• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

बादल पनि सहभागी भए त्याे टाेलीमा


बैशाख ३१, काठमाडाैं ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षसँगको वार्तामा गृहमन्त्री रामबहादुर थापा बादललाई समेत सहभागी गराएका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र नेपालको भेटमा सहभागी दोस्रो तहका नेताहरूमा बादल समेत सहभागी भएका हुन् ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराइदिएपछि बादल एमाले प्रवेश गरेका थिए। त्यसयता प्रधानमन्त्री ओलीले एमाले प्रवेश गरेका बादल सहितका नेताहरूलाई सहभागी गराएर पार्टीका बैठका राख्ने गरेका छन् ।

नेपाल पक्षले भने २०७५ जेठ २ गतेको पार्टी कमिटीका बैठकहरू राखेर एमाले प्रवेश गरेकाहरूलाई सहभागी गराउन सकिने बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्री ओलीले भने बादलको समूहका नेताहरूबिनाको कुनै बैठक नराख्ने आफू निकटहरूसँग बताउँदै आएका थिए । सिंहदरबारको बैठकमा बादल सहभागी हुनुले पनि यही संकेत गरेको छ।

सिंहदरबारको बैठकमा ओली पक्षबाट बादलका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लहाकार विष्णु रिमाल सहभागी छन्।

नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी छन्। जेठ २ को अवस्थामा फर्किन तयार छु भनेर बादललाई सहभागी गराउनुले ओलीको नियतमा शंका उत्पन्न भएको नेपाल निकट एक नेताले बताए।

‘मैले पनि फोटोमा बादललाई देखेको छु। आज अनौपचारिक बैठक भएर पनि होला। तर बादलसहितको बैठकमा खुलेर कुरा हुनसक्छ कि सक्दैन भन्ने हो,’ ती नेताले भने, ‘कार्यदलमा समेत बादल बसे भने त  सहमति हुनेमा आशंका रहन्छ। किनकि, हामीले त जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउन चाहेको हो। त्यो बेलाका कमिटीले बादललाई चिन्दैन।’

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार