• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

ओलीसँग छलफलमा रहेका माधव नेपालले लेखे यस्ताे स्टाटस


बैशाख २४, काठमाडौँ ।

नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले वार्ता र लचकता अपनाउने बताएका छन्। तर अहिलेसम्म कुनै पनि सहमति नभएको उनको भनाइ छ।

सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सहमतिका लागि वार्ता र लचकता दुवै अपनाउने पक्षमा आफू रहेको तर अहिलेसम्म कुनै सहमति नभएको उल्लेख गरेका हुन्।

उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटम लाइन रहेको बताएका छन्।

उनले भनेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौँ ।’

उनले आफूहरुले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको बताउँदै अघि भनेका छन्, ‘किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौँ, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

एमाले विवादबारे बिहीबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेता नेपालबीच छलफल भएकाे थियाे। याे छलफलमा पछि केपी ओली पनि सहभागी भएकाे र  दुई नेताबीच विवाद समाधानका लागि सहमति भएकाे दाबी गरिएकाे थियाे।

यसैबीच प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल हुने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ओलीनिकट नेताहरूका अनुसार शुक्रबार दुवै नेताबीच छलफल हुने तय भएको हो । तर, नेता नेपालको सचिवालयले भने ओलीसँगको भेट तय भइनसकेको जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार