• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

एमालेले टुंगाे लगायाे राष्ट्रियसभाकाे उम्मेदवार


बैशाख २४, काठमाडौँ ।

नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उप निर्वाचनका लागि उम्मेदवार टुंगाे लगाएकाे छ । एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हाे।

शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो । यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए ।

बैठकपछि गृहमन्त्री थापा उम्मेद्वारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लागेका छन् ।

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।

उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र  २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।

विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्ष)ले खिमलाल देवकोटालाई उम्मेदवार बनाएकाे छ । देवकोटाले बिहान ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार