• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

रुपन्देहीमा निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जनालाई एक महिना जेल


बैशाख १७, बुटवल ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।

कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

‘निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पुर्‍याएको हुँदा नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको हो,’ डीएसपी थापाले भने ।

‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटे, जरिवाना तिर्न नसक्ने तीनजना एक महिना थुनामा गए,’ उनले भने ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार