• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान अस्पतालमा अक्सिजन पूर्ति गरि बिरामीको उपचार गर्न नेकपाको विज्ञप्ति


बैशाख ३०, सल्यान ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्ला अस्पताल सल्यानमा बिरामीहरुको उपचार गर्न माग गरेको छ ।

त्यसका लागि आवश्यक पर्ने अक्सिजनको पुर्ति गर्न सम्बन्धित निकायहरु सँग सो पार्टीले आग्रह गरेको छ ।

अक्सिजन अभाव भएको भन्दै जिल्ला अस्पताल सल्यानले थप बिरामीको उपचार गर्न नसकिने सुचना जारी गरेपछि नेकपाले अक्सिजनको व्यवस्था गरेर उपचारलाई सहज बनाउन सबैलाई आग्रह गरेको हो ।

नेकपाका सल्यान जिल्ला इन्चार्ज लोकपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा यथाशीघ्र अक्सिजन लगाएतका अति आवस्यक सामग्री उपलब्ध गराएर बिरामीको उपचारमा सम्लग्न चिकित्सक र स्वास्थ्यकर्मी लाई सहज वातावरण बनाइदिन र सबैले उपचार पाउने प्रबन्ध मिलाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदछौं ।’

त्यसैगरी अन्य स्थानीय तहमा तुरुन्त अक्सिजन सहितको आइसोलेशनहरु सन्चालन गर्न समेत सो पार्टीले आग्रह गरेको छ ।

कोभिड नियन्त्रणका लागि सहयोग गर्न पार्टीको तर्फबाट पनि केहि जनशक्ती आवश्यक परे व्यवस्था गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘हाम्रो पार्टीले कोभिड सचेतना र रोकथाम उपचारको लागि स्वसेवक परिचालन गर्ने निर्णय गरिसकेको छ । सबैको एकताबद्द प्रयासबाट मात्र यस महामारी वाट पार पाउन सकिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार