• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

दललाई यसरी झुक्याए ४ सांसदले


बैशाख ४, सुर्खेत ।

शुक्रबार दिउँसो २ बजे संसद् बैठक सुरु हुँदै थियो । प्रदेशसभा परिसरमै रहेको एमाले संसदीय दलको कार्यालयमा १९ जना सांसद एकमत थिए । ज्वालाले ‘सन्चो नभएको’ भन्दै खासै बोलेनन् । कुर्मराज शाही र अमरबहादुर थापाले भने विश्वासको मतको विपक्षमा डटेर लाग्ने प्रतिबद्धतासहित भाषण गरे ।

‘यसले गर्दा विश्वासको प्रस्ताव असफल हुनेमा ढुक्क थियौं, तर त्यो सब नाटक रहेछ,’ एमाले सांसद सुशील थापाले भने, ‘संसद्मा अपत्यारिलो तरिकाले फ्लोर क्रस गरेपछि हामी छक्क पर्‍यौं ।’

मुख्यमन्त्री शाहीले विश्वासको प्रस्ताव पेस गरेपछि एमालेका तर्फबाट करवीर शाहीले बोलेका थिए । शाहीमाथि पनि ‘फ्लोर क्रस’ गर्ने शंका थियो । उनले अपेक्षा गरेभन्दा फरक धारणा राखेपछि एमाले एकमत भएको सन्देश प्रवाह भएको थियो ।

संविधानविद् भीमार्जुन आचार्य संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ गर्ने अभ्यासलाई सामान्य मानिए पनि यसलाई सम्बन्धित दलको विधानले नियमन गर्ने बताउँछन् । ‘संसारमा सांसदलाई खुला र सीमित प्रतिनिधि मान्ने दुईवटा अवधारणा छन्, सीमित अवधारणाले फ्लोर क्रसलाई निषेध गरेको छ,’ उनले भने, ‘खुला अवधारणाले भने यसलाई सामान्य रूपमा लिने गर्छ ।’

मतदानपछि कँडेलसँग छुट्टिए ज्वाला

ज्वालासहितका ‘फ्लोर क्रस’ गर्ने सांसदहरू शुक्रबार बिहान करिब साढे ११ बजेसम्म मुख्यमन्त्री निवासमै थिए । उता एमाले संसदीय दलको कार्यालयमा दलको बैठकले उनीहरूलाई कुरिरहेको थियो । मुख्यमन्त्री निवासबाट निस्किएर उनीहरू बैठकमा सामेल भए ।

बैठकमा ज्वालाले संसदीय दलको निर्णय मान्ने संकेत गरेका थिए । ‘फ्लोर क्रस’ गरेका सांसदद्वय शाही र थापाले भने विश्वासको मतलाई परास्त गर्ने भाषण गरेका थिए । त्यही बैठकले विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।

बैठकबाट निस्केर प्रदेशसभा बैठक कक्षमा पुगेपछि ज्वाला दलका नेता कँडेलको दायाँतिर बसे । मतदान गरेपछि भने उनी पछाडिको लाइनमा गएर बसेका थिए । ‘फ्लोर क्रस’ गरेका अन्य सांसद पनि ज्वालासँगै पछाडिको लाइनमा गएर बसे । ‘फ्लोर क्रस’ गर्नेमध्येका एक सांसद थापाको भनाइ थियो, ‘एमालेको एक्लै बहुमत पुग्छ, सरकार हाम्रै बन्छ होला ।’

यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार