• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

राष्ट्रपतिद्वारा गण्डकी र सुदूपश्चिमका प्रदेश प्रमुखलाइ बर्खास्त, नयाँ नियुक्ति


बैशाख २०, काठमाडाैं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई बर्खास्त गरेकी छिन् ।

गण्डकी प्रदेशमा सीता पौडेल प्रदेश प्रमुख नियुक्त भएकी छिन् । सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बर्खास्ती र नयाँ नियुक्ति गरेकी हुन् । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले पौडेल र यादवको नाम सिफारिस गरेको थियो ।

गण्डकी र सुदूर पश्चिममा माओवादी निकट प्रदेश प्रमुखहरु रहेकोमा उनीहरुलाई हटाएर एमाले निकटलाई ल्याइएको हो ।

चितवनकी पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार हुन् । राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका सप्तरीका गंगाप्रसाद यादव पछिल्लो समय नेकपा एमालेमा लागेका थिए।

नवनियुक्त प्रदेश प्रमुखलाई आजै केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण गराइने मन्त्रिपरिषद बैठकले निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज साँझ ५ बजे  उनीहरूको सपथको तयारी भएको जानकारी दिए।

यसअघि २०७६ कात्तिकमा सरकारले सातै वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको थियो। त्यतिबेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो। तर, नेकपा विभाजन भएसँगै प्रदेश-२ का प्रदेश प्रमुख तिलक परियारलाई भने पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार