• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

एसईई र कक्षा १२ को परीक्षाबारे बोर्डले गर्याे भर्चुअल बैठकबाट निर्णय


बैशाख २७, काठमाडौँ ।

यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निर्णय गरेको बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहने, तत्कालका लागि स्थगित गरियो, परीक्षा हुने समय पुनः अर्को सूचना निकाल्छौं,’ उनले भने ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको बोर्डका सदस्यहरुले बताए ।

जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि अन्यौलमा छ । परीक्षा हुन महिना दिन बाँकी छ तर महामारीले पठनपाठन बन्द छ भने अधिकांश जिल्ला निषेधाज्ञामा छन् । करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् ।

अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार