• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

एमालेद्वारा ओलीलाई विश्‍वासको मत दिन ह्‍वीप, माधव समूहले ९ बजेसम्मको लागि दियो अल्टिमेटम


बैशाख २६, काठमाडौँ ।

सत्तारुढ नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्‍वासको मत दिन सांसदहरुलाई ह्‍वीप जारी गरेको छ ।

मुख्य सचेतक विशाल भट्टराईले पार्टी संसदीय दलका नेता केपी ओलीको निर्देशनअनुसार आइतबार प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूका नाममा ह्वीप जारी गरेका हुन् ।

उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको जनाएका छन् । कोभिडका कारण संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

माधव समूहले दियो ओलीलाई सोमबार ९ बजेसम्मको अल्टिमेटम

उता झलनाथ खनाल र माधव नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम अल्टिमेटम दिएका छन् । आइतबार सिंहदरबारमा बसेको सो समुहको बैठकले यस्तो निर्णय गरेको हो ।

‘फागुन २३ को फैसला अनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौ त्यसका लागि भोलि विहान नौ बजेसम्मको समय दिएका छौ’, बैठकपछि नेता योगेश भट्टराइले जानकारी दिए ।

उनले ओलीले भोली विहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोली नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने बताए । उनले ओलीले जेठ २ मा फर्कने प्रतिवद्धता जनाए आफुहरु बैशाख २७ बस्ने संसद बैठकमा सहभागी बनेर विश्वासको मतको पक्षमा मतदान गर्ने पनि बताए ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार