भीम भारती
वर्षदिन भन्दा बढी समययता संसार कोरोना भाइरस नामको एक अदृश्य अर्धजीवले ल्याएको मानवीय संकटसँग जुधीरहेको छ । साना ठुला, गरिब धनी, कालो गोरो केही नभनी यो भाइरसले सिंगो मानव जीवनको दिनचर्या नै बदली दिएको छ।
एक किसिमले यो भाइरसले मानव सभ्यतालाई नै संकटमा पारिरहेको छ । संसारसंगै हाम्रो देश पनि कोरोना भाइरस महामारीको चपेटामा परेर उकुसमुकुस अवस्थाबाट गुज्रिरहेको तथ्य सर्वविदित छ। अझ यो भाइरसको दोस्रो लहरको रुपमा नेपाल भित्रिएको नयाँ प्रजाती (युके भेरियण्ट)ले त मानव जीवनलाई बढी हानि नोक्सानी पुर्याउने गरेर नै आक्रामक रुपमा फैलिएर जताततै हाहाकार मच्चाएको छ।
यो लेख तयार पार्दासम्म देशमा यहि (युके भेरियण्ट) फैलने कुराको ‘चेनब्रेक’ गर्न भनेर राजधानी काठमाडौँ सहित ७४ जिल्लामा निषेधाज्ञा जारी भएको छ भने निषेधाज्ञा जारी भएका जिल्लाहरुमा युके भेरियण्टको फैलदो क्रम रोकिएको छैन।
कोरोनाले गर्दा देश स्वास्थ्य संकटमा छ । देशमा हजारौं मानिस संक्रमित भइरहेका छन् भने सयौंले ज्यान गुमाइरहेका छन् । कोरोना महामारीमा परेर जनता त्रसितमा छन्। आज होकी भोलि कोरोना लागेर ज्यान जान्छ कि भनेर सर्वसाधारण जोखिम महशुस गरिरहेका छन्।
देशको यहि मौका छोपेर सत्ता संचालकहरु भने ‘देश लुटने र जनता भुट्ने’ यो बेला हो भन्ने ठाने झैं कमाउ धन्दामा लागिरहेका छन । कोरोना विरुद्धको खोप किन्नमा, उपचारका साधनस्रोतहरु किन्नमा मात्रै होइन बिदेशी र छिमेकी देशहरुले निशुल्क रुपमा उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरुमा समेत कमिसन खाएर यो देशका सरकार संचालकहरु आफ्नो नालायकिपन मात्रै प्रदर्शन गरिरहेका छैनन् उनीहरुले आफू जनताको ज्युधनको सुरक्षाप्रति उदासिन भएको प्रमाणित गरिरहेका छन् ।
अब यो अवस्थामा आउदा सर्वसाधारण जनताहरुलाई थाहा भइसकेको छ, देशवासीहरुको सुरक्षाको ग्यारेन्टी यो सरकार र यो राजनैतिक पद्दतीबाट सम्भव छैन । यो सरकार र यो राजनैतिक प्रणालीबाट महामारीमा त झनै होइन साधारण अवस्थामा समेत जनताको जनजीविकाको सहजता सम्भव नभएको कुरा दिनको घाम जस्तै छर्लङ भएको स्पष्ट छ ।
यस्तो अवस्थामा केन्द्र सरकारमा बस्नेहरु जनताको जीवन रक्षाको लागि दिनरात लागिपर्नुको साटो मन्त्रीको लागि लुछाचुडी गरिरहेको, प्रधानमन्त्री त हुने कि म हुने भनेर वेला न कुवेला तमासा देखाएको मात्रै होइन संसद नै भंग गरेर महामारीकै बीचमा चुनावकाे तिमी ताेकिसकेकाे अवस्थामा छ ।
यी त भए राष्ट्रव्यापि कुरा ! अब लागौं हाम्रै सल्यान जिल्लामा भएको भनिएको एउटा अनियमितताको बिषयतर्फ । देश सँगै सल्यान जिल्ला पनि कोरोना महामारीको चपेटाले दपेटीएको छ । जिल्लामा सानो स्वास्थ्य समस्याको पनि समाधान हुने गतिलो स्वास्थ्य संस्था नपाउदा जनता चरम समस्यामा छन्।
यतिसम्म कि केही दिन पहिले त चिकित्सक उपलब्ध स्वास्थ्य केन्द्रहरुमा समेत सामान्य सिटामोल नपाएको गुनासो गरेर समेत बिरामी बस्नुपर्ने अवस्था देखियो । कोरोना महामारीको (युके भेरियण्ट) नेपालमा भित्रिएर हाहाकार मच्चिदाँसम्म देशमा भएका भनिएका तीन तहका सरकार अन्योल झैं देखिए । कोरोना भाइरस संक्रमण भएर अस्पतालमा भर्ना भएका वा आइसोलेसन केन्द्रहरुमा भएका बिरामीहरुलाई अक्सिजन दिनुपर्ने अवस्था आयो तर कुनैपनि सरकारसँग जनता बचाउने कुनैपनि योजना देखिएन ।
‘भगवानले जनता बचाइदेला’ र अर्कोचोटी फेरी पदमा आसिन हुनलाई भोट मागौला भन्ने मानसिकताले ग्रस्त भएर स्थानिय देखि केन्द्रियसम्ममा जनप्रतिनिधी हौँ भन्नेहरु टोलाईरहे । यो महामारीको दपेटाबाट उम्कन सल्यानीहरुले आ-आफ्नै तरिकाले प्रयास गरिरहेका छन्। नागरिक स्तरबाट, व्यक्तिगत स्तरबाट सहयोगी मनहरु एक अर्कालाई सकेको सहयोग गरेर सल्यानमा अपनत्व र भ्रातृत्व लिने दिने कम गरिरहेको देखिन्छ। तर भर्खरै जिल्ला प्रशासनले ति कामहरु पनि राकेकाे छ ।
तर एकचोटी अचानक सल्यान जिल्ला अस्पतालमा बिरामीहरुले अक्सिजन पाउने भए भनेर खुसीको खबरु फैलियो । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको भनेर बाहिर आएका खबरहरुले जिल्लाबासीहरुको वा भनौं अस्पतालमा अक्सिजन नपाएर छट्पटाई रहेका बिरामीहरुमा एकाएक बाँच्ने जिजिविसा सक्रिय भएर आयो । जडान भएको अक्सिजन प्लान्टबारे विभिन्न मार्काका मानिसहरु जिल्लामा अक्सिजन प्लान्ट जडान गरेको जस लिन तछाड मछाड गर्न थाले ।
विभिन्न पदमा रहेका मानिसहरुमध्य हलानोले यो त मैले गरेको हुँ, मेरै पहलमा यो भएको हो भन्ने, उस्ले कहाँ हुनु यो त मैले गरेको हुँ, म नभएको भएता त यो यहाँ हुने नै थिएन भन्ने जस्ता तर्क गर्न थाले । तर जसले गरेपनि गर्नु राम्रो कुरा हो, गर्नुपर्छ किनकि जनताको लागि केही गर्ने भनेर नै तिमीहरु त्यो पदमा पुगेका हौँ वा पुर्याइएको हो ।
तर अचानक अर्को कुरा बाहिर आयो, जिल्लामा जडान गरिको भनिएको अक्सिजन प्लान्ट त अर्कै पो परेछ । ठिक छ यो परोस कि त्यो परोस जनताले सुबिधा पाए त भैगो भन्ने पनि भयो । बिषय बाहिरिदै बाहिरिदै सल्यान त राष्ट्रव्यापि रुपमा चर्चामा पो आउन थाल्यो ।
४ लाखसम्म पर्ने अक्सिजन कन्सनट्रेटरु जोडेर ४० लाख खाएको कुरा बाहिरियसँगै सल्यान राष्ट्रव्यापी रुपमा चर्चामा पो आयो । यसरी नकारात्मक रुपमा जिल्ला चर्चामा आउँदा एउटा खास सल्यानीको मुटु जल्नु स्वभाविकै हो । जो तपाइलाई भयो होला मलाई पनि भयो ।
जनतालाई सुविधा दिने भनेर जिम्मा लिएका मानिसहरु त हाम्रै श्रम र पसिना चुस्ने जिम्मा लिएका जस्ता पो देखिए । सायद ती मानिसहरुलाई लागेको थियो होला ‘यो जिल्लामा यो ठाउँमा, हामीभन्दा जान्ने कोही छैन । हामीले कालोलाई सेतो भनेपनि, सेतोलाई कालो भनेपनि, सूनलाई चाँदी भनेपनि र चाँदीलाई सून भनेपनि हुन्छ ।’ र उनीहरुलाई लाग्यो होला ‘अक्सिजन प्लान्ट जोडिदिएका छौं भनेर अक्सिजनको कन्सनट्रेटर जोडेपनि हुन्छ।’
‘सामानको मूल्य जति भएपनि माथिबाट आएको पैसा झ्वाम पारेर यसो मौकामा चौका हालिहाल्नुपर्छ ।’ यस्तो सोचाई बाहेक अर्को कुनै सोचाइले ४ लाखको सामानललाई ४० लाखको देखाउन सक्छ र ? जब सचेत नागरिकहरुले मेसिन देखे उनिहरुलाई शंका लागिहाल्यो कि त्यो समानको मूल्य ४० लाख हुन सक्दैन ।
मिडीयासम्म याे कुरो पुग्यो, सोधी खोजि भयो । चीज अस्वाभाविक देखियो । किनकि ४० लाख नगदै राख्दा पनि नअटाउने भाँडो कसरी ४० लाख मुल्यकाे हुनसक्ला ? के त्यो सुनको, हिराको अथवा युरेनियमकै थियो र ? त्यो त्यस्तो बहुमुल्य धातु जडित कुनै त्यस्तो मसिन नभएर इन्टरनेटमा देखिने त्यहि ४ लाख मुल्यलको अक्सिजन कन्सन्ट्रेटर भएको आखिर अहिले लगभग प्रमाणित भइसक्यो । हाम्रो ठाउँमा ४ लाखको मसिन जोडेर ४० लाख झ्वाम पारिएको रहेछ वा पार्न खोजिएको रहेछ । अब हाम्रा आँखा खुले ।
अब यहाँनेर आउँछ कुरो ४ लाखको मसिन जोडेर ४० लाख खाएको वा खाना खोजेको वा खाने प्रयत्न गरेको भन्ने । कुरोले जसै राष्ट्रव्यापि रुप पाउँछ उसै पहिले ‘यो त मैले गरेको हुँ’ वा ‘कहाँ उसले गर्नु यो त मैले गरेको हुँ, म नभएको भए त यो यहाँ हुने नै थिएन’ वा ‘यो त मेरो पहलमा भएको हो’ भनेर दशहात उफ्रिने र नेता हौँ भन्नेहरुले यसको अहिलेको जिम्मा किन नलिने ? ‘माछो देख्दा दुलोमा हात, सर्प देख्दा बाहिर हात’ अब त्यस्तो गरेको कसले हो त ?
उतिबेला ज-जसले मैले गरेको हुँ र मेरो पहलमा भएको भनेका थिए उनीहरुकै पहलमा यो सब भएको हो र ३६ लाख रुपैयाँ पनि उनीहरुकै पहलमा कतै झ्वाम पार्न खोजिएको हो । हामीलाई वा सल्यानी जनतालाई उल्लु बनाउने काम उनिहरुकै पहलमा भएको हो र अहिले खास उल्लु हुने पनि उनीहरु नै हो ?
देखिएका अपराधीहरुलाई जनताले चिनिसकेका छन्, जो यो कुकर्म र अपराध गरेर पनि लुक्न खोजिरहेका छन् तिनीहरुलाई पनि जनताले केही समयपछि चिन्ने नै छन् । तर देखिईसकेका अपराधीहरुलाई निलम्बन गरेर अनुसन्धान गर्न कुन तत्वले रोकेको छ ? सल्यानी यो जान्न चाहन्छन ।
यसमा प्रत्यक्ष जोडिएका भनिएका जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख लगायत अरु संलग्न खरिद समितिका संयोजक सार्वजनिक भइसकेका नामहरु दशरथ श्रेष्ठ, तारा रिजाल, रिखाराम पुन र लव बिक्रम शाह लगायतलाई अनुसन्धानको दायरामा ल्याउन कुन शक्तिले रोकिराखेको होला ?
यत्रो हङ्गामा भइसक्दापनि तेत्राे अनियमिततामा किन कोहि पक्राउ पर्दैन ? सम्बन्धित निकाएले यसको जवाफ दिनु पर्छ कि पर्दैन ? संसदीय व्यवस्थाको अभ्यासबाट बाहिर रहेको विप्लव नेतृत्वको नेकपा बाहेक अरु संसदीय अभ्यासमा रहेका पार्टीहरुले आधिकारिक रुपमा यसको भण्डाफोर र विरोध नगर्नु र अनियमितता छानविनको लागि आवाज नउठाउनु के ति पार्टी कार्यालयहरुमा हामीले अनियमितता गरेका छौं हजुर भनेर स्वास्थ्य कार्यालयबाट चिठी आइपुगेन ? अथवा जिल्ला सदरमुकाममा जिल्ला कार्यालय राखेर बसेका राजनैतिक पार्टीहरुको सरोकारको बिषय यो होइन र ?