीवादी लोकतन्त्रको पुच्छर समातेर तीन दशकदेखि विभिन्न पार्टी र व्यक्तिहरूले सत्ता वा सरकार चलाइरहेका छन् । कहिले काँग्रेसको नाममा त, कहिले कम्युनिस्टहरूको नाममा; कहिले पञ्चको नाममा त, कहिले कर्मचारीसमेतले सरकारको नेतृत्व गर्ने अवसरसमेत पाए । तर देश र जनताका समस्याहरूको समाधान कहिल्यै पनि हुन सकेन ।

‘जुन जोगी आए पनि कानै चिरिएका’ भन्ने उखान नै चरितार्थ बन्न गयो । प्रणाली बेठीक नरहेको पात्रको नै समस्या रहेको तर्क गर्ने विद्वान्हरूले भन्नैपर्दछ कि २०४६ देखि हालसम्म राज्यको नेतृत्व तहमा पुग्ने सबै पात्रहरू नै बेठीक थिए त ? प्रणालीमा कुनै त्रुटि नै थिएन त ? यो सत्य कुरा हैन । सत्य कुरा यो हो कि, स्वस्थ पानी पिउन त्यसको मुहान सफा हुन नै जरुरी रहन्छ । फोहोर मुहानबाट सफा पानीको कल्पना गर्न सम्भव कुरा हैन । आज समस्या मुहानको हो, मुहान नै खोजी गर्न पर्ने भएको छ । यही मुहानको मात्र पानि पिउन पर्ने केही छैन किनकि वैकल्पिक स्वस्थ, सुन्दर र सफा मुहानहरू हुँदा हुँदै पनि जबरजस्त यही मुहानको पिउनुपर्दछ भने जस्तो तर्क गर्न हुँदैन ।

दलाल पुँजीवादी व्यवस्थाको मुहान रहुञ्जेल गरिब, उत्पीडित र श्रमिकको हालत यही हो । पात्र को रहने भन्ने प्रश्न त्यति महत्वको रहेन । सिस्टम नै बेठीक रहे पात्रको बहसमा समय खेर फाल्न नै हुँदैन । कतिपय मित्रहरू केपीले ‘कू’ गर्याे प्रतिगमन गर्याे आदि इत्यादि भन्दै कराइरहेका छन् । अ‍ैरालु लगाएर अंगुरको कल्पना गरेजस्तै हो यो कुरा । सिस्टम नै बेठीक बनाउने अनि राम्रो कामको आशा किन गर्नू ! यो समस्या प्रणालीको हो ।

केपीको स्थानमा अरू कुनै जोसुकै भएको भए पनि हुने त यही थियो । सबैले यस्तै गर्दै आएको कुराको साक्षी त हामी सबै छौँ त अनि किन अन्य तर्क गरेर समय खेर फाल्नू । त्यसकारण आज सबैले भन्नैपर्दछ, यो व्यवस्थाको नै दोष हो । पात्रका पनि समस्या त छन् नै, पात्रहरू पनि ठीक भएनन्, त्यो कुरा सही हो तर मूल समस्या पात्र हैन, व्यवस्था प्रणालीकै हो, यही कुरा सत्य हो ।

काँग्रेसले बहुमतको सरकार चलायो, समस्या यही देखिएको थियो । अन्य शक्तिले सरकार चलाए, समस्या दोहोरिए । अहिले संसदवादी कम्युनिस्टले बहुमतको सरकार चलाए, समस्या उही पल्टिएर आयो अनि हामी कसरी भन्न सक्दछौँ कि पात्रको मात्र समस्या हो भनेर ? नेपालमा संसदीय प्रणालीको सुरुआत भएदेखि आजसम्म करिब डेढदर्जन प्रधानमन्त्री बने, कुनै पनि पात्रमा खास कुनै परिवर्तन देखिएन ।

अन्तमा, अब विकल्प के ? भन्ने प्रश्न खडा हुन्छ । असफलसिद्ध भैसकेको संसदीय पुँजीवादलाई मलजल र सिँचाइ गर्नुभन्दा, लोकतन्त्रको दुहाइ दिएर नथाक्नेहरूले जनतालाई स्वतन्त्ररूपमा व्यवस्था छान्ने अधिकार दिने आँट गर्नुपर्दछ । जनताले आफ्नो व्यवस्था आफैँले छान्न पाऊन् । जब जनताले आफ्नो मतद्वारा व्यवस्था छान्नेछन्, त्यही व्यवस्था नै सही हुनेछ ।

को प्रधानमन्त्री बन्ने, को मन्त्रि बन्ने कुराले समस्या समाधनतिर हैन, झन् समस्या बल्झाउनेछ । जनताको जनमतबाट व्यवस्था छान्ने कुरा नेपालमा नयाँ हुनेछ । पुँजीवादी व्यवस्थाप्रति जनताको विश्वास गुमेको छ । त्यही विश्वास गुमेको व्यवस्थालाई सत्य यही मात्र हो भनेर भन्न हुँदैन र सकिँदैन । पुँजीवादको यही अविश्वासको जगमा जनताको जनमतद्वारा समाजवाद स्थापना गर्नुपर्दछ ।

पुँजीवादको एक मात्र उत्तम विकल्प समाजवाद हो । पुँजीवादको विकल्प पुँजीवाद संभव छैन र हैन पनि । त्यसकारण निर्धक्क भन्न सक्नुपर्दछ कि आजको समस्या पात्रको हैन, प्रणालीको हो । यही प्रणालीमा जुनसुकै पात्र आए पनि परिणाम शुन्य नै हुनेछ । शुन्य परिणामको निम्ति अब जनताले त्याग गर्न तयार रहँदैनन, रहन पनि हुँदैन ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार