• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

दाङमा कार भित्र मृत भेटिएका तीन बालकको पोष्टमार्टम रिपोर्ट आयो


बैशाख २०, दाङ । 

दाङकाे तुलसीपुरमा एउटै कारभित्र मृत फेला परेका तीन बालकको शवको पोष्टमार्टम भएको छ । दाङमा पोष्टमार्टम गर्ने विशषेज्ञ नभएको हुँदा बुटवलबाट तुलसीपुर झिकाएर मृतक तीन बालकको पोष्टमार्टम गरिएको हो ।

पोष्टमार्टम रिपोर्टअनुसार तिनै जना बालकको शरीरमा कुनै पनि चोटपटक वा घाउ नरहेको देखिएको छ।  जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले भने, ‘पोष्टमार्टम रिपोर्टले उनीहरूको कर्तव्य गरी हत्या भएको देखिन आएन।’

एसपी चन्दले माघ १ गतेदखि लक गरी पार्किङ गरेर राखिएको भनिएको कारभित्र ती बच्चा कसरी प्रवेश गरे भन्ने कुरा ‘रहस्यमय’ रहेको बताए ।

‘प्रहरीले कारको लक तोडेरै बालकहरूको शव निकालेको हो,’ उनले  भने, ‘स्थानीयले कारको सबै बत्ती बलेपछि आफूहरू हेर्न जाँदा शवहरू देखेको बताउनुले पनि घटना रहस्यमय छ।’

पोष्टमार्टम रिपोर्टले मृतकहरूको शरीरमा कुनै पनि चोटपटक नरहेको भन्ने प्रारम्भिक जानकारी आए पनि अन्य कुन कारणले गर्दा उनीहरूको मृत्यु भएको हुन सक्छ भनेर केलाउन सकिने चन्दले बताए।

‘तीन बालकको एउटै कारभित्र मृत्यु भएको यो गम्भीर कुरा हो,’ एसपी चन्दले भने, ‘प्रहरी घटनाको सत्य-तथ्य पत्ता लगाउन गम्भीर भएर अनुसन्धानमा जुटेको छ ।’

प्रहरीले कारभित्र तीन बालक मृत अवस्थामा फेला परेपछि घटना अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर र तालिम प्राप्त प्राविधिक झिकाएको छ । प्राविधिक टोली आएपछि मात्रै कारको लक तोडेर शव बाहिर निकालिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र वैशाख १८ गते बेलुका उनीहरू मृत अवस्थामा फेला परेका थिए।

ती तीन बालक तुलसीपुर-६ बरूवा गाउँका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार तथा स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार रहेको जानकारी दिएका थिए।

-नारायण खड्का/सेताेपाटी

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार